वर्षमान पुन उपचारका लागि चीन प्रस्थान

फाइल तस्बिर

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि चीन प्रस्थान गरेका छन्।

लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुन स्वास्थ्यमा थप समस्या देखिएपछि चिकित्सकको परामर्शमा फलोअप उपचारका लागि शुक्रबार साँझ साढे ७ बजे फ्लाइ दुबईको उडानबाट चीन उडेका हुन्। उनमा भएको रोगलाई चिकित्सकीय भाषामा सिग्गलर नाजार टाइप टू सिन्ड्रोम भनिन्छ।

चीनमा कोरोना महामारीका कारण लकडाउन भएकाले नेपाल–चीन सिधा हवाई उडान नहुँदा पुन दुबई, ग्वान्झाओ हुँदै चीनको सेन्जेन जानेछन्। पुनका साथमा उनकी पत्नीसमेत रहेकी पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती पनि चीन गएकी छन्।

नेता पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार हुनेछ। एक वर्षअघि पनि उनको सोही अस्पतालमा उपचार भएको थियो। चीनमा उपचार गरेपछि नियन्त्रित अवस्थामा रहेको जण्डिसको मात्रा (बिलरुबिन) चुनावी धपेडीका कारण अत्याधिक बढेपछि उनलाई फलोअप उपचारमा जान चिकित्सकले सुझाएका थिए।

४ मंसिरको निर्वाचनमा रोल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित पुन स्वास्थ्यमा समस्या देखिएपछि मतगणना नसकिँदै काठमाडौँ आएका थिए।

मंसिर १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्