‘सरकारले जागिर सिर्जना गर्दैन’

पोखरा – मंसिर ४ मा सकिएको आमनिर्वाचनअगाडि मतदाता रिझाउन प्रमुख दलका घोषणापत्रमा रोजगारी सिर्जनाको एजेण्डा प्राथमिकतासाथ समेटिए। आगामी ५ वर्षमा २० लाखसम्म रोजगारी सिर्जना गर्ने दलहरूले वाचा गरेका छन्।

सबैभन्दा कम नेकपा एमालेले ५ वर्षमा ५ लाखलाई रोजगारी दिने घोषणपत्रमा उल्लेख गरेको छ। नेपाली कांग्रेसले १२ लाख ५० हजारलाई रोजगारी उपलब्ध गराउने वाचा गर्दा नेकपा माओवादीले अधिकतम् २० लाख सिर्जना गर्ने आश्वासन बाँड्यो।

सरकारले रोजगारी सिर्जना गरेपछि वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यताको अन्त्य हुने आसमा आमनेपाली छन्। तर, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन रोजगारी सिर्जना गर्ने दलहरूको घोषणापत्रविरुद्ध सुनिए।

‘अहिलेको चुनावमा पार्टीहरूले के घोषणा गरे भने आफ्नो घोषणापत्रमा पाँच वर्षको कार्यकालमा चुनाव जितेर हाम्रो सरकार बन्यो भने १० लाख, २० लाख, १५ लाख रोजगारी सिर्जना गर्छौं,’ पुनले भने,‘ जुन कुरा गलत हो। सरकारले कुनै पनि देशमा कहिल्यै पनि रोजगारी सिर्जना गर्दैन।’

सरकारले जागिर दिएर विदेश जानबाट मुक्ति मिल्ने नागरिकको सोच पनि गलत भएको उनको तर्क छ। ‘रोजगारी सिर्जना गर्ने उद्योगधन्दा र व्यवसायले हो’, उनले भने, ‘कुनै कारखाना खोल्यो भने २०, ५०, २०० कामदार चाहिन्छ। त्यहाँ रोजगारीे सिर्जना भयो।’
व्यवसाय सञ्चालनको उचित वातावरणको प्रबन्ध मिलाइदिने काम सरकारको भएको महावीरको भनाइ छ।

‘सरकारको काम उद्योगधन्दा खुल्नलाई राम्रो वातावरण बनाइदिने हो। सजिलो नियम कानुन बनाइदिने हो जुन नियम कानुनले लगानीकर्तालाई प्रोत्साहन होस्’, उनले भने।

पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको राष्ट्रिय औद्यगिक व्यापार मेलामा उद्यमीलाई प्रोत्साहन गर्न रमन म्यागसेसे पुरस्कार विजेता महावीर पुुनसँग शनिबार साक्षात्कार कार्यक्रम राखेको थियो।

पत्रकार केशवशरण लामिछानेले सहजीकरण गरेको कार्यक्रममा सरकारले सहज नीति नियम बनाइदिएको खण्डमा लगानीकर्ता खुशीका साथ आएर उद्योगधन्दा खोल्ने जिकिर गरे। रोजगारी सिर्जना गर्नलाई व्यवसायी उत्पादन गर्न जरुरत रहेको बताए।

‘कलेजमा पढाएर युनिभर्सिटीमा पढाएर व्यवसायी उत्पादन हुँदैन। कतिले यो कलेजमा पढाएर हामीले व्यवसायी उत्पादन गर्छौं ठान्छन्। कलेजमा युनिभर्सिटीमा पढेर केही आइडिया लिने बेग्लै कुरा हो,’ उनले भने, ‘तर कलेजमा पढ्दैमा युनिभर्सिटीमा पढ्दैमा कोही व्यवसायी बन्दैन।’
व्यवसायीमा सिर्जनशिलता हुने पुनले बताए। सिर्जनशीलतालाई मलजल गर्नुपर्ने उनको ठम्याइ छ।

मंसिर १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्