पेनाल्टी सुटआउटमा भाग्यमानी बन्दै अर्जेन्टिना सेमिफाइनलमा

कतार विश्वकप फुटबलको दोस्रो क्वाटरफाइनल पनि रोमाञ्चक बनेको छ। निर्धारित तथा अतिरिक्त समय २-२ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो। जहाँ अर्जेन्टिनाले ४-३ को जित निकाल्दै क्रोएसियासँगको सेमिफाइनल भिडन्त पक्का गर्यो।
पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका गोलरक्षक एमिलिआनो मार्टिनेजले नेदरल्यान्डका सुरुवाती दुई प्रहारलाई जोगाउँदे उत्कृष्ट प्रदर्शन गरे। निर्धारित समयमा दुई गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिनाले जितका लागि पेनाल्टी सुटआउट सम्म कुर्नु परेको थियो।
विश्वकप फुटबलको दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना विरुद्ध नेदरल्यान्डले सानदार पुनरागमन गर्दै खेल २-२ गोलको बराबरीमा ल्याएको थियो। अर्जेन्टिनाले खेलमा लिएको २-० को अग्रता जोगाउन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको हो। विश्वकप फुटबलमा यो लगातार दोस्रो खेल अतिरिक्त समयमा धकेलिएको हो।
प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले ३५ औ मिनेटमा अग्रता बनाएको थियो। लियोनेल मेसीले दिएको उत्कृष्ट पासलाई नाहुएल मोलिनले सानदार फिनिस गर्दै डच टिम विरुद्ध सुरुवाती अग्रता दिलाउन सफल भए। दोस्रो हाफमा लियोनेल मेसीको पेनाल्टी गोलमार्फत अर्जेन्टिनाले अग्रता दोब्बर बनायो।७३ औ मिनेटमा पेनाल्टीमार्फत अग्रता दोब्बर बनाएको अर्जेन्टिना त्यसपछि खेल जोगाउन नसक्दा नेदरल्यान्डले खेलमा फर्किएको थियो।
नेदरल्यान्डका लागि वउट वेघोष्टरले दुबै गोल गरेका थिए। उनले ८३ औ मिनेटमा पहिलो गोल गर्दा १० मिनेट थप गरिएको इन्जुरी समयको अन्तिम मिनेटमा पाएको फ्रिकीक बललाई जालि चुमाउँदै बराबरी गोल गरेका थिए। नेदरल्यान्डको बराबरीसँगै खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयमा पनि दुबै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो।
अर्जेन्टिनाले अब फाइनल प्रवेशका लागि साविक उपविजेता क्रोएसियासँग प्रतिस्पर्धा गर्ने छ। क्रोएसियाले पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमानै पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो।