बज्रदलको आयोजनामा स्कुलस्तरको फुटबल प्रतियोगिता सुरु

नेपालगञ्ज – बज्रदल गण, इमामनगर ब्यारेक राँझाले नेपाली सेनासँग सूचीकृत भएका बाँके र बर्दियाका स्कुलका विद्यार्थीबीच फुटबल प्रतियोगिता गराएको छ।

ब्यारेकको बाहिरपट्टी रहेको २ नम्बर मैदानमा विद्यार्थीका बीचमा फुटबल प्रतियोगिता गराइएको हो।

प्रतियोगिताको श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी उत्तमकुमार विष्टले उद्घाटन गरे। प्रतियोगिताको उद्घाटनमा बाहिनीमा रहेका अधिकृत र सहभागी स्कुलका शिक्षकबीच मैत्रीपूर्ण म्याच गराइएको थियो। जसमा आर्मी ४–० गोलले विजयी भयो । आर्मीको तर्फबाट बज्रदलका गणपति प्रमुख सेनानी श्याम आत्रेय पौडेल, अशोक खड्का, सेनानी डा। अरविन्द्रराज सिंह र सेनानी खेम ढकालले गोल गरे।

प्रतियोगिताको आइतबार भएको खेलमा कोहलपुर बागेश्वरी इङ्लिस मिडियम स्कूल विजयी भएको छ । बागेश्वरीले नमुना विद्या सदनलाई ट्राइबेकरमा ४–३ गोलले पराजित गरेको हो। निर्धारित समयमा दुवै टोलीबाट गोल हुन सकेको थिएन । यो खेलमा बागेश्वरीका मनोज राना म्यान अफ द म्याच भए।

बज्रदल गणले बाँके र बर्दियामा रहेका सेनाको सूचीकृत विद्यालय र एन्फा लुम्बिनीसँगको सहकार्यमा सञ्चालन गरेको प्रतियोगिताको उद्घाटनमा प्राविधिक सहायक रथी नम्रता रावत, प्रतियोगिताका संयोजक किसन गुरुङ, प्याब्सन बाँकेका अध्यक्ष यम रावत, एन्फा लुम्बिनीका उपाध्यक्ष सूर्यमणि अधिकारीलगायतको उपस्थिति थियो।

प्रतियोगितामा ११ वटा स्कुलले भाग लिएका छन् । बाँके र बर्दियामा सेनाको सूचीकृत रहेका १६ वटा विद्यालय छन् ।

मंसिर १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्