यु–१९ राष्ट्रिय क्रिकेटः उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

काठमाडौँ – मधेस प्रदेशलाई ५८ रनले पराजित गर्दै साविक विजेता लुम्बिनी प्रदेश राजधानीमा जारी यु–१९ पुरुष राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।
शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा लुम्बिनीले मधेसलाई हराउँदै फाइनलमा स्थान बनाउँदा सुदूरपश्चिसँग भेट पक्का गरेको हो।
लुम्बिनीले दिएको २ सय २३ को लक्ष्य पछ्याएको मधेसले ४५.४ ओभरमा १ सय ६४ रन बनाउन सक्यो। मधेसका लागि मयन यादवले ४५ बलमा ३८ रन बनाए। सरफराज मन्सुरले ३१ रन बनाए। अलि अन्सारीले २२ तथा डब्लु मल्लिकले १८ रन बनाए।
लुम्बिनीका लागि अभिषेक गौतम र विशालविक्रम केसीले समान ३/३ विकेट लिए। तुलबहादुर थापा, दुर्गेश गुप्ता र निर्मल गुरुङको नाममा समान १/१ विकेट रह्यो।
त्यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २२ रन बनाएको थियो। लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८५ रनको अर्धशतकीय इनिङ पूरा गरे।
यस्तै, आकाश त्रिपाठीले २३ रन, विशाल भुषाल र निर्मल गुरुङले समान १३ रन बनाए भने देव खनाल ११ रनमा आउट भए। यस्तै, नर सार्की २६ रनमा अविजित रहे। बलिङतर्फ मधेसका लागि निकेश गुप्ता ३ विकेट, अभिषेक तिवारी र नितेश यादवले समान २–२ विकेट लिए।
जितसँगै लुम्बिनी लगातार दोस्रो पटक फाइनल पुगेको छ। अब सोमबार हुने फाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशको सामना गर्नेछ।