नेत्रहीन टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय टिम भारत प्रस्थान

काठमाडौँ – आगामी ५ देखि १८ डिसेम्बरसम्म भारतमा आयोजना हुने तेस्रो नेत्रहीन टी–२० क्रिकेट विश्वकपमा सहभागी हुन नेपाली राष्ट्रिय टिम भारत प्रस्थान गरेको छ। प्रतियोगिताका लागि १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली आइतबार भारत प्रस्थान गरेको हो।
विगतमा पनि सहभागिता जनाउँदै आएको नेपाली पारा क्रिकेट टोलीलाई शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्ले शनिबार नै बिदाइ गरेको थियो। प्रतियोगिताका खेलहरु भारतको दिल्ली र बैंग्लोरमा हुने कार्यतालिका रहेको छ।
खिमानन्द गैरेको कप्तानीमा रहेको नेपाली टोलीमा सागर लामा, भरत चौलागाईं, राधेश्याम चौधरी, हेमबहादुर खत्री, टमबहादुर पाल, शान्तबहादुर पहरी, सुनिल राना, प्रेम क्षेत्री, युवराज भण्डारी, खेमराज सापकोटा, सुरेन्द्र तामाङ, नरेश चौधरी, सागर चेपाङ र शंकर रेग्मी रहेका छन्।
टिम प्रशिक्षकमा नहेन्द्र निरौला, व्यवस्थापकमा तुम्रु उप्रेति तथा अफिसियलमा नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरे, महासचिव अमृत बराल र कोषाध्यक्ष उपेन्द्र श्रेष्ठ छन्।
प्रतियोगितामा नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, भारत, दक्षिण अफ्रिका र अस्ट्रेलिया गरी ७ राष्ट्रले पहिलो राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन्।
लिगमा शीर्ष चार स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने छन्। लिगमा नेपालले डिसेम्बर ६ मा भारत, ७ मा बंगलादेश, ९ मा अस्ट्रेलिया, १० मा दक्षिण अफ्रिका, १३ मा श्रीलंका र १४ मा पाकिस्तान विरुद्ध प्रतिस्पर्धा गर्नेछ।