प्रा. डा. चन्दा कार्कीसँग अन्तर्वार्ता

‘महिलाको पाठेघर संक्रमण हुँदा पुरुषकाे पनि उपचार गर्नुपर्छ’ (भिडियो)

महिलाहरुमा प्रायःजसो पाठेघरसम्बन्धी समस्या देखिने गरेको पाइन्छ। त्यसमा पनि पाठेघर संक्रमणको समस्या लिएर अस्पताल पुग्नेहरुको संख्या बढ्दो रहेको चिकित्सकहरुले बताउने गरेका छन्। कतिपयले भने यो समस्यालाई सामान्य रुपमा लिने गरेको उनीहरु बताउँछन्।

रोगलाई सामान्य रुपमा लिँदै गर्दा त्यसले निम्त्याउन सक्ने जटिलताका बारेमा उनीहरु अनविज्ञ भएको प्रसूती तथा स्त्रीरोग विशेषज्ञ प्रा. डा. चन्दा कार्की बताउँछिन्।

अधिकांश महिलालाई हुने गरेको पाठेघरको संक्रमणका बारेमा प्रा.डा. चन्दा कार्कीसँग गरिएको विस्तृत कुराकानीः

किन हुन्छ, पाठेघरको संक्रमण?


पेल्भिक इन्फेक्सनलाई मेडिकल ट्रममा पेल्भिक इन्फेलामेट्रिक डिजिज भनिन्छ। पाठेघरमा मुख जसलाई सर्भिक्स भनिन्छ, त्यहाँभन्दा माथि पाठेघरको बडी, फ्लोपियन ट्यूबम (डिम्बवाहिनी नली), ओभरी (डिम्बाशय) र पाठेघरको छेउका ठाउँहरुमा इन्फेक्सन भयो भने त्यसलाई पेल्भिक इन्फेलामेट्रिक डिजिज भनिन्छ।

यो एकदमै ‘कमन’ छ, नेपालमा। अस्पताल पुग्ने गरेका हरेक दोस्रो, तेस्रो महिलामा यो समस्या देखिने गरेको छ। जसले गर्दा सेतो पानी धेरै बग्ने, योनी चिलाउने समस्या धेरै हुने गर्छ।

संक्रमण हुनुको कारण के हो?


संक्रमण हुनुका विभिन्न कारणहरु छन्। मानिस कमजोर भएर रोग प्रतिरोधात्मक क्षमता कमजोर भयो भने जुनसुकै रोगले पनि चाँडो आक्रमण गर्छ। पाठेघरमा मात्र नभएर अन्य ठाउँमा पनि विभिन्न समस्याहरु देखिन सक्छन्।

अर्को भनेको, मानिसको सरसफाइको कुरा पनि आउँछ। दिनदिनै नुहाउने, पेन्टी दैनिक परिवर्तन गर्ने, सफा पानीले धुने गर्नुपर्छ। यसो नगर्दा पनि पाठेघरको संक्रमण हुन सक्छ।

तेस्रो कुरा, कुनै रोगहरुका कारण पनि पाठेघरको संक्रमण हुन सक्छ। विभिन्न प्रकारका संक्रामक रोगसँगै मधुमेह भएका व्यक्तिमा पाठेघरको संक्रमण हुन सक्छ। यसमा महिलामा मात्र नभएर उसको श्रीमान् वा पार्टनरलाई मधुमेह छ भने दुवै जनालाई संक्रमण हुन सक्छ। तर, पुरुषको भन्दा महिलामा संक्रमणको लक्षण धेरै देखिने हुन्छ।

पाठेघरको संक्रमण सरसफाइ, रोग प्रतिरोधात्मक, मधुमेह, यौन रोगसँग जोडिएका विभिन्न कारणले हुन सक्छ।

संक्रमण हुँदा कस्ता लक्षण देखिन्छन्?


अलि–अलि सेतो पानी सबैको बग्छ, त्यो सामान्य पनि हो। तर पेन्टी नै बारबार फेर्नुपर्ने अथवा पहेँलो रंगको पानी बग्ने हुन सक्छ। कहिलेकाहीँ रगत मिसिएको पनि हुन सक्छ। गन्ध आउने हुन्छ।

त्यस्तै, योनी बेस्सरी चिलाउने हुन्छ, जसले गर्दा योनीका भागहरु चिलाउँदा चिलाउँदा रातो हुने हुन्छ। बारम्बार तल्लो पेट दुखिरहने हुन सक्छ, संक्रमण भएका महिलालाई।

कसरी उपचार गरिन्छ?


पाठेघरको संक्रमण भएको छ भने हामी श्रीमान्–श्रीमती दुवैलाई उपचार गछौँ। कति श्रीमान्‌ले मलाई केही पनि भएको छैन भनेर मान्नुहुन्न। तर त्यस्तो होइन। संक्रमण दुवै जनामा हुन्छ। एउटालाई उपचार गर्दा अर्कोका कारण बारम्बार संक्रमण भइरहने हुन्छ।

र, कटन (सुती)को पेन्टीको प्रयोग गर्नु पर्छ। सेन्थेटिकको पेन्टी प्रयोग गर्दा त्यसले एलर्जी गराउन सक्छ।

एक पटक संक्रमण भएपछि बारम्बार हुन्छ?


यसमा धेरै सचेत हुन जरुरी छ। कतिपय महिलाले पिसाब फेरिसकेपछि डेटोल, बेटाडिनले, साबुन धुने गरेको पाइन्छ, त्यसो गर्नु हुँदैन। किनभने प्राकृतिक रुपमा नै योनीमा ‘डिफेन्स मेकानिजम’ बनाएको हुन्छ। जसले बाहिरको इन्फेक्सनसँग लड्ने काम गर्छ। र भित्र जान दिँदैन। तर हामीले बेटाडिन, साबुन, डेटोलको प्रयोग गर्‍यौँ भने योनीको मुखमा भएका बचाउ गर्ने ‘अर्ग्यानिजम’को विनास हुन्छ। यसो हुँदा बाहिरको संक्रमणले पाठेघरमा आक्रमण गर्छ

सादा पानीले धोए पुग्छ। श्रीमान् श्रीमतिकै उपचार गर्‍यो भने पछि नहुने सम्भावना धेरै हुन्छ। तर यसमा फेरि दुवै जना एकअर्कोप्रति ‘फेथफूल’ हुनु पर्छ।

मल्पिल पाटर्नर भएको खण्डमा पनि संक्रमण हुने समस्या बढी हुन्छ। त्यसैले श्रीमान् श्रीमती एकअर्कोप्रति ‘फेथफूल’ हुन पर्छ, ताकी एक पटक उपचार गरिसकेपछि फेरि फेरि त्यही समस्या दोहोरिनु भएन।

कुनै दीर्घरोग छ, रोग प्रतिरोधात्मक क्षमता घटाउने औषधि खाइरहेको हो भने त्यहीअनुसारको उपचार गर्न जरुरी हुन्छ। त्यसपछि मात्र त्यो समस्या बारबार हुँदैन।

मंसिर १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्