खानेपानीको महसुल छुटका लागि उपभोक्ता समितिसँग सम्झौता

चितवन – भरतपुर महानगरपालिकाले खानेपानी महसुल छुटका लागि महानगरभित्र रहेका खानेपानी उपभोक्ता समिति र खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरेको छ। महानगर प्रमुखमा दोस्रो कार्यकाल निर्वाचित भएसँगै प्रमुख रेनु दाहालले सात हजार लिटरसम्म उपभोग गर्ने उपभोक्ताको शुल्क महानगरले व्यहोर्ने निर्णय गरेकी थिइन्। सोही निर्णय कार्यान्वयनमा ल्याउन बुधबार उपभोक्ता समिति र बोर्डसँग सम्झौता गरिएको हो।

महानगरपालिकाभित्रका १० वटा उपभोक्ता समिति र खानेपानी व्यवस्थापन बोर्डसँग एक कार्यक्रमबीच सम्झौता गरिएको हो।

सम्झौतापत्रमा भरतपुर महानगरपालिकाका तर्फबाट वन, वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका सिनियर डिभिजन इन्जिनियर लक्ष्मीप्रसाद भण्डारी र उपभोक्ता समितिका अध्यक्षहरूले हस्ताक्षर गरेका छन्। महानगर प्रमुख दाहाल, उपप्रमुख चित्रसेन अधिकारीको रोहबरमा सम्झौता गरिएको हो। सम्झौतासँगै महानगरपालिकाले गरेको निर्णय यही मंसिरदेखि कार्यान्वयनमा आउने भएको छ।

सम्झौता कार्यक्रममा महानगर प्रमुख दाहालले आगामी दुई वर्षमा महानगरवासीलाई खानेपानीको समस्या नहुने गरी योजना अघि बढाइएको बताए। उनले भने, ‘ठूला आयोजना निर्माणको चरणमा छन्। जसले गर्दा केही समयमा महानगरवासीले खानेपानीको समस्या झेल्नुपर्दैन।’

अहिले महानगरभित्र खानेपानी बोर्ड र खानेपानी उपभोक्ता समितिका गरी ४५ हजार दुई सय ३ वटा धारा जडानको काम सम्पन्न भएको उनले जानकारी दिए। ४७ हजार ५० धारा जडानको क्रममा रहेको सो अवसरमा जानकारी दिइएको थियो।

महानगर उपप्रमुख अधिकारीले महानगरका तीन स्थानमा खानेपानी आयोजना निर्माणको चरणमा रहेको र छिट्टै सम्पन्न हुने बताए। दुई वर्षभित्र महानगरका हरेक घरधुरीमा खानेपानीको धारा जडान सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको उनको भनाइ थियो।

पहाडी क्षेत्रमा डिप बोरिङबाट खानेपानीको समस्या समाधान हुन नसकेको भन्दै उनले पहाडी क्षेत्रमा मुहानको पानीको व्यवस्था गर्ने तयारी गरिएको बताए।

कार्यक्रममा मेघौली खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवलाल भुर्तेल र खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति पराजुलीले महानगरको यो कार्य प्रशंसनीय रहेको बताए।

मंसिर २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्