हस्तकलाको विकास र विस्तार आवश्यकः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली हस्तकलाको विकास र विस्तार गरी हस्तकला क्षेत्रका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन्।

शुक्रबार नेपाल हस्तकला महासंघले आयोजना गरेको १९ औँ हस्तकला व्यापार मेलामा बोल्दै मन्त्री श्रेष्ठले हस्तकलाको क्षेत्रमा देखिएका समस्या समाधान गरी हस्तकलाको विकास र विस्तार गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन्।

उनले नेपाली बेरोजगार युवाहरुलाई हस्तकलाको सीप सिकाएर नेपालमा नै व्यवसाय गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए। उनले युवाहरुलाई नेपालमा नै हस्तकलाको व्यवसाय गर्ने वातावरण बनाउँदा रोजगारी मात्रै नभएर अर्बौं रुपैयाँको विदेशी मुद्रा नेपालमा भित्र्याउन सकिने बताए।

मन्त्री श्रेष्ठले हस्तकलाका सामग्री विदेशमा निर्यात हुँदा मुलुकको व्यापार घाटा न्यूनीकरण गर्नको लागि हस्तकला क्षेत्रले ठूलो योगदान गरिरहेको बताए। उनले ग्रामिण क्षेत्रका युवालाई हस्तकला सीप सिकाएर हस्तकलाका वस्तु उत्पादनमा वृद्धि गर्नेतिर ध्यान दिन आवश्यक रहेको बताए।

उनले भने, ‘नेपालबाट निर्यात हुने विभिन्न वस्तुमध्ये ठूलो माग हस्तकला क्षेत्रले ओगटेको छ। विश्वमा नेपाली हस्तकला लोकप्रिय रहेका छन्। मुलुकको व्यापार घाटा न्यूनीकरण गर्नको लागि हस्तकला क्षेत्रले ठूलो योगदान गरको छ। गत आर्थिक वर्षमा १२ अर्ब बराबरको हस्तकलाका वस्तुहरु निर्यात भएको छ। नेपाली हस्तकलाको माग विश्वका धेरै मुलुकमा रहेको छन्। युवाहरुलाई हस्तकलाको सीप सिकाएर मुलुकभित्र नै व्यवसाय गर्न प्रोत्साहन गर्ने हो भने युवाले रोजगारी मात्रै नभएर देशमा अर्बौं रुपैयाँ बराबरको विदशी मुद्रा भित्र्याउन सकिन्छ।’

मंसिर २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्