‘अभावै-अभावमा राम्रो हुने आसमा कहिले सम्म बस्ने ?’ : अञ्जन 

पछिल्लो समय अखिल नेपाल फुटबल संघ (एन्फा) र सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने क्लबहरुबिच असमझदारी बढेको छ।  क्लब र एन्फाको टकरावकै कारण ‘ए’ डिभिजन लिग अन्योलमा परेपछि  खेलाडीहरु चिन्तित देखिएका छन्।

आगामी २६ पुसबाट सुरु हुने भनिएको सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि एन्फाले दिने भनेको तयारी खर्च नपाएको भन्दै ‘ए’ डिभिजन क्लबले चर्को असन्तुष्टि राखेसँगै तोकिएको मितिमा लिग नहुने खतरा बढेको छ।

अखिल नेपाल फुटबल खेलाडी संघले एन्फा र क्लबबिचको असमझदारीको कारण फेरी पनि तोकिएको समया लिग हुने नहुने अन्योलता देखिएको भन्दै आफूहरुलाई गम्भिर बनाएको बताएका थिए। उनीहरुले एक विज्ञप्ती जारी गर्दै घरेलु लिगलाई बलियो बनाउन आग्रह गर्दै तोकिएको समयमा लिग सञचालनको दबाब समेत दिएका थिए।

यहि बिच खेलाडीहरु समेत लिगमा छाएको अन्योल्ताले आफुहरुलाई स्तब्ध बनाएको बताएका छन्। नेपाली राष्ट्रिय टिमका  स्टार अञ्जन विष्टले भावनात्मक हुँदै फुटबलको मेरुदण्डको रुपमा रहेको लिगलाई चाँडो भन्दा चाँडो सुचारु गरिदिन आग्रह गरेका छन्। विष्टको भनाई जस्ताको तस्तै: 

‘सानै देखी एउटा राम्रो फुटबल खेलाडी बनी नेपालको जर्सी लगाएर देशको लागि खेल्ने सपना बोकी आफ्नो सम्पूर्ण मिहिनेत लगाएर आज यो ठाँउसम्म पुगेको छु।  यो क्रममा पढाईलाई निरन्तरता दिन सकिएन, फुटबल बाहेक अर्को केही बाच्ने आधार पनि रहेन। अहिले आफूले फुटबल खेलिरहेको हुनुपर्नेमा चुपचाप लागेर टिभीमा अरुले खेलेको हेर्ने बाहेक विकल्प छैन।

नेपालमा फुटबल हुने भनेको काठमाण्डौमा हो, पछिल्लो ५,६ वर्षमा मुस्किललेवर्ष फुटबल खेलियो होला र फुटबल खेले बापत पाउने पारिश्रमिक पनि जति खेलियो त्यतिनै हो । यस्तो स्थितिमा काठमाण्डौमा बसी आफू बाच्नु पर्यो आफ्नो परिवार पाल्नुपर्यो, अनि कसरी नेपालमा सँधै अभाव नै अभावमा, राम्रो हुने आसमा बस्न सकिन्छ, भन्नुस् त?  भर्खरै राष्ट्रिय टिममा परेका, धेरै समय देखी नेपालको लागि खेलिरहेका र ‘ए’ डिभिजन लिग खेलिरहेका मेरो भाइहरू, दाइहरू, साथीहरू विदेशिएको देख्दा असह्य पीडा महसुस भैरहेको छ। र सायद यस्ता गार्हो परिस्थितिका बिच उहाँहरु अन्तिम विकल्पको रुपमा नै विदेशिनु भएको हो, आफ्नो र आफ्नो परिवारको लागि कुनै रहरले होइन

म एन्फा र सम्पूर्ण ए डिभिजन क्लबहरू जो नेपाली फुटबलको मेरुदण्ड हुनुहुन्छ उहाँहरूलाई विशेष आग्रह गर्न चाहन्छु, अझै केही बिग्रएको छैन्, चाँडो भन्दा चाँडो तपाईँहरूबिच सहमति बनाई लिग गराइदिनुस्, तर बिन्ती कुनै बहानामा डबल लेग लिगलाई सिंगल नगर्नुहोला । जो देश फुटबलमा अगाडि छ, त्यसको एकमात्र कारण बलियो घरेलु संरचना हो र हामीलाई कम्तीमा वर्षमा ८-१० महिना फुटबल हुने वातावरण मिलाइदिनुस् म ग्यारेण्टी दिन्छु बाहिरिएका खेलाडी नेपाल आउनेछन्, नेपाली फुटबलको स्तर बढ्नेछ, राम्रो विदेशी खेलाडीलाई नेपाली लिगमा आकर्षित गर्न सकिन्छ।

नेपाली फुटबललाई कता लग्ने भन्ने कुरा तपाईँहरूको हातमा छ, आस छ एक राम्रो भिजन सहित नेपालको फुटबललाई नयाँ उचाइमा लान उचित निर्णय गर्नुहुनेछ, निरास फुटबल खेलाडी र फुटबल प्रेमीको मनमा खुशी भर्नु हुनेछ।’

मंसिर २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्