दक्षिण एशियामै दैनिक ६ सयभन्दा कम कोरोना संक्रमण

पछिल्लो समय विश्वमा कोरोना संक्रमण कम हुँदै गएको अवस्थामा विश्वभरि दैनिक कुल करिब २५०००० देखि ४००००० नयाँ संक्रमण र करिब ११०० देखि १७०० नयाँ कोरोना मृत्यु देखिने गरेको छ।

अत्यधिक कोरोना संक्रमण देखिने गरेका देशमा जापान, कोरिया, जर्मनी, फ्रान्स, अमेरिका आदि पर्छन् भने अत्यधिक कोरोना मृत्यु देखिरहेका देशमा अमेरिका, जर्मनी, ब्राजिल, जापान, इटाली, फ्रान्स आदि छन्।

कोरोना संक्रमण सकियो भनेजस्तो अवस्था भए पनि उक्त देशमा कोरोना संक्रमण र यसको प्रभावमा  खासै कमी आएको देखिँदैन। उल्लिखित देशमा हाल पनि दैनिक १०० देखि २०० नयाँ कोरोना मृत्यु देखा परिरहेकाे  अवस्था छ।

सबैभन्दा धेरै कोरोना संक्रमण भएको देश अमेरिकामा कुल कोरोना संक्रमण करिब १ करोड पुगेको छ जुन विश्वको कुल संक्रमण संख्याको करिब १५.५% हुन आउँछ।

त्यस्तै, त्यहाँ कुल कोरोना मृत्यु करिब ११ लाख पुगेको छ जुन विश्वको कुल कोरोना मृत्युको करिब १६% हुन आउँछ। विश्वको सबैभन्दा बिकसित र शक्तिशाली देशमा सबैभन्दा धेरै कोरोना संक्रमण र मृत्यु देखिनु आश्चर्यजनक कुरा हो।

हालसम्मको तथ्यांकअनुसार अमेरिकामा कोरोना मृत्यु दर १.०९% देखिएको छ जुन विश्वको औसत कोरोना मृत्यु दरभन्दा केही धेरै छ जुन  १.०२% छ। अमेरिकामा हालसम्म कुल जनसंख्याको करिब ३०% मा कोरोना संक्रमण भइसकेको छ भने कुल जनसंख्याको ०.३३% को यसैका कारण मृत्यु भइसकेको छ।

विश्वको तथ्यांक हेर्ने हो भने हालसम्म विश्वको कुल जनसंख्याको करिब ८% मा कोरोना संक्रमण भएको छ भने करिब ०.०८% को यसैका कारण मृत्यु भएको छ। यस तथ्यांकअनुसार पनि अमेरिकामा कोरोना संक्रमण र यसको मृत्यु विश्वको औसतभन्दा धेरै  देखिन्छ।

स्मरण रहोस् अमेरिकामा विश्वको कुल जनसंख्याको  करिब ४% बसोबास गर्छन् र त्यहाँ हालसम्म करिब ७०% जनसंख्याले कोरोना बिरुद्धको पूर्ण खोप लगाइसकेका छन् भने थप करिब १२% ले आंशिक खोप लगाएका छन्।

यसै सेरोफेरोमा नेपालर विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकका आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ।

यस लेखमा उधृत गरिएका तथ्यांक विभिन्न श्रोतबाट लिइएका हुन्। जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, वर्लडोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC)आदि।

यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांक सही रुपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठकसमक्ष पुर्‍याउनु हो।

विश्वमा कोरोना प्यान्डेमिक तल–माथि हुने क्रममा दक्षिण एसियामा पछिल्लो अवस्थामा कोरोना संक्रमण कम हुँदै जाने क्रम जारी छ।

हाल दक्षिण एसियामा दैनिक कोरोना संक्रमण घट्दो छ। दक्षिण एसियाको पछिल्लो एक महिना, सन्२०२२ नोभेम्बर ३ देखि ३०–२८ दिन) को कोरोना प्यान्डेमिकसम्बन्धी तथ्यांकको विश्लेषण चित्र न. १ मा देखाइएको छ। पछिल्लो अवस्थामा दक्षिण एसियामा समग्रमा औसत दैनिक  ६०० भन्दा कम संक्रमण देखिने गरेको छ।

त्यस्तै दक्षिण एसियामा पछिल्लो समय दैनिक मृत्यु पनि क्रमशः घट्दै गएको देखिएको छ। पछिल्लो समय दक्षिण एसियामा समग्रमा औसत दैनिक  ८भन्दा कम मृत्यु देखिने गरेको छ।

नेपालको दैनिक नयाँ संक्रमण

सन् २०२२ नोभेम्बर २६ डिसेम्बर ३ (बि.सं २०७९ मंसिर ११ देखि १७) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रबृत्ति चित्र न.२ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, मंसिर १७ गते शनिबारसम्म, देशभरि जम्मा २८ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या १०००९०३ पुगेको छ। दुई र तीन हप्ताअघि साप्ताहिक कुल संक्रमण संख्या क्रमशः २६ र५७ थियो।

त्यस्तै चित्र न.२ ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दरको प्रबृत्ति पनि देखाएको छ। गत हप्ता दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी दर न्यूनतम ०.२३% देखि अधिकतम १.४८% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ०.८८% रह्योजुन दुई र तीन हप्ताअघि क्रमशः ०.६% र १.११% थियो।

गत हप्ता पनि नेपालमा कोरोना मृत्यु शून्य रह्यो र हालसम्मको देशको जम्मा कोरोना मृत्यु १२०१९ पुगेको छ। गत हप्ता देशभरि जम्मा ३२८४ पीसीआर परीक्षण गरियो जुन संख्या दुई हप्ताअघि ३८१३ थियो।

संक्षेपमा, पछिल्लो समय विश्वमा कोरोना संक्रमण अझै  ठूलै संख्यामा देखिँदै आएको छ, विशेष गरी अमेरिका, केही युरोपेली देश तथा पूर्वी एसियामा।

अर्कोतिर दक्षिण एसियाको समग्र  दैनिक कोरोना संक्रमणमा भने निकै कमी आएको छ। दैनिक कोरोना मृत्युको प्रबृत्ति पनि पछिल्लो समय घट्दै गएको देखिन्छ।

नेपालमा गत हप्ता,बि.सं २०७९ मंसिर ११ देखि १७, साप्ताहिक नयाँ कोरोना संक्रमण  केही साताको जस्तै निकै कम देखिन्छ। औसत साप्ताहिक संक्रमण दर पनि न्यून देखिन्छ।

स्मरण रहोस्, पछिल्लो समय कोरोना संक्रमणमा विश्वब्यापी र देशब्यापी निकै कमी आइसके पनि उन्मूलन भने भइसकेको छैन।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ र कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ति साबित हुन सक्छ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रबृत्ति देखिएका बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिन्न।

यस लेख नेपालमा साप्ताहिक रुपमा प्यान्डेमिक हेर्ने ऐनाको  रुपमा प्रस्तुत  गरिएको छ। नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिक बिरुद्धको हाम्रो लडाइँ जारी छ, होशियारीपूर्बक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

मंसिर १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्