चलचित्र विकास बोर्डले भन्योः सिनेमा घरमा विश्वकप फुटबल देखाए कारबाही हुन्छ

फाइल तस्बिर

काठमाडौँ – चलचित्र विकास बोर्डले सिनेमा घरहरुमा विश्वकप फुटबल देखाए कारबाही गर्ने चेतावनी दिएको छ।

केही सिनेमा घरहरुले विश्वकप फुटबल प्रतियोगिताको प्रशारण गर्न लागेको बुझिएको भन्दै बोर्डले उक्त कार्य कानुनविपरीत हुने जनाएको छ।

बोर्डका अध्यक्ष भुवन केसीले शुक्रबार सबै सिनेमा घरलाई पत्राचार गर्दै सिनेमा घरहरुमा चलचित्र प्रदर्शनको मात्रै इजाजत भएको भन्दै फुटबल देखाउन नपाइने स्पष्ट पारेका हुन्।

‘चलचित्र घरहरुले नियमित चलचित्र प्रदर्शनको शो समयजस्तै विश्वकप फुटबल प्रतियोगिताको प्रशारण गर्न लागेको बुझिएको तथा कतिपय चलचित्र घरहरुले आफ्नो वेबसाइटमार्फत शो समयसमेत खुलाएको देखिएको सन्दर्भमा यस बोर्डको ध्यानाकर्षण भएको छ,’

अध्यक्ष केसीले भनेका छन्, ‘इजाजतपत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्त बमोजिम मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ। अन्यता नियमानुसारको कारबाही भैजाने व्यहोरा जानकारी गराइन्छ।’

मंसिर २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्