पोखरा – अंग्रेजी नयाँ वर्षमा आन्तरिक र बाह्य पर्यटकले पोखरालाई गन्तव्य बनाएर घुम्न आउँछन्। अंग्रेजी नयाँ वर्र्षको बेला पोखरामा पर्यटक तान्ने ब्राण्ड लेकसाइडको सडक महोत्सव हो। सडक महोत्सवले केही दिन लेकसाइडलाई अतिथि सत्कारमा व्यस्त बनाउँछ।

पर्यटन व्यवसायीलाई राहत दिने अपेक्षा गरिएको सडक महोत्सवको २४ औं संस्करणको तयारी थालिएको छ। रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले पुस १३ देखि १७ गतेसम्म सडक महोत्सव गर्दै छ। ‘सडकमै खाऔं, सडकमै रमाऔं’ उद्घोषसाथ लेकसाइडको ३ किमि सडकमा हुने महोत्सवको बिहीबार घोषणा गरिएको हो। महोत्सवले खानाको स्वादसँगै कला, संस्कृति र मनोरञ्जनको ‘प्याकेज’ पस्कनेछ।

रेवान पोखराका अध्यक्ष नरेश भट्टराईका अनुसार सडक महोत्सवले पोखराको पर्यटन प्रवद्र्धनमा सघाउनेछ।

‘कोरोना महामारीबाट सुस्ताएको पर्यटन विस्तारै लयमा फर्कन थालेको छ। मौसम खुलेको छ, हिमाल हाँसेको छ। पर्यटक लोभ्याउने यो मौसममा पर्यटनमैत्री वातावरण बना

दै महोत्सव गर्ने तयारीमा जुटेका छौं’, उनले भने। महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउने उनको दाबी छ।
पुसमा पोखरामा सडक महोत्सव मात्रै हुनेछैन, अन्य महोत्सव पनि आयोजना गरिएको छ। व्यापार मेलादेखि साहित्यिक मेलाले पोखरा महोत्सवमय हुनेछ। गत सातादेखि नै पोखरा महोत्सवमय भएको छ। माघ पहिलो सातासम्म मेला महोत्सव चल्नेछन्। केही मेला महोत्सवको उद्घोष गरिएको छ त केहीको तयारी चल्दै छ।

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा रष्ट्रिय औद्योगिक व्यापार मेला जारी छ। गत शुक्रबारदेखि सुरु भएको महोत्सव मंसिर २५ गतेसम्म चल्नेछ। मेलामा हस्तकला, कृषि, पुष्प, अटो, सूचना तथा प्रविधिहरुको प्रदर्शनी तथा बिक्री, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका गतिविधिको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु किनमेल चलिरहेको छ।

औद्योगिक व्यापार मेला नसकिँदै सातौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हुनेछ। मंसिर २४ र २५ गते रातोपैरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा महोत्सव हुन लागेको हो। दुईदिने महोत्सवमा पर्वतीय वातावरण, जैविक विधिता, प्राकृतिक स्रोतबारे चर्चा हुनेछ।
पर्वतीय क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण महोत्सवले गर्ने आयोजक समितिका संयोजक ठाकुरराज पाण्डेले बताए।

‘पर्वतीय पर्यटन र पर्वतारोहण क्षेत्रको विगत, वर्तमान र भविष्यको सम्बन्धमा विज्ञहरुको उपस्थितिमा बृहत छलफल हुनेछ,’ उनले भने, ‘यसले पर्वतीय क्षेत्रमा बसोबास गर्ने स्थानीयको जीवनस्तर उकास्न सघाउने विश्वास लिएका छौं।’

साहित्यप्र्रेमीले प्रतीक्षा गरिरहेको नेपाल लिटरेचर फेस्टिबल पुस पहिलो साता हुनेछ। नेपाल लिटरेचर फेस्टिभलको दशौँ संस्करण पुस ६ देखि १० गतेसम्म गर्ने तयारी छ। फेस्टिभलका वक्तालाई निम्तो दिँदै तयारी गरिएको छ। सुरुआतदेखि चौथो संस्करणसम्म काठमाडौंमा भएको फेस्टिभटल त्यसपछि पोखरामा आयोजना गर्न थालिएको हो।

पर्यटनसँगै पोखरालाई मेला महोत्सवले पनि चिनाएको छ। ‘महोत्सवको पनि महोत्सव’ ब्राण्ड बनाएको लेखनाथ महोत्सव पुस ७ देखि १८ गतेसम्म तालचोकमा हुँदै छ। सुन्तला प्रदर्शनीबाट सुरु भएको लेखनाथ महोत्सवको १८ औं संस्करणको तयारीमा आयोजक लेखनाथ उद्योग वाणिज्य संघ जुुटेको छ। ०५८ सालदेखि तीन वर्र्ष लेखनाथमा सुन्तला प्रदर्शनी भयो। २०६१ सालदेखि सुरु भएको महोत्सवको प्रचारप्रसार आन्तरिक तयारी भइरहेको छ।

पोखराको अमरसिंह चौरमा पुस २७ देखि माघ ९ गतेसम्म पोखरा महोत्सव हँुदै छ। युनाइटेड क्लबले आयोजना गरेको ११ औं संस्करणको पोखरा महोत्सवमा ६० प्रतिशत स्टल बुकिङ भएको जनाइएको छ। महोत्सवले ग्रामीण पर्यटनको प्रवद्र्धनलाई प्राथमिकतामा राखेको छ। व्यापार व्यवसायसँगै मनोरञ्जनलाई पनि महोत्सवले प्राथमिकता दिइरहेका छन्।

मंसिर २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्