काठमाडौँ उपत्यकामा मेट्रो चलाउनुपर्छः चिरीबाबु महर्जन

काठमाडौँ – ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले काठमाडौँ उपत्यकामा मेट्रो चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।

काठमाडौँ महानगरपालिकाको २८औँ महानगर दिवसको अवसरमा बिहीवार आयोजित कार्यक्रम उनले उपत्यकामा मेट्रो चलाउन काठमाडौँ महानगरपालिकासँग आफूहरू सहकार्य गर्न तयार रहेको स्पष्ट पारे। त्यसैगरी उनले ललितपुर महानगरपालिकामा आफूले साइकल लेन बनाएको भन्दै सो लेनलाई काठमाडौैँ महानगरपालिका हुँदै शिवपुरी डाँडोसम्म जोड्ने प्रस्ताव गरे।

उनले यसको निम्ति महानगरपालिकालाई अविलम्ब कदम चाल्न आग्रह गरे। उनले भने, ‘काठमाडौँ एउटा उपत्यका हो। यहाँ कुनै पनि पालिकाले स्वतन्त्र रुपले आफ्नै बल, बुँताले सबै पालिकामा छुने किसिमको मेघा प्रोजेक्ट गर्न गाह्रो पर्छ। काठमाडौँ महानगरपालिकालगायत काठमाडौँ उपत्यकाभित्र ५० लाखको जनसंख्या छ। ३० लाख जनसंख्या भएपछि त्यहाँ मेट्रो चलाउन सकिन्छ भन्ने अन्तर्राष्ट्रिय अध्ययनले जनाउँछ। तसर्थ अब यहाँ एककिसिमको मेट्रो अथवा र्‍यापिड बस ट्रान्जिट सिस्टमको व्यवस्थापन गर्नु अति अनिवार्य भइसकेको छ। तसर्थ यसमा म काठमाडौँ महानगरपालिकालाई विशेष अनुरोध गर्न चाहन्छु कि यसमा हामी सहकार्य गरेर अगाडि बढौँ। काठमाडौं महानगरपालिकाका प्रमुखसमक्ष एउटा प्रस्ताव राख्न चाहन्छु, मैले ललितपुरमा त बाइसाइकल लेन बनाएँ। यो वर्ष अब ३० किमि थप्न गइरहेको छु। ललितपुरबाट काठमाडौँमा पनि जोडौँ। काठमाडौँले बूढानीलकण्ठमा जोडेर शिवपुरीको टुप्पोसम्म बाइसाइकल लेन बनाएर त्यो गोदावरीको गार्डेनसम्म पुर्‍याउन पायौँ भने एकदमै राम्रो हुन्छ। यसको निमित्त गोदावरी नगरपालिकाले ललितपुर महानगरपालिकाको बोर्डरबाट बोडानिकल गार्डेनसम्म बनाउनका लागि बजेटको व्यवस्थापन गरिसकेको छ। तसर्थ यता बिलम्व नहोस् भनेर मैले सुझाव दिएँ।’

उनले सार्वजनिक खरिद ऐन २०६३ को आमुल सुधार गर्नुपर्ने बताए। सो ऐन स्थानीय पालिकाको लागि असाफसिद्ध रहेको भन्दै यसमा सुधार नभएसम्म पालिकाले काम गर्ने वातावरण नभएको उल्लेख गरे।

मंसिर २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्