कम मतले चुनाव हारेकाहरु धमाधम सर्वोच्चमा, रविबिरुद्ध दुईसहित १३ रिट दर्ता

काठमाडौँ – मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभामा चुनावको परिणामप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा १३ वटा मुद्दा दायर भएको छ। शुक्रबारसम्म सर्वोच्च प्रशासनले संवैधानिक इजलास फाँटमामा चुनावसँग सम्बन्धी १३ वटा मुद्दा दर्ता गरेको हो। अधिकांश मुद्दा कम मतान्तरले चुनाव हार्नेहरुले दायर गरेका छन्।

संविधानको धारा १३७ (२) ‘ख’ ले प्रतिनिधिसभा र प्रदेशसभासँग सम्बन्धित विवाद र उम्मेदवारका् अयोग्यताबारे सुनुवाइ गर्ने दायित्व संवैधानिक इजलासलाई दिएको छ।

दायर भएका मुद्दामध्ये २ वटा उम्मेदवारको अयोग्यतासँग सम्बन्धित छन् भने १० वटा चुनावी परिणामसँग जोडिएका छन्। एउटा मुद्दा भने समानुपातिक निर्वाचन प्रणालीमा मत खेर जाने गरी बनाएको कानुन संविधानविपरीत रहेको भन्दै परेको छ।

अधिवक्ता विकास भट्टराईले दायर गरेको रिट निवेदनमा समानुपातिकतर्फ ३ प्रतिशत मत पाउने दलले सिट कायम गर्ने प्रावधानले जनमतको अवहेलना भएको र अहिलेको चुनावमा १३ लाख मतको प्रतिनिधित्व हुन नसकेको जिकिर गरेका छन्।

आठवटा रिट प्रतिनिधिसभासँग सम्बन्धित छन् भने चारवटा प्रदेशसभाको चुनावसँग सरोकार राख्नेछन्।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको उम्मेदवार बन्न योग्यता नै नपुगेको भन्दै उनलाई शपथ ग्रहण गर्न रोक लगाउन माग गर्दै दुईवटा रिट निवेदन परेका छन्।

युवराज पौडेल (सफल)ले रवि लामिछानेले २०५० सालमा लिएको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता नलिएको दाबी गर्दै उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न नै अयोग्य रहेको दाबी गर्दै रिट निवेदन हालेका छन्।

खारेज भइसकेको नागरिकताको आधारमा दिएको उम्मेदवारीबाट जितेका लामिछानेलाई शपथ ग्रहण गर्न नै रोक लाउनुपर्ने मागदाबी पौडेलले गरेका छन्। उनले लामिछानेले अमेरिकी पासपोर्ट हुँदाहुँदै खारेज भइसकेको नागरिकताको आधारमा झुक्याएर नेपाली पासपोर्टसमेत लिएकाले त्यो कसुरमा पनि कारबाहीका लागि आदेशको माग गरेका छन्।

त्यस्तै अधिवक्ताद्धय रविराज बसौला र नाबीबाबु खत्रीले पनि लामिछानेको उम्मेदवार हुन आवश्यक पर्ने नेपाली नागरिकता नै नभएको दाबी गर्दै रिट हालेका छन्। सार्वजनिक सरोकारको क्षेत्राधिकार आकर्षित गर्दै दायर भएका दुवै रिटको प्रारम्भिक सुनुवाइका लागि पुस ६ गते संवैधानिक इजलासमा पेशी तोकिएको छ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पुनः मतदानको माग गर्दै संवैधानिक इजलासमा मुद्दा हालेका छन्। इलाम क्षेत्र नम्बर १ मा एमालेका महेश बस्नेतसँग पराजित भएका खनालले पुन मतदानको माग गर्दै गत मंगलबार सर्वोच्चमा रिट मुद्दा हालेका हुन्।

गठबन्धनका उम्मेदवारका रुपमा उनले २३ हजार ८९ मत पाउँदा एमालेका बस्नेतले २५ हजार ७५३ मत ल्याएर चुनाव जितेका छन्। खनालले केही मतदान केन्द्रमा भने पुनः मतदान हुनुपर्ने माग दाबी गरेका छन्।

त्यस्तै इलाम क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले निर्वाचित एमालेका सुवासचन्द्र नेम्वाङलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन्। मतगणनामा धाँधली गरेर नेम्वाङले चुनाव जितेको भन्दै पुनःमतगणना गर्न माग गर्दै खड्काले मुद्दा दायर गरेका हुन्।

नेम्वाङ कांग्रेसका खड्कासँग ११४ मतान्तरले विजयी भएका छन्। निर्वाचन कार्यालयका अनुसार नेम्वाङले ३० हजार २० मत प्राप्त गरेर जित हासिल गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्काले २९ हजार ९०६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

धनुषा २ मा पराजित एमाले उम्मेदवार उमाशंकर अरगरियाले पनि पुनः मतगणनाको माग गर्दै रिट मुद्दा हालेका छन्।

कांग्रेसका रामकृष्ण यादवले २० हजार ११२ मत प्राप्त गर्दा अरगरियाले १९ हजार ९५५ मत पाए। यादव र अरगरियाबीच १५७ मतको फरक छ।

धनुषा ४ मा एमालेका रघुवीर महासेठसँग झिनो मतले पराजित भएका कांग्रेसका महेन्द्र यादवले पनि पुनःमतगणनाको माग गर्दै मुद्दा हालेका छन्। जम्मा १२४ मतले पराजित भएका यादवले ३२ हजार ११२ मत पाएका छन् भने जित्ने महासेठले ३२ हजार २३६ प्राप्त गरे।

त्यसैगरी पर्सा ३ मा निक्कै कम मतले पराजित भएका कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले पनि पुनःमतगणनाको माग गर्दै रिट हालेका छन्। एमालेका राजकुमार गुप्ताले जम्मा १६७ मतले मात्रै जितेका छन्।

रुपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका गणेश पौडेलले पनि पुनःमतगणनाको माग गरेका छन्। त्यहाँ एमालेका उपाध्यक्ष विष्णु पौडेल २७ हजार १६५ मतले निर्वाचित हुँदा उनले २५ हजार ७९५ मत ल्याएका छन्। सवैधानिक इजलासमा पौडेलले दिएको रिटमा मतगणनाका क्रममा धाँधली भएको जिकिर गरेका छन्।

प्रदेशसभाको परिणामविरुद्ध परेका रिट

धनुषा १ (१) मा जम्मा ६ मतले चुनाव हारेका जसपाका सुकेश्वर यादव पनि पुनःमतगणनाको माग गर्दै सर्वोच्च पुगेका छन्। कांग्रेसका संजयकुमार महतोले १० हजार ९५५ मत ल्याएर जित्दा उनले १० हजार ९४९ मात्रै मत पाएका छन्। उनले पुनःमतगणना भए आफूले जित्ने जिकिर गरेका छन्।

कपिलवस्तु ३ (१) मा ६ मतले चुनाव हारेका लोसपाका रविदक्त मिश्राले पनि पुनःमतगणनाको माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका छन्। उनले ११ हजार ७३७ मत पाउँदा एमालेका अजुनकुमार केसीले ११ हजार ७४३ मत पाएका छन्।

त्यस्तै ४८ मतले मात्रै चुनाव हारेका सप्तरी ३ (२)का जसपा उम्मेदवार विदेश्वर प्रसाद यादवले पनि पुनःमतगणना माग गरेका छन्। उनले १० हजार ८१४ मत पाएर जित्दा जनमत पार्टीका शम्भुकुमार साहले १० हजार ८६२ मत पाएका छन्। दुई जनाबीच ४८ मतको मात्रै फरक देखिन्छ।

त्यस्तै सुर्खेत २ (१)मा १६१ मतले पराजित भएका कांग्रेसका कालिप्रसाद शाक्यले पनि सर्वोच्चमा मुद्दा हालेका छन्। उनले पुनःमतणना भए आफूले न्याय पाउने र जनमतको समेत सम्मान हुने जिकिर गरेका छन्। शाक्यले १८ हजार ४ सय मत पाउँदा एमालेका यामलाल कँडेलले १८ हजार ५६१ मत पाएका छन्।

पुस १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्