तत्काल वाम एकता हुन्न : नेता पाण्डे

चितवन – एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको दाबी गरेका छन्।

प्रेस चौतारी नेपाल, चितवन शाखाले गरेको कार्यक्रममा उनले एमाले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयबारे नसोचेको बताएका हुन्।

पाण्डेले भने, ‘अहिलेको संसद्मा एमाले प्रतिपक्षमा रहन्छ।’

निर्वाचनले कुनै दललाई पनि बहुमत नदिएको उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले एकभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने अवस्था रहेको बताए। संसद्मा कुनै पनि दलको बहुमत नपुग्दा सरकारले परिणाम दिने गरी काम गर्न नसक्ने उनको भनाइ थियो।

देशमा आर्थिक र राजनीतिक सङ्कट देखा परे कांग्रेस र एमालेबीच सहकार्य हुनसक्ने पाण्डेले बताए।

निर्वाचनमा जनताले पुराना ठूला पार्टीलाई सजग गराउन खोजेको भन्दै उपाध्यक्ष पाण्डेले अब ठूला पुराना पार्टी सच्चिनुपर्ने अवस्था आएको उल्लेख गरे। ‘एमाले र कांग्रेस सच्चिनुपर्छ। जनता हिजोदेखि स्थापित पार्टीको पक्षमा देखिए पनि खबरदारी गरेको पाइयो।’

तत्काल वाम एकता सम्भव नरहेको उपाध्यक्ष पाण्डेको दाबी छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सबै दलले आफ्नो मत गुमाउन पुगेकाले अबको राजनीति सहज नहुने उनको भनाइ छ।

मंसिर २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्