मेसीको सपनामा बाधक बन्ला डच?

विश्वकपमा नेदरल्यान्ड र अर्जेन्टिना जहिले भेट्छन्, पुरानो दिन सम्झनामा आइहाल्छ। सन् १९७८ को विश्वकप जित्दा अर्जेन्टिनाले फाइनलमा नेदरल्यान्ड्सलाई नै हराएको थियो। मारियो केम्पसको प्रेरणदायी प्रदर्शनमा अर्जेन्टिना पहिलो पल्ट विश्व च्याम्पियन बन्यो।

दुई दशकपछि अर्थात १९९८ मा अर्जेन्टिनासँग नेदरल्यान्डले बदला लिँदै सेमिफाइनल प्रवेश गरेको थियो। डेनिस वर्गक्याम्पको उत्कृष्ट गोलमा अर्जेन्टिनालाई हराएर नेदरल्यान्ड्स सेमिफाइनल पुग्दा अर्जेन्टिना र डच टिमको प्रतिस्पर्धा झनै उत्कर्षतर्फ पुगेको थियो।

पछिल्लो पटक २०१४ मा अर्जेन्टिनी गोलरक्षक सर्जियो रोमेरो नायक बन्दा अर्जेन्टिनाले डच टिमको चुनौती पन्छाएर फाइनलमा स्थान बनायो। अर्थात सेमिफाइलनमा अर्जेन्टिना नेदरल्यान्डलाई स्तब्ध पार्दै विजयी बन्यो।

विश्वकपमा त्यो पनि नकआउटमा पटक–पटक भिडेका यी दुई टिमको प्रतिस्पर्धा निकै रोचक मानिन्छ। अर्को एकपटक यी दुई टिम शुक्रबार लुसेल रंगशालामा भिड्दा स्वभाविक रुपमा दुबै टिम दबाबमा हुनेछन्। दबाबको हिसाबले यो पटक अर्जेन्टिना ठूलो चुनौतीमा हुनेछ।

नेदरल्यान्ड्सले विश्वकप २०२२ मा अन्तिम आठको यात्रा तय गर्नेक्रममै अफ्रिकी च्याम्पियन सेनेगल, एसियन कप विजेता कतार र कन्काकाफ च्याम्पियन अमेरिकालाई पराजित गर्दै अघि बढेको हो। अब डच टिमको उद्देश्य दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनालाई घर पठाउनु हुनेछ।

यी दुई टिम यसअघि विश्वकपमा पाँचपल्ट भिडेका छन् । सबैभन्दा बढी चर्चा सन् १९७८ को फाइनलको हुने गर्छ। त्यसो त नेदरल्यान्ड्स आफ्नो अभागी टिमको बिल्ला हटाउने ध्याउनमा रहेको छ।

नेदरल्यान्ड्स विश्वकपको क्वाटरफाइनलमा पछिल्ला तीन खेल नै जितेको छ । उसले अर्जेन्टिनालाई पनि १९९८ को विश्वकपमा २–१ ले हराएको थियो। अर्जेन्टिनाले क्वाटरफाइनलमा ३ जित र ४ हारको नतिजा निकालेको छ।

समग्रमा ९ पटक एकअर्काविरुद्ध भिड्दा नेदरल्यान्ड्सले ४ पटक जितेको छ भने अर्जेन्टिनाले ३ पटक जितेको छ। दुई खेल बराबरीमा सकिएको छ। यी दुई टिमबीच ८ वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो।

भान हाल र डी मारिया


यो खेललाई एञ्जल डी मारिया र लुईस भान हालबीचको ‘इगो’को लडाइँका रुपमा समेत लिइएको छ। इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा प्रशिक्षक छँदा अर्जेन्टिनी विंगर एन्जेल डी मारिया क्लबमै थिए ।

तत्कालिन समयको सम्झना गर्दै डी मारियाले भान हाललाई सबैभन्दा खराब प्रशिक्षक भनेका थिए। हालले पनि आफूलाई चुप राख्न सकेनन्। उनले भने, ‘डी मारिया धेरै राम्रो खेलाडी हुन्। अझ मलाई सबैभन्दा खराब प्रशिक्षक भन्ने खेलाडीमध्ये उनी पनि हुन्।’

उनले डी मारियाले आफूलाई त्यस्तो भनेको मन नपर्ने बताएका थिए। उनले स्पष्टीकरण दिँदै भनेका थिए, ‘कहिलेकाहीँ यस्तो निर्णय गर्नुपर्छ, जुन सधैं राम्रो नहुन पनि सक्छ।’

अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनी भने निर्धारित समयमा नै नतिजा आफ्नो पक्षमा पार्ने प्रयास गर्ने बताउँछन्। उनी भन्छन्, ‘मैले पेनाल्टी सुटआउटबारे सोचेको छैन। हामी ९० मिनेटमै खेल जित्ने गरी प्रतिस्पर्धा गर्नेछौँ। खेल साँच्चिकै रोमाञ्चक हुनेछ किनकि सधैँ आक्रामक खेल्ने दुई टिमबीचको प्रतिस्पर्धा सधैँ रोचक हुने गर्छ।’

मंसिर २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्