कांग्रेस नेतृत्वमा सरकार बनाउन उपसभापति खड्काले भेटे माधव नेपाल

काठमाडौँ – अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सक्रियता बढाएका छन्।

बुधबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका खड्काले शनिबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई भेटेका छन्।

नेपाल निवास कोटेश्वरमा भएको भेटका क्रममा उनीहरुले एकअर्कालाई बधाई दिएका थिए। साथै दुई नेताबीच वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिने विषयमा कुराकानी भएको बुझिएको छ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी सरकार आफ्नै नेतृत्वमा बनाउनका लागि जोड गरिरहेका छन्। जसका लागि आफ्नो पक्षमा सहमति जुटाउन देउवाले उपसभापति खड्कालाई खटाएका छन्।

नेकपा (माओवादी केन्द्र)ले पनि अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउन कसरत गरिरहेको छ। आजै बसेको माओवादी पदाधिकारी बैठकले सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निष्कर्ष निकालेको थियो। आफ्नो नेतृत्वमा सरकार बनाउन नेकपा एमालेसँग पनि छलफल गर्ने माओवादीले जनाएको छ।

मंसिर १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्