वर्षाका कारण नेपाल र नामिबियाबीचको खेल नतिजाविहीन

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियामा जारी त्रिदेशीय सिरिजअन्तर्गत नेपाल र नामिबियाबीचको एकदिवसीय खेलमा वर्षा बाधक बनेको छ।

वर्षाका कारण नामिबियाको युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा नामिबियाले ब्याटिङ गर्न असमर्थ हुँदा खेल नतिजाविहीन बनेको हो। योसँगै दुबे टिमले १–१ अंङ्क बाँडेका छन्। नेपालले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले ४ बलमा ४ रन जोड्दा वर्षा सुरु भएको थियो। त्यसपछि पुनः खेल हुन नसक्दा दुबै टिम अङ्क बाँड्न बाध्य भए।

वर्षाअघि युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै १ सय ९७ रन बनाएको थियो। नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रनको स्कोर तयार गरेका थिए।

मल्लले एकदिवसीय अन्तर्राष्ट्रियमा छैटौं अर्धशतक प्रहार गर्दा अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन। ज्ञानेन्द्रले आफ्नो इनिङमा ९४ बल खेल्दै ७ चौका र २ छक्काको सहयोगमा ७५ रनको स्कोर बनाए।

त्यस्तै, आसिफ शेखले २० रन बनाउँदा आरिफ शेखले २३ रनको योगदान दिए। ओपनर अर्जुन साउद १८ रन बनाएर आउट हुँदा गुल्सन झाले पनि १८ रन बनाए। त्यस्तै, कुशल भुर्तेलले १३ रन बनाए। दिपेन्द्र सिंह ऐरी भने गोल्डेन डकआउट भएका थिए।

नामिबियाका लागि टगेनी लुङ्गामेनीले ३ विकेट लिँदा कर्ल विरकेन्सटकले २ विकेट हात पारे।

मंसिर १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्