माया खोलाकाे आइपीओ आजदेखि बिक्री खुला

सांकेतिक तस्बिर।

काठमाडौँ – माया खोला हाइड्रोपावरले शुक्रबार(मंसिर २३ गते)देखिका लागि आइपीओ बिक्री खुला गरेकाे छ।

हाइड्रोपावरले आजदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ बिक्री खुला गरेको हाे।

कम्पनीका अनुसार १० लाख रुपैयाँ बराबरको १० लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री खुला गरेको हो। जसमध्ये, अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला चैनपुर नगरपालिका वडा नम्बर ८ र ९, धर्मदेवी नगरपालिका वडा नं. ३, ४ र ५ तथा मादी नगरपालिका वडा नं. ४ र ६ का स्थानीयले ६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

यस्तै, प्रभावित क्षेत्र चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका उल्लेखित वडा बाहेक अन्य वडाका स्थानीयले ४ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

यता, सर्वसाधारणमा निष्कासन हुने २४ लाख कित्ता सेयरमध्ये १०% अर्थात २ लाख ४० हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ।

यसैगरी, स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

दुवै समूहका आवेदकहरुले पुस ८ गतेसम्म आइपीओ भर्न सक्नेछन्। यद्दपि, स्थानीयका लागि भने सम्पूर्ण सेयरमा आवेदन नपरेमा पुस २४ गतेसम्म बिक्री खुला रहने कम्पनीले जानकारी गराएको छ।

प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ भर्न सकिनेछ। यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ। आयोजना प्रभावितले बिक्री प्रबन्धक र माया खोला हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यसका साथै, संखुवासभास्थित प्राइम बैंक, नेपाल एसबीआई बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक र हिमालयन बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। उता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट सी-आस्बा प्रणालीमार्फत आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

इक्रा नेपालले निष्कासनकर्ता कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम जनाउने ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ।

मंसिर २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्