सबै जनताले मानवअधिकार पाएको महसुस गर्न सकेनन्ः उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुन। फाइल तस्बिर

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले मानवअधिकारसँग सम्बन्धित कानुनी व्यवस्थाको पूर्णरूपमा लागू गर्न ध्यानाकर्षण गराउनुभएको छ।
काठमाडौंमा बिहीवार आयोजित १४औँ राष्ट्रिय मानवअधिकार महाभेलालाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले मानवअधिकारसँग सम्बन्धित कानुनी व्यवस्थालाई पूर्ण रूपमा लागू गराउन सबैको ध्यानाकर्षण गराए।

उनले मानव अधिकार उल्लंघनका घटना अझै पनि नरोकिएको बताए। उनले सबै जनताले मानवअधिकार पाएको महसुस गर्न नसकेको बताए। उपराष्ट्रपति पुनले मानवअधिकार आवाजविहीन, शोषित उत्पीडित र राज्यले पछि पारेका जाति र वर्गका लागि आवश्यक रहेको बताए। उनले मानवअधिकारको पूर्ण पालना भएको ठाउँमा विभेद, उत्पीडन, गरिबी, अन्याय र अत्याचार नहुने बताए।

उनले भने, ‘मानवअधिकार उल्लंघनका घटना रोकिएका छैनन्। जनताले सम्पूर्ण मानवअधिकार पाएको महसुस गर्न सकिरहेको अनुभूति हुँदैन। मानवअधिकार सबैका लागि हो। र, वास्तविक अर्थमा मानवअधिकार आवाजविहीन, शोषित, उत्पीडित, सिमान्तकृत र राज्यले पछाडि पारेका जाति र वर्गका लागि हो। मानव अधिकारको कार्यान्वयन समाजको उन्नति र प्रगतिका लागि हो। जहाँ मानव अधिकारको पूर्ण पालना हुन्छ, त्यहाँ विभेद, उत्पीडन, गरिबी, अभाव, अन्याय, अत्याचार अर्थात् शोषण हुँदैन। यी सबै कारण मानव अधिकारको सम्मान, संरक्षण र पालना गर्न अनिवार्य छ। मानव अधिकारका प्रत्याभूतिका लागि कानुनी व्यवस्थाको पूर्ण लागू गर्न आवश्यक छ। म त्यसतर्फ सबैको ध्यानाकर्षण गराउन चाहन्छु।’

उपराष्ट्रपति पुनले आगामी दिनमा संघ र प्रदेशमा बन्ने सरकारले मानवअधिकार र सुशासनको क्षेत्रमा राम्रो काम गर्ने विश्वास पनि व्यक्त गरे।

उनले भने, ‘निर्वाचनको पूर्ण परिणामसँगै संघ र सात प्रदेशमा सरकार बन्नेछ। ती सरकारहरूले देशको विकास र समृद्धिका लागि र मानवअधिकार क्षेत्रमा, सुशासनका क्षेत्रमा राम्रो काम गर्नेछन् भन्ने कुरा पनि विश्वास लिएको छु। अर्थात् सुशासन क्षेत्रमा पक्कै पनि आजका दिनभन्दा आगामी दिन अझै राम्रा र प्रगतिशील र मानवअधिकार क्षेत्रमा पक्कै पनि धेरै प्रगति हुनेछ भन्ने हामी सबैले विश्वास गर्दछौँ।’
उनले विकास र समृद्धिका लागि पनि दुवै तहको सरकारले काम गर्नुपर्ने बताए।

 

मंसिर २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्