आँखा शिविरमा निःशुल्क शल्यक्रिया

ताप्लेजुङ – ताप्लेजुङमा बिहीबार  सम्पन्न तीन दिने निःशुल्क शल्यक्रियासहितको आँखा शिविरमा एक सय आठ जनाको शल्यक्रिया भएको छ। नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ र सेवा फाउण्डेशन काठमाडाैँको आयोजनामा सञ्चालित शिविरमा ९३ को मोतियाविन्दुको र १५ जनाको साधारण शल्यक्रिया भएको हाे।

सदरमुकाम फुङलिङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा सञ्चालित शिविरमा छिमेकी जिल्ला पाँचथर, तेह्रथुमलगायत गरी पाँच सय १४ जनाले परीक्षणसहित उपचार सेवा लिएका छन्।

शिविरमा चस्मा र नाम दर्तामा न्यूनतम शुल्क लगाइएको थियो । शल्यक्रिया र औषधि निःशुल्क प्रदान गरिएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्दका क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारी दिए।

उनका अनुसार शिविर सञ्चालनका लागि मेची आँखा अस्पताल झापाको प्राविधिक सहयोग रहेको र लायन्स क्लब आफ काठमाडौँ हाम्रो रुपान्तरणले निःशुल्क औषधिको व्यवस्था गरेको थियो। समय समयमा यहाँ आयोजना हुने आँखा शिविरले पूर्वी पहाडी जिल्लामा रहेका आँखाका बिरामीलाई फाइदा पुग्ने गरेको छ।

मंसिर २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्