नेपथ्यकाे संगीतमा झुमे विराटनगरवासी

माेरङ- चिसिँदै गएको विराटनगरको वातावरणलाई नेपथ्यले तताएको छ।

चिसिएको मौषमको वेवास्ता गर्दै शुक्रबार बेलुका विराटनगरको हाटखोला मैदानमा आयोजित नेपथ्यको सांगीतिक कार्यक्रममा हजार बढी संगीतप्रेमीले आनन्द लिएका थिए।

दुई दशकअघि ‘शान्तिको लागि शिक्षा’ अभियानको क्रममा कार्यक्रम गरेको विराटनगरबाटै लोकरक ब्याण्ड नेपथ्यले ‘मानवताको लागि संगीत’ अभियानको भव्य सुरुवातसमेत गरेको छ।

कार्यक्रम हेर्न पुगेका विराटनगरका युवा सविन दाहालले धेरै लामोसमयको खडेरीपछि भव्य र सभ्य सांगीतिक कार्यक्रमको रमाइलो गर्न पाएको बताए।

सानैबाट नेपथ्यका गीत सुन्दै आएका दाहाल यसअघि धरान, दमकसम्म कन्सर्ट हेर्न पुग्दै आएका बताउँछन्।

‘विराटनगरमा नेपथ्य मैले थाहा पाइकन पहिलो पटक आएको छ। समूहको प्रस्तुति निकै सहज, व्यवस्थित र उत्साह जगाउने खालको पाएँ। आगामी दिनमा यसरी विराटनगरवासी सम्झनुहुन्छ भन्ने चाहन्छु’, दाहालले भने।

नेपथ्यले सुरुमा गीत ‘भेँडाको ऊनजस्तो’ गीत प्रस्तुत गरेकाे थियाे।

मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

कन्सर्टपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक, दुईवटा बस र केही साना सवारीमार्फत् शनिबार बिहान वीरगन्जतर्फ प्रस्थान गरेको छ। आदर्शनगर रंगशालामा मंसिर १९ गते सोमबार नेपथ्यकाे कार्यक्रम हुने नेपालयले जनाएको छ।

मंसिर १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्