विराटनगरका अव्यवस्थित संरचना हटाउन सुरु

मोरङ – विराटनगर महानगरका अव्यवस्थित रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको छ। महानगर प्रमुख नागेश कोइरालाले आफ्नै उक्त कार्य सुरु गरेका छन्।

बजार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउने क्रममा मेयर कोइरालाको महानगर–९ स्थित भाडामा लगाएका पसलका संरचनाबाट हटाउन सुरु गरिएको हो।

भाडामा लिएर पसल सञ्चालन गर्दै आएका व्यवसायीले सटरअगाडि आफूखुसी संरचना तयार गरेको महानगरको भनाइ छ।

पसलअगाडि निर्माण गरेको सेटब्याकलगायत अवैध संरचना महानगर प्रहरीले हटाएको हो। यस क्रममा नगर प्रहरीले जथाभावी झुण्ड्याइएका होर्डिङ बोर्डसमेत हटाएको थियो।

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानअन्तर्गत बजार क्षेत्रमा निर्माण गरिएका संरचना हटाउन थालिएको महानगर प्रमुख कोइरालाले जानकारी दिए।

उनले ३५ दिने सूचना जारी गर्दा पनि व्यापारीले अटेर गरेपछि बल प्रयोग गरेर हटाउनुपरेको बताए।

महानगरले बजार क्षेत्रभित्र सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै कात्तिक ३ गते सार्वजनिक सूचना जारी गरेको थियो।
सूचना जारी र पटक–पटक माइकिङ गर्दा पनि अटेर गरेपछि बाध्य भएर अभियान सञ्चालन गर्नुपरेको उनको भनाइ छ।

अभियानअन्तर्गत मेयर कोइरालाको घरमा सञ्चालित पसलका साथै महानगर कार्यालयअगाडि रहेका पसल, वडा नम्बर ९ को कार्यालय, बुधहाट चोकस्थित वी प्लटमा अवस्थित पसलमा निर्माण गरेका अवैध संरचना हटाइएको छ। अभियानलाई हरेक दिन सञ्चालन गरिने नगर प्रहरीका प्रमुख राजन पौडेलले बताए।

अवैध संरचना हटाउने अभियान महानगरका १९ वटै वटामा सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए।

मंसिर २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्