वायु प्रदूषण र जनस्वास्थ्य

बाहिरी संसार नदेख्दै जीवनको अन्त्य, कारक मसिना धुलोका कण

बाहिरी संसार नदेख्दै जीवनको अन्त्य, कारक मसिना धुलोका कण
+
-

काठमाडौँ- हिउँद सुरु भएपछि विशेषगरी काठमाडौँ उपत्यकामा पछिल्ला केही वर्षदेखि प्रमुख समस्याका रूपमा देखिँदै आएको र चर्चा हुने विषय बनेको छ- वायु प्रदूषण। यो वर्षको मनसुन सकिएपछि पानी खासै परेको छैन।

बेलाबेलामा आकाश धुमिल भएको छ। वायु प्रदूषण खतरा तथा जोखिमको तहसम्म पुगेको पनि छ। चासो र चिन्ता पनि व्यक्त नभएकाे हाेइन, तर समस्या समाधानका लागि प्रभावकारी प्रयास भएको चाहिँ छैन।

यसैबीचमा पछिल्लो केही हप्तामा दुई महत्त्वपूर्ण प्रतिवेदन सार्वजनिक भए। जुन प्रतिवेदनकाे केन्द्र वायु प्रदूषण र जनस्वास्थ्यमा पारेको प्रभाव तथा त्यसको आर्थिक सामाजिक क्षति रहेको छ।

विश्व बैंकले हालै (डिसेम्बर १४ अर्थात् मंसिर २८ गते) सार्वजनिक गरेको स्टारभिंग फर क्लिन एअर (स्वच्छ हावाका लागि व्याकुल) प्रतिवेदनमा नेपालसहित दक्षिण एसियाली देशमा वायु प्रदूषणका कारण सार्वजनिक स्वास्थ्यमा परेको गम्भीर प्रभाव र त्यसले गरेको आर्थिक सामाजिक क्षतिको भयावह तस्बिर प्रस्तुत गरिएको छ। सो प्रतिवेदनमा प्रदूषणको समस्या समाधानका लागि क्षेत्रीय सहकार्यको खाँचो उल्लेख गरिएको छ।

यस्तै, गत नोभेम्बर अन्तिममा नेपालसहित विश्वका १३७ देशमा गरिएको अध्ययनको प्रतिवेदन सार्वजनिक भएको थियो। जसमा वायु प्रदूषणको गम्भीर प्रभाव जन्म लिएका वा पाको उमेरमा पुगेका मानिसमा मात्रै होइन, आमाको गर्भमै रहेका शिशुहरूमा पनि हुने उल्लेख छ।

नेचर जर्नलमा प्रकाशित सो अनुसन्धान प्रतिवेदनले वायु प्रदूषणको प्रमुख तत्व वा कारक वायुमण्डलमा रहने धुलोका मसिना कण अर्थात् पिएम २.५ र मृत शिशु जन्मनुमा त्यसको भूमिकाबारे बताएको छ।

वायु प्रदूषण र मृत शिशु जन्मनुको सम्बन्धबारे भएको याे विश्वको पहिलो विस्तारित अध्ययन हो। त्यसअनुसार विश्वभर वर्ष दिनमा करिब १० लाख मृत शिशु जन्मनुमा वायु प्रदूषण अर्थात् त्यसमा पनि पिएम २.५ को भूमिका हुने देखिएको हो।

वायुमण्डलमा धुलोका मसिना कण अर्थात् पिएम २.५ को मात्रालाई आधारमा मानेर वायु प्रदूषणको अवस्था निर्धारण गर्ने गरिएको छ। पिएम २.५ भनेको हावामा हुने २.५ माइक्रोमिटर व्यासका मसिना धुलोका कण हुन्, यी ठोस तथा रसायनको मिश्रित रूप हो।

विशेषगरी पेट्रोल, डिजेल, तेल तथा काठ दाउरासहित बाल्दा निस्कन्छन्। पिएम २.५ निकै मसिनो हुने हुँदा यो हानीकारक कण शरीरमा प्रवेश गरेर फोक्सोलाई गम्भीर रूपमा असर गर्न सक्ने र त्यसले स्वास्थ्यमा असर पर्ने हुन सक्छ।

बाहिरी संसार नदेख्दै जीवनको अन्त्य

आमाको शरीर हुँदै गर्भमा रहेको शिशुमा प्रदूषित वायु पुग्ने र त्यसले गम्भीर असर गर्नसक्ने सन् २०१८ मा भएको एक अध्ययनले उल्लेख गरिएको थियो। त्यसबेला लण्डनमा बस्दै आएकी एक महिलाका शिशुको नालमा (प्लेसेन्टा) मा कालो पदार्थ भेटिएको थियो। गत अध्ययनमा वैज्ञानिकहरूले प्रदूषित वायु हुँदै आमाको शरीरमा प्रवेश गरेको हानीकारक धुलोको कण गर्भमा रहेका शिशु र भ्रूणमै पनि गएको हुन सक्ने सम्भावना बढी रहेको उल्लेख गरेका थिए।

गएको अक्टोबरमा सार्वजनिक भएको अर्को अध्ययन प्रतिवेदनमा हानीकारक धुलोको कारण गर्भमा रहेको शिशुको फोक्सो र मस्तिष्कमा पनि भेटिएको उल्लेख थियो।

हाल विश्वका १३७ देशमा धुलोको मसिना कणले गर्भमा रहेको शिशुमा पर्ने प्रभावबारेको विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक भएको हो। वर्षभरमा विश्वका १३७ देशमा मृत शिशु जन्मनुमा कम्तीमा आधामा धुलोको मसिनो कणको भूमिका देखिएको छ। अर्थात् उनीहरूले बाहिरी संसार देख्न नपाउँदै जीवनको अन्त्य हुनुमा पिएम २.५ कारक हुन सक्ने देखिएको हाल प्रकाशित भएको अध्ययनमा उल्लेख छ।

यसअघि भएका अध्ययनहरूले मृत शिशु जन्मिन सक्ने, गर्भ तुहिन सक्ने, समय नपुगी शिशु जन्मिन सक्ने वा कम तौल भएको शिशु जन्मिन सक्ने जोखिम वायु प्रदूषणका कारण हुने बताएका थिए। तर भ्रूणमा नै यसले असर गर्ने र मृत शिशु जन्मिनुमा पिएम २.५ को भूमिकाका सम्बन्धमा विस्तारमा यसअघि अनुसन्धान भएको थिएन।

वैज्ञानिकहरूले विश्वभर कुल मृत शिशु जन्मिएकामध्ये ९८ प्रतिशतभन्दा बढी अंक ओगट्ने एसिया, अफ्रिका र दक्षिण अमेरिकाका १३७ देशमा अध्ययन गर्दा आधामा वायु प्रदूषणको भूमिका देखिएको बताएका हुन्।

दक्षिण एसियाका भारत, पाकिस्तानसहितका न्युन तथा मध्यम आय भएका ५४ देशका १३ हजार ८७० आमाहरूको सन् १९९८ देखि २०१६ सम्मको गर्भावस्था र उनीहरूबाट जन्मिएका (मृत वा जीवित) ४६ हजार ३१९ शिशुको अध्ययन गरेर प्रदूषणको सम्बन्धबारे निष्कर्ष निकालेका हुन्।

सो निष्कर्ष न्यून तथा मध्यम आएक भएका विश्वका १३७ देशमा मृत शिशु जन्ममा वायु प्रदूषणको भूमिका आँकलन गर्न प्रयोग भएको हो। अध्ययनमा ढिलागरी आमा बन्नेहरूमा समस्या बढी देखिएको र वायु प्रदूषणले अवस्था थप खराब बनाएको उल्लेख छ।

अध्ययन भएका देशहरूमा सन् २०१५ मा २० लाख ९० हजार मृत शिशु जन्मिएका थिए, त्यसमध्ये ९ लाख ५० हजार मृत शिशु जन्मनुमा पिएम २.५ को सम्बन्ध देखिएको जनाइएको छ।

वायुमा हुने २.५ माइक्रो मिटर वा त्यो भन्दा पनि साना अर्थात निकै मसिना धुलोका कणलाई पिएम २.५ भन्ने गरिन्छ। यस्ता कणहरू सजिलै मानिसको शरीरमा प्रवेश गर्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार वायुमा पिएम २.५ को मात्रा औसतमा (वार्षिक) पाँच माइक्रोग्राम प्रति घनमिटरभन्दा माथि हुन स्वास्थ्यका लागि हानिकारक मानिन्छ।

सन् २०२१ सम्म डब्लुएचओको निर्देशिकामा १० माइक्रोग्राम प्रति घनमिटर थियो। अध्ययनमा सामेल भएका ९९ प्रतिशत आमाहरू प्रदूषित वायुको सम्पर्कमा आएका थिए।

वायु प्रदूषण नियन्त्रण गर्न सकिएमा मृत शिशु जन्मिने दर कम गर्न सकिने सम्भावना रहेको प्रमुख अनुसन्धानकर्ता डा. ताओ सुए (पेकिंग विश्वविद्यालय, चीन) ले बताएका छन्। सन् २०१० मा विश्वमा २३ लाख भन्दा बढी मृत शिशु जन्मिएकोमा सन् २०१९ मा १९ लाख ३० हजारमा रहेको थियो।

यस्तो हुनुमा विभिन्न देशमा वायु प्रदूषण सुधारका लागि भएका प्रयास कारक हुन सक्ने भन्दै उनले प्रदूषण नियन्त्रणका लागि थप काम गर्न सकिएमा शिशुको ज्यान जोगाउन सकिने उल्लेख गरे।

नेपालसहितका दक्षिण एसियाली देशमा वायु प्रदूषण भयावह बन्दै जाँदा त्यसको असर गर्भमा रहेका शिशुमा गम्भीर रूपमा पर्न सक्ने चेतावनीका रूपमा प्रतिवेदनलाई लिइएको छ।

वार्षिक २० लाख मानिसको मृत्युको कारक वायु प्रदूषण

नेचरमा प्रकाशित प्रतिवेदनले वायु प्रदूषणका कारण भ्रूणसम्मै जोखिममा पर्ने बताएको केही हप्तापछि प्रकाशित भएको विश्व बैंकको प्रतिवेदनमा मानव स्वास्थ्यमा प्रदूषणको प्रभाव घातक रहेको उल्लेख गरिएको छ।

विश्व बैंकको प्रतिवेदनमा दक्षिण एसियामा वायु प्रदूषण अति खराब रहेका विश्वका १० शहर मध्ये ९ शहर पर्ने उल्लेख छ। काठमाडौँसहितका यी प्रदूषित सहरमा वायु प्रदूषणका कारण हरेक वर्ष करिब २० लाख मानिसको मृत्यु हुने गरेको छ। त्यसको आर्थिक क्षति पनि ठूलो हुने प्रतिवेदनमा उल्लेख गरिएको छ।

मानवीय क्षति र त्यसले निम्त्याउने आर्थिक सामाजिक नोक्सानी कम गर्ने उपाय रहेको तर त्यसका लागि स्वच्छ वायु अनिवार्य रहेको जनाइएको छ। ‘आर्थिक रूपमा स्वच्छ वायुको विकल्प प्राप्त गर्न सकिन्छ तर त्यसका लागि यो क्षेत्रका देशहरुले नीतिगत र लगानीका क्षेत्रमा सहकार्य गर्नुपर्छ’, प्रतिवेदनमा भनिएको छ।

जनघनत्व अत्यधिक भएका दक्षिण एसियाका सहर, त्यसमा पनि गरिबको बसोबास रहेको क्षेत्रको वायुमण्डलमा मसिना धुलोका कण (पिएम २.५) विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड (पाँच माइक्रोग्राम प्रति घनमिटर) भन्दा २० गुणासम्म बढी रहेको पाइएको छ।

विश्वमा ठूलो उद्योग, ऊर्जा केन्द्र र सवारी साधन वायु प्रदूषणको प्रमुख कारक रहेका छन्। तर दक्षिण एसियामा भने कृषि उपजका नल तथा पराल जलाउँदा निस्कने धुवाँ, स्थानीय इट्टा उद्योगहरू, साना उद्योगबाट हुने उत्सर्जन, खाना पकाउन प्रयोग हुने खनिज इन्धन तथा घाटमा शव जलाउँदा निस्कने धुवाँले वायु प्रदूषणका लागि थप योगदान गर्ने गरेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ।

विश्व बैंकका दक्षिण एसिया उपाध्यक्ष मार्टिन राइसरले भनेका छन्, ‘वायु प्रदूषणको लगातार खतरनाक स्तरले दक्षिण एसियामा ठूलो जनस्वास्थ्य संकट निम्त्याएको छ जसले तत्काल कदम चाल्न माग गर्दछ।’

वायुको गुणस्तर अन्तरसम्बन्धित रहेको भन्दै उनले भौगोलिक तथा राजनीतिक सीमा नाघेर नीतिगत र लगानीका क्षेत्रमा क्षेत्रीय सहकार्य गर्नु पर्ने बताएका छन्। अहिले भएका नीतिहरू पूर्ण रूपमा कार्यान्वयन नभएका कारण वायु प्रदूषण कम गर्न सफल नभएको भन्दै सहकार्य गरेर सामूहिक नीतिगत व्यवस्था गरी लगानी बढाउनु पर्ने प्रतिवेदनमा उल्लेख छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?