जब श्रीमतीको हत्यापछि झोलामा टाउको बोकेर प्रहरी चौकी हिँडे श्रीमान….

काठमाडौँ- मंगलबार साँझतिरबाट सामाजिक सञ्जालमा एउटा तस्बिर निकै चर्चित भइरहेको छ। तस्बिरमा एक पुरुषले प्लास्टिकको झोलामा केही सामान लिएर हिँडिरहेजस्तो देखिन्छ। छेउमा प्रहरीहरुसमेत देखिएका छन्। झट्ट हेर्दा सामान्य लाग्ने यस तस्बिरको बास्तविकता भने भयानक छ।

सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माका ३८ वर्षीय एक पुरुषले आफ्नै श्रीमतीको हँसिया प्रहार गरी हत्या गरे । हत्यापछि श्रीमतीको टाउको लिएर प्रहरीसामु जाँदै गर्दा स्थानीय र प्रहरीको सहयोगमा उक्त पुरुषलाई बाटैबाट नियन्त्रणमा लिइएको छ। सामाजिक सञ्जालमा चर्चा पाएको उक्त तस्बिरको वास्तविकता हो यो।

पञ्चपुरी नगरपालिका–३ तोक्माका ३८ वर्षीय अम्मरबहादुर आले मगरले ३० वर्षीय श्रीमती मिना आले मगरको हत्या गरेका छन्। यो घटना मंगलबार दिउँसो करिब ३ बजेतिरको हो।

हत्या गरेर टाउको प्लास्टिकमा राखी इलाका प्रहरी कार्यालय बाबियाचौर जाँदै गर्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीले बताएका छन्।

उनका अनुसार मंगलबार दिउँसो पञ्चपुरी–३ तोक्माबाट प्रहरी कार्यालय हिँडेका उनलाई पञ्चपुरी–२ पलैंटेमा प्रहरीले नियन्त्रणमा लिएको हो।

कसरी भयो घट्ना ?

मंगलबार दिउँसो करिब २:३० बजे तिर अम्मरबहादुर आले मगर उनकी श्रीमती मिना आले मगर र अम्मरबहादुरकी आमा घर बाहिर बसेर कुराकानी गरिरहेका थिए। त्यतिकैमा उनकी आमा खोलातिर नुहाउन जान्छु भन्दै घरबाट निस्किइन्। त्यसपछि श्रीमानश्रीमती आगनबाट उठेर आफ्नो कोठामा गए। कोठामा गएको केही बेरमा नै श्रीमती मिनाको हत्या भयो । उनकै श्रीमानले धारिलो हतियार (हँसिया) ले हानेर मीनाको टाउको नै छिनाइदिए।

उनी त्यतिमा मात्रै रोकिएनन्, श्रीमतीको हत्यापछि उनको छिनेको टाउकोलाई प्लास्टिकको झोलामा हालेर घरबाट निस्किए। यति घट्ना भइसक्दासम्म नुहाउन गएकी उनकी आमा घर आइसकेकी थिइन्। झोलामा केही बोकेर भौतारिदै हिडेको देखेपछि उनले छोरालाई कता जान लागेको भनेर प्रश्न गरिन्। जब छोराले आफ्नै श्रीमतीको हत्या गरेको र टाउको लिएर प्रहरीसामु जान लागेको कुरा बताए, आमा सहन नसकेर बेहोस बनिन्।

अम्मरबहादुर भने श्रीमतीको टाउको लिएर सुरुसुरु निस्किए। बाटोमा भेट्ने, देख्ने केही व्यक्तिहरुले उनले हातमा बोकेको झोला देखेर सुरुमा त मासु लिएर आएको होला भन्ने अनुमान कसैले लगाए त, कसैले अन्य केही सामान होला भन्ने अनुमान लगाए। अम्मरबहादुर अघि बढ्दै जाँदा उनको गतिविधि केही शंकास्पद लागेपछि स्थानीय र केही फिल्डमा खटिएका प्रहरीहरुले उनलाई पिछा गर्न थाले ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि स्थानीय र प्रहरीको सहयोगमा उनलाई इलाका प्रहरी कार्यालय बाबियाचौर नजिकैबाट नियन्त्रणमा लिइयो।

नियन्त्रण पश्चात उनले आफ्नै श्रीमतीको हत्या गरी प्रहरी चौकी जानलागेको बताएको वडा नम्बर–३ का वडाध्यक्ष बलबहादुर रोकायले बताएका छन्।

उनका अनुसार प्रहरीले अम्मरबहादुरलाई चौकी जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। स्थानीय प्रत्यक्षदर्शीका अनुसार कोठामा भेटिएको मिनाको बाँकी शव पनि विभत्स अवस्थामा रहेको थियो।

के भन्छ प्रहरीको प्ररम्भिक अनुसन्धानले

अम्मरबहादुर दुवई र मलेसिया गरी आठ वर्ष वैदेशिक रोजगारीमा गएका थिए। गत वर्षको भदौमा मात्रै उनी स्वदेश फर्किएका हुन्।

आर्थिक हिसाबकिताब र श्रीमतीको अविश्वासका कारण बेला–बेला दुईजनाबीच झगडा हुँदै आएको बुझिएको वडाध्यक्ष रोकायले बताए ।

उनका अनुसार झगडाका कारण मिना भागेर माइत गएकी थिइन्। माइतबाट आएको दुई दिनमा श्रीमानले उनको हत्या गरेका हुन्।

‘मैले स्थानीयहरुसँग र उहाँहरुको आफन्तसँग बुझ्दा विदेशबाट पठाएको पैसा श्रीमतीले हिनामिना गरेको भन्दै विवाद भइरहेको रहेछ,’ उनी भन्छन्, ‘साथै प्रतिवादीले श्रीमतीलाई शंका, उपशंका गर्ने गरेका रहेछन्। त्यही विषयलाई लिएर सो घट्ना भएको भन्ने हामीले बुझेका छौँ।’

उनीहरूका ११ वर्षीय एक छोरा र ८ वर्षीय छोरी रहेको उनी बताउँछन्। घट्ना हुँदाको समयमा छोराछोरी विद्यालय गएका थिए।

यता जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी सुरज कार्कीले पनि प्रारम्भिक अनुसन्धानका क्रममा घरायसी विवादकै कारण घट्ना निम्तिएको हुनसक्ने अनुमान रहेको बताएका छन्।

‘आफूले विदेशमा कमाएको पैसा श्रीमतीले हिनामिना गरेको र श्रीमतीलाई शंका गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको छ,’ उनी भन्छन्, ‘सोही कारणले विवादसमेत भइरहेको रहेछ केही दिनबाट, विवादकै कारण घट्ना भएको प्रहरीको अनुमान छ।’

पोष्टमार्टमपछि मात्रै अन्तिम संस्कारका लागि आफन्तलाई शव बुझाइने प्रहरीले जनाएको छ। मिनाको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ।

मंसिर २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्