भृकुटीमण्डपमा सुरु भयो ‘इभी नेपाल एक्स्पो’

काठमाडौँ – आजदेखि काठमाडौँको भृकुटीमण्डपमा विद्युतीय गाडीको एक्स्पो (इभी नेपाल एक्स्पो) सुरु भएको छ। एसडी एक्स्पो मिडियाको आयोजनमा आजदेखि सुरु भएको एक्स्पो ३ दिनसम्म सञ्चालन हुनेछ।

आयोजकका अनुसार विद्युतीय गाडी र सम्बन्धित उत्पादनहरूको नेपालमा हुन लागेको यो सबैभन्दा ठूलो प्रदर्शनी हो। प्रदर्शनीमा १५० भन्दा बढी प्रतिष्ठित कम्पनीहरू सहभागी भएका छन्।

नेपालमा विद्युतीय गाडीको क्षेत्रलाई प्रोत्साहन गर्दै अहिलेको अवस्थामा प्रभावकारी ढङ्गले व्यापार सञ्चालनमा टेवा पुर्‍याउनु एक्स्पोको पहिलो उद्देश्य रहेको आयोजकले जनाएको छ।

एक्स्पोमा ५०० भन्दा धेरै ब्राण्ड राखिएको छ भने विशेष गरी विद्युतीय कार, विद्युतीय स्कुटर र मोटरसाइकल र साइकल, विद्युतीय बस, विद्युतीय ट्र्याक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेशन , ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू प्रदर्शनमा राखिएको छ।

एक्सपोको सहआयोजकको रुपमा इन्डियन इक्जिबिसन सर्भिसेस रहेको छ। एक्स्पोलाई अटो नेपाल, पावर टल्क, कार रिप, नेपाल अटो ट्रेडर डट कम र इभि ड्राइभ द फ्युचरले सहकार्य गरेका छन्।

यसका साथै व्यापार तथा वित्तीय क्षेत्रका नेतृत्वकर्ता, अटोमोटिभ सोरुमका सञ्चालक, डिलर, बिक्रेता, आयातकर्ताहरू, सरकारी अधिकारी, कर्पोरेट हाउस, नयाँ लगानीकर्तालगायत सबैका लागि सहयोग पुर्‍याउने आयोजकको विश्वास रहेको छ।

मंसिर १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्