अमेरिकी राजदूतसँगको भेटबारे सामाजिक सञ्जालमा भीम रावल र बालेन शाहको जुहारी

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ र नेकपा एमालेका नेता भीम रावलबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ।

महानगर प्रमुख शाह र अमेरिकी राजदूत डिन थम्प्सनबीच भएको भेटवार्तालाई लिएर नेता रावलले सामाजिक सञ्जालमा प्रश्न उठाएका थिए। शाहले सामाजिक सञ्जालमार्फत नै त्यसको जवाफ दिएका छन्।

‘नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्याख्या छ। कामपाका प्रमुख बालेन शाहले अमेरिकी राजदूतसँग भेटवार्ताबारे विषय जानकारी गराइ परराष्ट्र मन्त्रालयमार्फत अनुमति लिएको हो कि होइन? स्पष्ट गरियोस्,’ रावलले लेखेका छन्।

साथै संविधान र स्वाधिन देशको स्वाभिमान र मर्यादा सम्मान गर्न पनि रावलको सुझाव थियो। रावलले अगाडि भनेका छन्, ‘संविधान र स्वाधिन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौँ। परराष्ट्रजस्तो संवेदनशील विषयमा संविधान र कानूनको पद्धति मिचेर जुन कार्यालय वा निकाय प्रमुखलाई जतिबेला जो विदेशीसँग भेटवार्ता गर्न मन लाग्यो आफूखुशी गर्ने संसारमा कही नभएको अभ्यास नेपालमा किन संक्रमणकालीन गठबन्धन सरकार? जनउत्तरदायी हौ भने जवाफ देऊ।’

रावलको प्रश्नमा मेयर शाहले अमेरिकी राजदूत परराष्ट्रसँग अनुमति लिएर मात्रै भेट्न आएको जवाफ दिएका छन्। शाहले लेखेका छन्, ‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौँ र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौँ।’

अमेरिकी राजदूतसँगको भेटबारे प्रश्न उठाएपछि मेयर शाहले नेता रावलप्रति आक्रोश व्यक्त गरेका छन्।

उनले भनेका छन्, ‘हामीलाई तपाईंहरूजस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन। उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ। र थप एमसीसीमार्फत विद्युत विदेशीलाई बेच्नेभन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नुपर्छ भन्ने धारणा व्यक्त गरेका छौँ।’

मंसिर १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्