मधेसका समस्या गम्भीरतापूर्वक उठाउँछुः एमाले सचिव महासेठ

फाइल तस्बिर।

जनकपुरधाम – एमाले सचिव तथा धनुषा क्षेत्र नं ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले मधेसको सबै समस्या गम्भीरतापूर्वक उठाउने बताएका छन् ।

प्रेस चौतारी धनुषाद्वारा जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा एमाले मधेस प्रदेशका इञ्चार्जसमेत रहेका महासेठले मधेसको हरेक समस्यालाई गम्भीर रुपमा लिएको र यसलाई सशक्त रुपमा सदनमा उठाउने बताए।

जनताको विश्वास र भरोसामा एमाले अगामी दिनमा खरो रुपमा उत्रने बताउँदै उनले सरकार गठन भएको तीन महिनाभित्र नागरिकताको समस्या समाधान गर्न लागि पर्ने विश्वास व्यक्त गरे।

मधेस प्रदेशमा एमाले ठूलो पार्टी भएकाले मुख्यमन्त्री हुने स्वाभाविक भएको बताउँदै उनले यस विषयमा अरू सहयोगी दलसँग पनि सहकार्य हुने र त्यसका लागि छिट्टै पहल सुरु गरिने बताए।

जनताको अपेक्षाअनुसार नै आफ्नो पार्टीले ठोस एजेन्डाका साथ संसद्मा प्रस्तुत हुने उल्लेख गर्दै महासेठले मुलुकको विकास र समृद्धि एमालेकै नेतृत्वमा सम्भव रहेको दाबी गरे।

मंसिर १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्