आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यकः राष्ट्रपति भण्डारी

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताएकी छन्।

शुक्रबार नेपाल हस्तकला महासंघले आयोजना गरेको १९ औँ हस्तकला व्यापार मेलालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुकभित्र उपलब्ध स्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधिन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताएकी हुन्।

उनले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमै उत्पादित सामग्रीहरुको निकासीलाई प्रवर्द्धन गर्नसके मात्र मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताइन्।

राष्ट्रिपति भण्डारीले निर्यातमा आधारित हस्तकला उद्योगले मुलुकको दिगो आर्थिक विकास गर्न महत्वपूर्ण योगदान गर्नसक्ने उल्लेख गरिन्।  हस्तकला देशको सामाजिक तथा साँस्कृतिक विविधतालाई विश्वमा चिनाउने माध्यम भएकाले यसको विस्तार गर्न आवश्यक रहेको उनको भनाइ थियो।

उनले हस्तकला उद्योगलाई उत्पादनको तहसम्म पुर्‍याउन र बजार विस्तार गर्न सम्बन्धित सबैको साझा पहल आवश्यक रहेको पनि बताइन्।

राष्ट्रपति भण्डारीले हस्तकलाको माध्यमबाट नेपालको सभ्यता, कला र संस्कृतिको संरक्षणका साथै नेपालको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सकिने बताइन्।

उनले भनिन्, ‘हस्तकलाको माध्यमबाट नेपालको सभ्यता, कला र संस्कृतिको संरक्षण तथा संवर्द्धनको साथै नेपालको पहिचान र गरिमालाई अन्तराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सकिन्छ। हस्तकला उद्योगको विकास र विस्तारबाट मुलुकको विशिष्ट पहिचान गर्न सकिन्छ भने नेपालको आर्थिक सामाजिकलगायत समग्र राष्ट्रिय विकासका लागि महत्वपूर्ण योगदान पुर्‍याउन सकिन्छ।’

मंसिर २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्