निर्धारित समय बराबरी भएपछि जापान र क्रोएसियाको खेल अतिरिक्त समयमा  

कतार विश्वकपमा नकआउट चरणमा जापान र क्रोएसिया बिचको खेल निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएको छ। निर्धारित समय बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको छ।  जारी स‍स्करणमा पहिलो पटक कुनैपनि खेल अतिरिक्त समयमा धकेलिएको हो।

विश्वकप फुटबलअन्तर्गत जारी अन्तिम १६ को खेलमा एसियन टोली जापानले साविक उपविजेता क्रोएसिया विरुद्ध अग्रता बनाएको थियो। जापानका लागि डाइजेन माइडाले ४३ औ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए। उनले रित्सु डोएनको क्रसलाई ६ यार्ड बक्स भित्र फाइनल टच दिएका थिए।

तर खेलको दोस्रो हाफमा गत संस्करणको फाइनलिस्ट क्रोएसिया खेलमा फर्कियो। उसका लागि इभान पारासिसले ५५ औ मिनेटमा गोल गरेका थिए। उनले लोभरेनको लामो पासलाई सानदार हेड गर्दै गोल गरेका थिए।

क्रोएसियाले खेलेका पछिल्ला ७ नकआउट खेल मध्ये ६ खेल अतिरिक्त समयमा धकेलिएका छन्। गत संस्करणको फाइनलमा मात्र क्रोएसिया फ्रान्ससँग निर्धारित समयमा पराजित भएको थियो।

 

 

मंसिर १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्