आलेखः किराँत समुदायको महान् पर्व चासोक तङ्नाम

फुङ्लिङ – ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मामाङ्खेका सुने लिम्बूको व्यस्तता निकै बढेको छ। उहाँ येवा तथा फेदाङवा (लिम्बू समुदायको पुजारी) छन्। किसानले अन्नबाली घर भित्र्याएसँगै धिसोक चासोक (पाकेका अन्नबाट पहिले न्वागी) देवतालाई चढाउनमा लिम्बूको व्यस्तता बढेको हो।

किराँत समुदायले खेतीपाती गरेको अन्नबाली घर भित्र्याएपछि अन्नको विभिन्न परिकार बनाएर पहिलोचोटी आफ्नो कूलदेवतालाई चढाउने परम्परा रहिआएको छ।

किराँत समुदायले अन्नबाली मंसिर पूर्णिमा अगाडि नै घर भित्र्याइसकेको हुन्छ। फक्ताल्ङग गाउँपालिका–६ का नेत्रप्रसाद लिम्बूले गत साता खेतबारीमा लगाएको अन्नबाली घर भित्र्याइसके। खेतबारीमा पाकेको अन्नबाली घर भित्र्याउन एक महिना लाग्यो।

कूलदेवतालाई न्वागी चढाउन भने मङ्सिरको पहिलो सातामा सप्रेका (ठूला–ठूला कोदो बाला) टिपेर चोखो पारी जाँड बनाए। उनले आज बिजुवा (पुजारी) घर बोलाएर कूलदेवतालाई चढाउने तयारीमा छन्। वर्षमा पाकेको कोदोलाई जाँड बनाएर देवतालाई न्वागी चढाउनुलाई लिम्बू समुदायमा थिसोक भनिन्छ। नेत्रप्रसाद लिम्बू एक प्रतिनिधि पात्र हो।

किराँत समुदायका प्रत्येक घरमा एक वर्ष पहिला पाकेको अन्न कुलदेवतालाई चढाएर मात्र आफूलाई अन्नको उपभोग गर्दै आएको मेरिङदेन गाउँपालिका–४ का विमना लिम्बूले बताए। मङ्सिर पूर्णिमाको दिनदेखि पहिला पाकेको बालीको विभिन्न परिकार बनाएर कूलदेवतालाई चढाउने परम्परालाई चासेका तङ्नामको रूपमा लिएको फक्ताङलुङ गाउँपालिका—६ का सन्तकुमार लिम्बूले बताए।

पर्वहरू सामाजिक सद्भाव र रीतिथिति, संस्कार, संस्कृतिका निरन्तरता हुन्। सबै चाड समय, मौसम परिवर्तन, ऋतु परिवर्तनअनुसार आफ्नै रीतिथितिबाट मान्ने प्रचलन रहिआएको छ। लिम्बू समुदाय बसोबास गर्ने पूर्वी क्षेत्र र हाल आएर विभिन्न क्षेत्रमा बसोबास गर्ने लिम्बू जातिले सामूहिक रूपमा चाडपर्व मान्दै आएका छन्।

आफ्नै  मौलिक संस्कृति र संस्कार रहेको यो जातिले विभिन्न पेशा र जीवनशैली अपनाउँदै आएका छन्। कृषिमा आधारित जीवनशैली अपनाउने यो जाति प्रकृति पूजकका रुपमा पनि रहेका छन्।

लिम्बू समुदायका चाडपर्व कृषिमा आधारित छन्। ऋतु परिवर्तन सँगसँगै खेतीपाती र जीवनयापनमा पर्ने असर र फेरबदलमा लिम्बू चाडपर्वका अर्थ जोडिएको किराँत धर्मगुरु ज्ञानु फुरुम्बो (चरपे) बताउँछन्।

के हो चासोक तङ्नाम ?

लिम्बू समुदायले महान् चाडको रूपमा मान्दै आएको चाड हो चासोक तङ्नाम। चासोक तङ्नाम (न्वागी) पूजा उद्यौली याममा बालीनाली भित्र्याउने बेलामा सम्पन्न गरिन्छ। चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ। चासोक भन्नाले उब्जाइएको फलाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङनाम भनेको पर्व (चाड) हो। मुन्धुममा चासोक पूजाको उत्पत्तिका सम्बन्धमा सविस्तार वर्णन पाइन्छ।

किराँत याक्थुङ चुम्लुङले विसं २०५९ मा  प्रकाशित गरेको किराँत चाड एक परिचय पुस्तकअनुसार कृषियुग सुरु हुनुअघि लिम्बूहरूका आदिम पुर्खा (सावा येत्हाङ)ले कन्दमूल काँचै खाएर जीवनयापन गर्थे। उहाँहरू कुपोषण र अनेक रोगब्याधीको शिकार बन्न पुगे। यी समस्या समाधानको विकल्प खोजीमा सर्वशक्तिमान तागेरानिङवाभु माङ (कूलदेवता)सँग प्रार्थना गरे।

यही प्रार्थनाले गर्दा नै उनीहरुले पेना/माङदःक(कोदो), परामा (कोदोसँग उम्रने फल्ने), ताक्मारु (घैँया), तुम्री (जुनेलो) आदि बीउबिजन तागेरानिवाभु माङले उपलब्ध गराइदिए। यसरी धान र अन्नका बीउबिजन पाएपछि लिम्बू जातिको आदिम पूर्खा सावायेहाङका चेली सिबेरा एःक्थुम्माले काठको खन्ती, अङ्कुसे आदिको प्रयोग गरी भस्मे फाँडेर(घोरीया) बीउबिजन रोपी छरी अन्न फलाउन सुरु गरे।

यसरी छरपोख गरी उब्जाएर खानुभन्दा अगाडि माङहरू(देवीदेवता)लाई चढाउने प्रचलन बसाले। मनुष्यलाई खेतीपाती सिकाउने देवीका रूपमा येत्हाङका चेला सिबेरा एःक्थुक्मा सिबोरा याभुङगेम्मा हुन् भनी लिम्बू जातिले मान्छन्। यिनै कथनअनुसार माङ (देवता)हरूलाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको मामाङ्खेका लिम्बू समुदायका पुजारी सुने लिम्बूको भनाइ छ। आफूले लगाएको बालीनाली पाकेपछि कूल देवतालाई चढाएपछि खाने र रमाउने चाडको रूपमा चासोक तङ्नाम पर्वलाई लिने गरेका लिम्बूले बताए।

आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाइ खाएमा बौलाउने, रगत छदाउने, कुञ्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने (अन्धो बनाउने), कान दुखाउने (बहिरा बनाउने)जस्ता भयावह रोगव्याधिले दुःख पाइने लिम्बू जातिमा विश्वास रहिआएको पुजारी लिम्बूले बताउनुभयो। पहाडी क्षेत्रको बारीभरि पैंयू फुलेको छ। पैँयू फुलेको समयलाई किराँत लिम्बूहरूले उधौली याम (दक्षिणायन) सुरु भएको सङ्केतको रूपमा मान्छन्।

उधौली सुरु भएपछि माछा, चराचुरुङ्गी दक्षिणतिर लाग्दछ। खासगरेर जाडो छेक्नलाई यसो गरिएको हो भन्ने गरिन्छ। यही समयमा हिमाली भागमा हिँउ पर्ने भएकाले उच्च पहाडी भाग तथा हिमाली भेगको खर्कतिर लगिएको गाईगोठ पनि तल बस्तीतिर झारिन्छ। यसलाई उधौली झारिएको भन्ने गरिन्छ। यिनै गाईगोठलाई हिउँदभरि खेतबारीमा मलजल गराई पुनः वैशाख महिनामा उकालो लगिन्छ, जसलाई उभौली भन्ने परम्परा रहिआएको लिम्बू समुदायका विज्ञ तथा त्रिभुवन विश्वविद्यालयका प्रा अमर तुम्याङहाङको भनाइ छ। देवी–देवताको आशीर्वादले उब्जाएको अन्नबाली चढाउने पूजालाई चासोक भनेर मान्ने गरेको तुम्याङहाङले बताए।

सामूहिक रूपमा मनाइन्छ चासोक तङ्नाम

पहिला घर–घरमा चासोक  थिसोक (न्वागी) पूजा गरी रमाउने लिम्बूहरूले हाल आएर सामूहिक रूपमा यसलाई महान् उत्सवका रूपमा मान्न थालेको पाइन्छ। यो पर्वमा खुसीयाली साटासाट गर्ने तथा वर्षभरि भेट नभएका आफन्तजन तथा साथीभाइसँग भेटघाटको अवसरका रूपमा लिने गरेका लिम्बू समुदायको भनाइ छ।

चासोक तङ्नामको अवसरमा ताप्लेजङका किराँत याक्थुङ चुम्लुङको आयोजनामा शुभकामना आदान–प्रदान तथा मौलिक गीत–सङ्गीतसहितको सांस्कृतिक कार्यक्रम (यालाङ, केलाङ) धान तथा च्याब्रुङ नाच गरी मनाउँदै गरेको लिम्बू समुदायको साझा संस्था किराँत याक्थुङचुल जिल्ला शाखा ताप्लेजुङका अध्यक्ष इन्दियार मेन्याङबोले बताए।

उधौली पूजालाई किराँत समुदायले मुख्य पर्वका रूपमा मान्दै आइरहेका छन्। लिम्बू, राई, याक्खा र सुनुवार गरी किराँती चार वंश रहेको मान्याङवोको भनाइ छ। उनका अनुसार किराँतको महान् चाड तथा राष्ट्रिय पर्व लिम्बूहरूले उधौलीलाई चासोक तङ्नामको रूपमा मान्छन् भने अन्य किराँत वंशका शाखामध्ये राईले उधौली साकेला, याक्खाले चासुवा र सुनुवारले फोलष्याँदरको रूपमा मान्दै आएका छन्। नेपाल सरकारले यस राष्ट्रिय चाड चासोक तङ्नाम अर्थात् मङ्सिर पूर्णिमाका दिन सार्वजनिक बिदा विसं २०५८ देखि दिँदै आएको छ।

चासोक पूजा तथा पुजिने देवी–देवता

मुख्यतः युमा, थेबा तथा थङदाङबाको पूजा गरिने भए पनि  पूजा प्रार्थनामा बिघ्नबाधा नहोस्, प्रार्थना गरेअनुरुप सफलता प्राप्त होस् भनी चासोक थिसोक पूजा गरिने लिम्बू समुदायका पुजारी सुने लिम्बूको भनाइ छ।

पुजारी लिम्बूका अनुसार मिसेक (सम्पन्न गरिन लागेको पूजाकार्य बिघ्नबाधारहित सम्पन्न होस् भनी सर्वप्रथम मिसेक्पा पूजा) कुइकुदाप वा ताक्फेङमा वा ताम्भूङना (गृहस्थी जीवनमा बिघ्नबाधा आइनपरोस् भनी मनाइने सिकारी पूजा), निम्न सिकारी वनदेवता, वनदेवी मान्ने गरिन्छ।

तक्सङबा (बिघ्नबाधा नाशक सिकारी देवता) सिरिङमा वा मुदेनहाङमा साया मुदेन, तेन्छामा (दक्षिणबाट लिम्बू भूमिमा प्रवेश गरेकी वनदेवी, खञ्जमा वा खजुमा (कहिले उत्तर कहिले दक्षिण घुमी हिँड्ने वनदेवी, वजमा) बिजुवा, येवा, येमा आदि तान्त्रिकहरूले पनि गुरु मानी उहाँहरूमा शक्ति गर्ने वनदेवीको पूजा गरिन्छ।

काप्पोबा हिम्साम्याङ (घरको रक्षा गर्ने बूढा देवता काशीहाङमा (युमा साम्याङसँग साथ लागिआएकी उनको सहयोगी देवी), युमा साम्याङ (तागेरानिङवाफुमाङ मातृशक्तिको रूपमा प्रकट भएकी लिम्बूहरूको सर्वोपरी इष्टदेवी) थबा साम्याङ (तागेरानिङवाफुमाङ पितृशक्तिको रूपमा प्रकट भएका लिम्बूहरूका आदि पुरुष देवता अर्थात् अग्रज देवता) थुङदाङबा (अन्नबाली उत्पादनमा घामपानी मिलाइ उब्जाउ गराइदिने, राखनधरन, खानपिन, कलाकौशलसमेत सिकाउने चासोक पूजामा अनिवार्यरूपमा पुजिने इष्टदेवता) सँगसँगै सिवेरा, चखोबालाई पनि पूजा गर्ने गरिन्छ।

चासोक पूजाको सामग्री र पूजाविधि

नयाँ अन्न मकै, कोदो, धान आदि पाकेपछि घरको मुली महिलाले चोखो गरी धान र कोदोको बाला टिपी ल्याउँछन्। धानको बालाबाट धान झारेपछि त्यसलाई हाँडीमा भुटी ओखलीमा कुटेर चिउरा बनाइन्छ भने नङले छोडाएको नयाँ धानको अक्षता चामल बनाइन्छ।

कोदोको बालालाई हातले माडेर गेडा निकालिन्छ। कोदोको गेडा, मर्चा र पानी मिसाएर पूजाका लागि जाँड साप्तोक बनाइन्छ। नरकट वा मालिङ्गो वा निगालो आदिको तल्लोपट्टि भुइँमा गाड्न सजिलो हुने गरी चुच्चो पार्ने र माथिपट्टि मुठारेको ढुङ्ग्रो पाँच–छ इन्च लामो बनाइ त्यसभित्र साप्तोक हाली थिः तोङ्बा बनाइन्छ।

तोङ्बा बनाउने वस्तुबाटै सिन्का बनाइ पिचिङ (पाइप) तोङ्बामा हाल्ने र यसलाई केराको पातले छोपी पिछिङले छेडेपछि पूजाको लागि तोङ्बा तयार हुन्छ।  वासो फुङ्वेत् (चिण्डो)वा लोहोटा/डबकामा वादुम्पक्वा (चोखो पानी) हाली वासाङ्ना वा लाइक्इक्सो (केराको पातलाई बेरेर बनाएको पानी छर्कने वस्तु) तयार गर्नुपर्छ।

विभिन्न प्रकारका फलफूल, सुकेको तीतेपाती र धुपीको धुलो धुप, सालधुप, अन्य सुगन्धित धुप, भेटी, चिउरा, अक्षता तयार गर्नुपर्छ। तीनदेखि छ इन्च गहिरो जमिन खनेर निक्लेको माटोले जमिन सम्याउनुपर्छ।

सम्याइएको जमिनमा पूजा गरिने विभिन्न देवीदेवताका लागि सुल्टैसुल्टो पारी केराको दुईसरो पात ओछ्याइ लासो (पूजाथान) बनाइन्छ। लासो थाप्ने तरिका कहीँकहीँ फरक–फरक पनि हुन्छ। युमा साम्माङ र थेबा साम्माङको थानमा भने माथि उल्लिखित सामग्रीका अतिरिक्त थालमाथि फुङसारी (कलश) र दियो जलाई पूजा गर्नुपर्छ।

चासोक तङ्नामले धार्मिक महत्व तथा सामाजिक महत्व बोकेको पाइन्छ। वर्ष दिन काम गर्दा, बोल्दा कसैलाई चोट पुगी गाली गर्ने, सराप्ने आदि भए÷गरेका गाली नलागोस् भनी बगाइ पठाउने अनुष्ठान गर्ने प्रचलन लिम्बू जातिमा रहिआएको छ। लिम्बू भाषामा यस अनुष्ठानलाई माङहुप वादेम्मा भनिन्छ। यसो गर्नाले श्राप बग्छ भन्ने विश्वास गरिन्छ। यो अनुष्ठान अरु समयमा गर्ने भए तापनि सामूहिक भेला भएको अवसर पारेर चासोक तङ्नाममा गरिँंदै आएको पनि पाइन्छ।

यस्तै चासोककै अवसर पारेर एकराते तङसिङ पनि गर्ने चलन बढ्न थालेको लिम्बू समुदायका पुजारी सुने लिम्बूले बताउनुभयो। तङसिङ खास गरेर लिम्बू जातिको सृष्टि तथा अन्य मानव सभ्यताका बारेमा मुन्धुमअनुसार साम्बा, विजुवाबाट मुन्धुम गाएर सम्पन्न गर्ने पुजारीको भनाइ छ। यसलाई धार्मिक महत्व मानिन्छ भने सामाजिक महत्वमा चासोक तङ्नाममा रिस, इष्र्या बिर्सेर आत्मियताका साथ लिम्बू दाजुभाइ, दिदीबहिनी भेटघाट र शुभकामना आदान–प्रदान गर्छन्।

पाहुना आउने–जाने, मीठो मसिनो विभिन्न खानपिन बनाइ खाने, सुख–दुःख साटासाट गर्दै खुसीयाली मनाउने, चेलीबेटीबाट हुक्वा, चेसुङ ल्याउने, माइत तथा ससुराली जाने अवसरका रूपमा यस पर्व मान्दै आएका छन् ।

सामूहिकरूपमा भेला भएर केलाङ, यालाङ, नाचेर, पालाम, सांस्कृतिक कार्यक्रम गरेर, साम्लो (गीत) आदि गाएर मनोरञ्जन गर्दछन्। यस्तै परम्परागत खेल पक्लुङ लेप्मा (छेलो हान्ने) खेल खेल्ने गर्छन्। यस चाडले लिम्बू जातिको पहिचान र सांस्कृतिक गौरव राख्ने काम एकातिर गरेको छ भने अर्कातिर यसले लिम्बू जातिबीच सामाजिक सद्भाव, एकता र पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्नमा भूमिका निर्वाह गरेको छ।

मंसिर २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्