पंकजबिरुद्ध नेहाले दर्ता गरिन् दुई मुद्दा, ग्रान्डी र नर्भिकबाट पनि निकालिए पंकज

नेहा चाैधरी र उनका श्रीमान् डा. पंकज चाैधरी।

काठमाडाैँ – दाइजाेकाे माग गर्दै घरेलु हिंसामा परेकी महाेत्तरीकी नेहा चाैधरीले श्रीमान् पंकज चाैधरीविरुद्ध दुईओटा मुद्दा दायर गरेकी छन्।

मनग्य दाइजाे र सुन दिएपनि अझै धेरै दाइजाेकाे माग गर्दै आफूलाई पटक-पटक शारीरिक तथा मानसिक यातना दिएकाे भन्दै उनले डाक्टर समेत रहेका श्रीमान् पंकजविरुद्ध जिल्ला अदालत महाेत्तरीमा मुद्दा दायर गरेकी हुन्। उनले दायर गरेका दुई मुद्दामा घरेलु हिंसा र दाइजोकाे माग रहेका छन्।

केही समयअघि प्रहरी कार्यालयमा उजुरी दिएपनि अब मिलेर बस्ने भन्दै छुटेका पंकजले अझै धेरै हिंसात्मक गतिविधि गरेकाे भन्दै उनले सामाजिक सञ्जालमार्फत न्यायकाे आह्वान गरेकी थिइन्।

महोत्तरीको औरही १ घर भएकी नेहा र सोही जिल्लाको रामगोपालपुर ५ घर भएका पंकजबीच गत फागुनमा विवाह भएको थियो। विवाहको केही समयदेखि नै पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमान् र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरु गरेकाे नेहाकाे गुनासाे छ।

ग्रान्डी अस्पतालमा जनरल फिजिसियनका रुपामा कार्यरत डा. पंकजकाे याे घटना बाहिरिएसँगै उनलाई अस्पतालले पनि बर्खास्त गरेकाे छ। यसका साथै उनी कार्यरत नर्भिक अस्पतालले पनि उनलाई बर्खास्त गरेकाे छ।

पंकज र आफूबीच तीन वर्षकाे प्रेम सम्बन्ध रहेकाे र त्यसैलाई विवाहमा परिणत गरेकाे बताउने नेहाले विवाहपछि दाइजाेकाे विषयलाई लिएर आफूमाथि हिंसा हुन थालेकाे बताउँछिन्।

नेहाको परिवारका अनुसार विवाहमा ६२ लाखको चेक, २० लाखको सुन तथा ५०-६० लाख चाँदीका गहना दाइजो दिइएको छ। तर, विहेपछि पंकजले काठमाडौंमा घरसमेत दिनुपर्ने डिमान्ड राख्न थालेका थिए। दाइजोको विवादकै कारण विवाहको केही महिनादेखि श्रीमान् र सासुले आफूलाई यातना दिने गरेको नेहाले बताएकी छन्।

मंसिर २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्