नेपाल बारको क्रियाकलापप्रति अन्तराष्ट्रिय बारको चासो

काठमाडौँ – नेपाल बार एशोसियशनको क्रियाकलापप्रति इन्टरनेशल बार एशोशिएसन (आइबिए) ले चासो व्यक्त गरेको छ।
बारको न्युुनतम मूल्यमान्यता विपरीत क्रियाकलाप गरेको भन्दै आइबिएले नेपाल बारसँग सोधपुछ गरेको हो।
गत अक्टोभर ३० देखि नोभेम्बर ४ सम्म अमेरिकाको फ्लोरिडामा भएको इन्टरनेशल बार एशोशिएसनको सम्मेलनका क्रममा नेपाल बारको गतिविधिप्रति सोधपुछ भएको हो।
इन्टरनेशनल बारका अध्यक्ष स्टेनफर्ड मोयोलगायतको टोलीले बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेरण राणाविरुद्ध कार्यपालिकासँग मिलेर लागेको सोधपुछ गरेको हो।
भेटमा सहभागी एक प्रतिनिधिका अनुसार बारले राणाविरुद्ध सर्वोच्च गेटमा दिएको धर्ना र उनीविरुद्ध गरेको आन्दोलनलाई गम्भीरतापूर्वक लिएको जनाए।
राणाविरुद्ध किन आन्दोलन गरेको भन्ने प्रश्नमा घिमिरेले उनी भ्रष्टाचारमा संलग्न भएको बताए। लगत्तै आइबिएका अध्यक्ष मोयोले भ्रष्टाचार जस्तो गम्भीर विषयलाई फौजदारी विषय बनाउनुका साटो न्यायिक विषय किन बनाएको भनेर प्रश्न गरेका थिए।
प्रधानन्यायाधीश राणाविरुद्ध बारले दुुई महिनाभन्दा बढी आन्दोलन गर्यो भने न्यायाधीशहरुलाई समेत अड्तालमा उतारेको थियो। जसले नेपालको न्यायिक क्षेत्रलाई अन्तराष्ट्रिय जगतमा बद्नाम बनाएको छ।
विश्वका १२६ देशका प्रतिनिधिसहरु सहभाग भएको सम्मेलनमा नेपालबाट अध्यक्ष घिमिरे, महासचिव खनालसहित केन्द्रीय सदस्य सन्तोष तिवारी, अधिवक्ता सीमा धामी, सरोजकृष्ण घिमिरे, अंजन नेउपाने, सुरेंद्र तिवारी र दीपेश ओझा सहभागी भएका थिए।