निर्वाचन प्रक्रिया पूर्ण नभएसम्म आचारसंहिता जारी रहन्छः निर्वाचन आयोग

काठमाडौँ – निर्वाचन आयोगले पूर्ण रुपमा निर्वाचनको प्रक्रिया नटुंगिएसम्म आचारसंहिता लागू हुने बताएको छ।
आयोगले आचारसंहिताको कार्यान्वयनकोे सम्बन्धमा कानुनले स्पष्ट रुपमा निर्वाचन आयोगले तोकेको मितिबाट आचारसंहिता लागू हुने र आचारसंहिता निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक नभएसम्म जारी रहने बताएको हो।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगले तोकेको समयबाट आचारसंहिता लागू भएको र आचारसंहिता निर्वाचनको सम्पूर्ण मतपरिणाम नआएसम्म रहने स्पष्ट पारे। उनले समानुपातिक निर्वाचन प्रणालीको मतगणना जारी रहेकाले आचारसंहिता जारी रहने बताए।
उनले समानुपातिक निर्वाचन प्रणालीको सबै निर्वाचन क्षेत्रबाट दललाई आएको मतको टुंगो लागिसकेपछि मतको हिसाब गरेर दललाई पत्र लेख्ने र दलले प्राप्त सिट संख्यामध्येबाट वर्ग समूह मिलाएर बन्दसूची भित्रबाट सांसदको नाम पेस गर्नुपर्ने उल्लेख गरे। उनले निर्वाचन प्रक्रियाको सम्पूर्ण काम सकिसकेपछि आयोगले राष्ट्रपतिसमक्ष निर्वाचनको अन्तिम परिणाम बुझाउने र निर्वाचन परिणाम सार्वजनिक गर्ने बताए।
उनले भने, ‘आचारसंहिता कार्यान्वयन सम्बन्धमा कानुनले स्पष्ट रूपमा निर्वाचन आयोगले तोकेको मितिबाट आचारसंहिता लागू गर्न सक्नेछ भन्ने छ। लागू गर्न सक्नेले त्यसलाई हटाउन सक्ने पनि अधिकार राख्छ। निर्वाचन, प्रचलन, व्यवस्थापन र कानुनले पनि धेरै ठाउँमा भनेको कुरा के हो भने निर्वाचन नसकिएसम्म आचारसंहिता लागू रहन्छ। हामी अहिले निर्वाचनकै क्रममा छौँ। समानुपातिक निर्वाचन प्रणालीको पनि गणना अहिले चलिरहेको छ। समानुपातिक निर्वाचन प्रणालीको सबै निर्वाचन क्षेत्रबाट दललाई आएको मतको हिसाव गरिसकेपछि दललाई हामीले पत्र लेख्छौँ। यति दिनभित्र आफ्नो प्राप्त सिट संख्यामध्येबाट वर्ग समूह मिलाएर बन्दसूची भित्रबाट पेस गर्नू भनिन्छ, नमिले फेरि पठाइन्छ। त्यो पनि एक किसिमले निर्वाचनको एउटा पार्ट नै हो। आयोगले सबै कुरा टुंग्याएर अन्तिम प्रतिवेदन राष्ट्रपतिकहाँ बुझाएर परिणाम प्रकाशन गर्छ। यो बेलासम्मको अवस्था आचारसंहिता लागू भएकै अवस्था हो।’
सहायक प्रवक्ता अर्यालले मंसिर २८ गतेसम्म निर्वाचनको सम्पूर्ण काम सकेर राष्ट्रपतिसमक्ष पेस गर्ने बताए। उनले समानुपातिक मतपरिणाम नआउँदासम्म निर्वाचन पूरा भएको नमानिने बताए।
उनले भने, ‘आयोगले वस्तुनिष्ठ योजना बनाएको थियो। ४ गते वस्तुनिष्ठ रुपमा देशभर निर्वाचन सम्पन्न हुन्छ। १३ गतेसम्म नतिजा निकाल्छौँ, १४ गते दललाई पत्र लेख्छौँ समानुपातिकका लागि र २२ गतेसम्म टुंग्याउने भनेका थियौँ। सबै कुरा योजनाअनुसार नहुनेरहेछ, कतै विवाद, भए, कतै मतगणनामा विवाद भए, मतका प्रकृतिमा पनि विवाद आयो। समानुपातिक मतपरिणाम नआउँदासम्म निर्वाचन पूरा भएको मानिँदैन। समानुपातिकमा उम्मेदवार भनेका दल हुन्। कुनै पनि उम्मेदवारको एक मत बाँकी रहँदासम्म निर्वाचन अधिकृतले नतिजा घोषणा गर्न सक्दैन। सबै निर्वाचन क्षेत्रबाट दलले प्राप्त गर्ने मत यकिन भइसकेपछि हामीले सूत्र प्रयोग गरेर कुन दलको भागमा कति सिट पर्छ टुंग्याउँछौँ। आयोगले चाहेर मात्रै नहुने कुरा पनि छन्। केही प्रक्रिया लम्बिन सक्छ। हामीले २६/२७ गतेसम्म वा २८ गतेसम्म हामीले राष्ट्रपतिसमक्ष पुर्याउन सक्नेछौँ।’
सहायक प्रवक्ता अर्यालले आयोगको योजनाअनुसार निर्वाचन नसकिँदा निर्वाचन मतपरिणाम आउन केही ढिला भएको बताए।