फर्जी विद्यार्थी, नगद दुरूपयोग

विद्यार्थीलाई दिवा खाजा कार्यक्रममा बेथिति

विद्यालयमा विद्यार्थी आकर्षित गर्न प्रारम्भिक बालविकासदेखि कक्षा ५ कक्षासम्म सरकारले दिवा खाजा कार्यक्रम लागू गरेको छ। तर, व्यवहारमा अधिकांश विद्यालयका विद्यार्थीले दिवा खाजा पाएका छैनन्। दिवा खाजाको सट्टा अभिभावकलाई नगद पनि वितरण गर्ने गरिएको छ। सो रकम पनि दुरूपयोग भएको पाइएको छ। कतिपय विद्यालयमा फर्जी विद्यार्थी तयार पारेर रकम हिनामिना गरिएको छ।

दिवा खाजा कार्यक्रमको कानुनी व्यवस्था

बालबालिकाको वृद्धि र विकासका लागि खाना अनिवार्य तत्व हो। पोषणयुक्त खाना खाए मात्र स्वस्थ जीवन सुुरु हुन्छ। विद्यालयमा आएका बालबालिकालाई पोषणयुक्त खाजा व्यवस्था गर्न प्रारम्भिक बालविकासदेखि कक्षा पाँचसम्म अध्ययनरत विद्यार्थीका लागि नेपाल सरकारले बजेटको व्यवस्था लामो समयदेखि गर्दै आएको छ। यस वर्षबाट कक्षा ६ लाई पनि दिने कार्यक्रम सरकारले बजेटमा ल्याएको छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्रबाट स्थानीय तहलाई दिवा खाजा कार्यक्रमको रकम ससर्त अनुदानका रूपमा निकासा आउने गर्छ। दिवा खाजा व्यवस्थापनका लागि संघीय, प्रदेश, स्थानीय तह, विद्यालय अभिभावकलगायत सबै पक्षको समन्वय र सहयोग आवश्यक पर्छ।

यसका लागि विद्यालय दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिका २०७७ ले प्रतिदिन आवश्यक पोषणयुक्त तत्व भएका खानेकुरा व्यवस्था गर्नुपर्ने उल्लेख छ। यसमा क्यालोरी, प्रोटिन, बोसो, आयोडिन, आइरन, जिंक र भिटामिन ए गरी सात प्रकारका पोषणयुक्त तत्वको मात्रा मिलाउनुुपर्ने उल्लेख छ। ६ किसिमका मेनुुसमेत तयार पारेर कुन–कुन अन्न फलफूल, तेल प्रयोग गर्ने र त्यसको कति मात्रा प्रयोग गर्ने भन्ने स्पष्ट व्यवस्था गरिएको छ।

पहिले विश्व खाद्य कार्यक्रममा विद्यालयमा काम गरेबापत केही खाने सामग्री उपलब्ध गराउने गरेको थियो। नेपाल सरकारले पनि दिवा खाजा कार्यक्रम लागू गरेको धेरै वर्ष भइसकेको छ। ०६५।६६ बाट देशभर यो लागू भएको हो। देशका अन्य जिल्लामा दैनिक १५ रुपैयाँ प्रतिविद्यार्थी र साविक कर्णालीका हुम्ला, जुम्ला, मुुगुु, डोल्पा र कालिकोट जिल्लाका लागि दैनिक प्रतिविद्यार्थी बीस रुपैयाँका दरले रकम विद्यालयलाई उपलब्ध हुने गरेको छ। वर्षमा एक जना विद्यार्थीलाई १८० दिन बराबरको रकम विद्यालयमा आउने गर्छ। यसअघि कक्षा पाँचसम्म मात्र भए पनि सरकारले चालुु वर्षबाट यो कार्यक्रमबाट बालविकासदेखि कक्षा ६ सम्मका सबै विद्यार्थीलाई दिवा खाजा खवाउनुुपर्ने गरी बजेट व्यवस्था गरेको छ। सहयोगी पुस्तिकामा यो कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने स्पष्ट व्यवस्था गरिएको हो। जसमा नगद दिन पाइने व्यवस्था कतै गरिएको देखिँदैन। तर, हिमाली जिल्ला हुम्लाका अधिकांश विद्यालयमा कार्यक्रमको लक्ष्य र उद्देश्यविपरीत यो कार्यक्रम सञ्चालन हुँदै आएको छ। दिवा खाजा कार्यक्रमले आफ्नो मापदण्ड बनाएर विद्यार्थीलाई खाजा खुवाउनुुपर्ने हुन्छ। जसमा पौष्टिक हिसाबले पनि हरेक क्यालोरी मिलाउनुपर्ने हुन्छ। तर विद्यालयले विद्यार्थीलाई खाजा खुवाउनु भन्दा सहयोगी पुस्तिकाविपरीत नगदै दामासाहीे हातमा वितरण गरिन्छ।

हुम्लामा विद्यालय र विद्यार्थी संख्या

शिक्षा विकास तथा समन्वय एकाइका अनुुसार जिल्लाभरि १५१ वटा सामुुदायिक विद्यालय छन्। यो संख्या मावि, आधारभूत (एकदेखि आठ) र आधारभूत तह (एकदेखि पाँच) सम्म हो। जसमा मावि तहका विद्यालय २७ वटा छन् भने आधारभूत तह (एक देखि आठ) ३१ र आधारभूत तह (एकदेखि पाँचसम्म) ९३ वटा विद्यालय छन्।

यसरी हेर्दा गाउँपालिकाअनुुसार पनि विद्यालय संख्यालाई हेर्ने हो भने नाम्खा गाउँपालिका १७, सिमकोटमा २३, खार्पुनाथ १७, सर्केगार्डमा २६, चंखेलीमा २५, अदानचुलीमा १६ र ताँजाकोट गाउँपालिकामा १७ वटा विद्यालय छन्। सो गाउँपालिकामा एउटा विद्यलायको रेकर्ड अद्यावधिक भएको छैन। यसबाहेक जिल्लाभरि बालविकासको संख्या १४६ छ। यसमा निजी विद्यालयको संख्या जोडिएको छैन। एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणालीमा प्रविष्ट भएका हुुम्लामा बालविकासदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीको संख्या २३ हजार ९६१ छ। यो विद्यार्थी संख्या बाल विकासदेखि कक्षा १२ सम्मको हो। उक्त सूचना प्रणालीमा केही विद्यार्थी संख्या बढी भएको हुन सक्ने आशंका एकाइको छ। विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या दक्षिणी क्षेत्रमा बढी छ भने उत्तरी क्षेत्र कम देखिन्छ। यद्यपि, उत्तरी क्षेत्रमा परेर पनि सिमकोट गाउँपालिकाका विद्यालयमा भने विद्यार्थी संख्या बढी नै छन्।

दिवा खाजा कार्यक्रमका लागि कति छन् विद्यार्थी

जिल्लाका सात वटै गाउँपालिकामा खाजा कार्यक्रमबाट लाभान्वित हुने विद्यार्थीमा गाउँपालिकाअनुुसार सिमकोटमा तीन हजार पाँच सय, खार्पुनाथमा दुुई हजार दुुई, सर्केगार्डमा तीन हजार ७९०, अदानचुलीमा चार हजार ७१८, ताँजाकोटमा एक हजार ९१५ जना विद्यार्थी छन्। त्यसैगरी, नाम्खा गाउँपालिकामा एक हजार र चंखेली गाउँपालिकामा दुुई हजार ३२६ जना विद्यार्थी छन्। यसरी हेर्दा जिल्लामा खाजा कार्यक्रमबाट लाभान्वित हुने विद्यार्थीको संख्या १९ हजार २५१ छ।। यो संख्या बालविकासदेखि कक्षा ६ सम्मको हो। यसमा छात्राको संख्या छात्रको भन्दा बढी छ। जसमा दश हजार २३६ जना छात्रा र नौ हजार १५ जना छात्र छन्।

कति आउँछ बजेट

खाजा कार्यक्रमका लागि चालुु वर्षमा नाम्खा गाउँपालिकामा २६ लाख, सिमकोटमा ८५ लाख १० हजार, खार्पुनाथमा ७२ लाख २२ हजार, सर्केगार्ड गाउँपालिकाको लागि एक करोड २६ लाख, चंखेलीमा ७८ लाख, अदानचुलीमा एक करोड ४२ लाख र ताँजाकोट गाउँपालिकाका लागि ६७ लाख ८९ हजार बजेट आउने गर्छ। सबै गाउँपालिकाको बजेट जोड्दा जम्मा पाँच करोड ९७ लाख २१ हजार हुुन्छ। यो बजेट कार्यक्रमबाट गाउँपालिकामा र गाउँपालिकाबाट विद्यालयको खातामा निकासा जाने गर्छ। विद्यालयले कुनैले वर्षमा दुुई पटक त कुनैले वर्षमा एक पटक मात्र बितरण गर्ने गर्छन्। दुुई वर्षयता भने गाउँपालिकाले वर्षमा दुुई पटक यो शीर्षकको बजेट निकासा दिने गर्छन्।

वास्तविक विद्यार्थी संख्याभन्दा बढी विवरण पेस

एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणालीमा विद्यार्थी संख्या प्रविष्ट गराउनुपर्ने व्यवस्था छ। तर, त्यसमा पनि विद्यालयले वास्तविक विद्यार्थी संख्याभन्दा बढी विवरण पेस गरेको पाइएको छ।

सिमकोट गाउँपालिका शिक्षा शाखाका नायब सुब्बा कृष्णप्रसाद आचार्यले अहिले पनि प्रत्येक विद्यालयमा पाँचदेखि २५ जनासम्म विद्यार्थीको संख्या बढी भएको बताए। यो संख्या सूचना प्रणालीमा प्रविष्ट गर्नुभन्दा पहिले त झन् धेरै हुने गथ्र्याे। उनले बास्तविक विद्यालय पहिचान गर्ने कार्यको सुुरुवात भए पनि पूर्णरूपमा त्यो गर्न नसकिएको स्विकारे। विद्यालयले खाजा कार्यक्रमका लागि विद्यालयमा भएका वास्तविक विद्यार्थीसंख्या भन्दा फर्जी विद्यार्थी संख्या पेस हुने गरेको छ। नयाँ सूचना प्रणालीमा विद्यार्थी संख्या प्रविष्ट हुन थालेपछि घटेको भए पनि पूर्णरूपमा वास्तविक विद्यार्थी संख्या प्रविष्ट हुन सकेको छैन। आचार्यका अनुसार शाखामा जनशक्ति कमी भएका कारण अनुुगमन गर्न सहज छैन। जसले गर्दा विद्यालयले पेस गर्ने विवरणलाई नै आधार मान्नुुपर्ने बाध्यता छ

कहिले पर्छ विद्यार्थीको हातमा नगद

नियमअनुुसार खाजा कार्यक्रम सञ्चालन भएको भए महिनैपिच्छे विद्यार्थीले खाजा खानुुपर्ने हो। तर, नगदै दिने भएको कारण त्यो सम्भव छैन अधिकांश विद्यालयले वर्षको एक पटक त्यो पनि आर्थिक वर्ष सम्पन्न भए पनि नयाँ आर्थिक वर्षको साउन–भदौमा पाउने गर्छन्। तर गाउँपालिकाबाट भने दुुई किस्तामा निकासा जाने गरेको छ। विद्यालयले भने एक पटक मात्र सो रकम विद्यार्थीलाई थमाउने गर्छन्। यसरी खाजाको नाममा विद्यार्थीले पाउने रकम नगद दिँदा पनि तोकिएको दर तीन हजार ६ सय रुपैयाँ पाउने गरेका छैनन्। सिमकोट गाउँपालिका– ३ को रलिङ माध्यमिक विद्यालयमा कक्षा पाँचमा अध्ययनरत विद्यार्थी जगत बोहराले दुुई हजार आठ सयभन्दा बढी कहिल्यै नपाएको बताए।

उनले हालसम्म पाँच वर्ष यो सुविधा लिइसकेका छन्। आफू विद्यालयमा अनुपस्थित दिन नभएको भए पनि कहिल्यै तोकिएको रकम नपाएको उनको भनाइ छ।

खाजा कार्यक्रम कसरी व्यवस्था हुँदै छ

नियमतः दिवा खाजा कार्यक्रम स्थानीय उत्पादनका अन्नपातबाट खाजा तयारी गर्नुपर्ने हो। मकै, लिमी, केराउ, भटमास, गहुँको पिठोबाट खाजाको परिकार बनाएर खुवाउन सकिने जानकारहरू बताउँछन्।

खुवाउने कामसमेत नगरेर जिल्लाका अधिकांश विद्यालयले खाजाको बजेटलाई, त्यो पनि नगद वितरण गर्ने गरिँदै आएको छ। सिमकोट गाउँपालिका– २ ठेहे गाउँको पञ्चमुखी आधारभूत विद्यालयका शिक्षक लक्षमण बोहराले विगतदेखि नै खाजाको सट्टा नगद दिने गरिएको बताए।

उनले विद्यार्थीले जम्मा १८० दिनको दैनिक २० रुपैयाँका दरले तीन हजार ६ सय पाउनुुपर्नेमा त्यसमा विद्यालयमा अनुपस्थित दिनको घटाएर दिने गरिएको र बाँकी बचेको नगद विद्यालयले नै राख्ने गरेको जनाए। नाम्खा गाउँपालिका–५ को खासार पानी आविको कक्षा ६ मा अध्ययनरत छात्र प्रेम लामाले हालसम्म खाजा खान नपाएको बताए। बरु उनले आर्थिक वर्षको अन्त्यमा दुुई हजार ६ सयसम्म नगद पाउने गरेको बताए। यस वर्षको भने कुुनै पनि विद्यार्थीले पाएका छैनन। रलिङ्ग मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बल भण्डारीले दिवा खाजाको रकम विद्यार्थीलाई दामासायी रूपमा वितरण गर्ने गरेको स्वीकार्दै खाजा कुवाउन पनि समस्या भएको बताए।

खाजाको रकमबाट शिक्षक भर्ना

लक्ष्यअनुुसार खाजाका लागि आएको बजेटबाट विद्यार्थीलाई पोषण तत्वयुक्त खानेकुरा खुवाउनुपर्नेमा सो कार्य नगरी शिक्षकको बजेटबाट शिक्षक नियुक्ति गरेर उसको पारिश्रमिकमा पनि खर्च गर्ने गरेको पाइएको छ। सिमकोट गाउँपालिका– ८ को याङ्गुु गाउँको बलभद्र प्राविले विद्यालय व्यवस्थापन समिति र अभिभावक संघबाट निर्णय गरेरै खाजाको बजेटबाट शिक्षक भर्ना गरेको छ। यो क्रम २०७३ सालबाट जारी छ।

प्रधानाध्यापक प्रेमकला बुुढाले खाजाको रकमबाट शिक्षक भर्ना गरिएको स्विकार्दै परिस्थितिले यस्तो गर्नुपरेको बताइन्। विद्यालयमा विद्यार्थी संख्या बढी दरवन्दी कम भएपछि थप शिक्षकको व्यवस्था गर्न अन्य उपाय नलागेपछि यो उपाय नै अन्तिम भएको उनको भनाइ छ।

उक्त विद्यालयले मासिक १६ हजार पारिश्रमिक दिने गरी शिक्षक भर्ना गरेको छ। बलभद्र यस्तो काम गर्ने उदाहरण हो। जिल्ला दक्षिणी क्षेत्रका विद्यालयमा यस्तो समस्या पनि रहेको छ। ताँजाकोट गाउँपालिका शिक्षा शाखाका प्रमुख जयरुद्ध ढकालले केही विद्यालयमा शिक्षक दरबन्दी नहुनुु, विद्यार्थी संख्या बढी भएको कारण शिक्षकको व्यवस्था गर्न खाजालगायत अन्य शीर्षकमा विद्यालयमा आउने बजेट खर्च गर्नु सामान्यजस्तै भएको बताए।

पछिल्ला वर्षमा भने गाउँपालिकाले विद्यालयलाई अनुदान बजेट दिने भएको कारण खाजाजस्ता शीर्षकको बजेट अन्यत्र खर्च गर्ने चलनमा कमी आएको ढकालको भनाइ छ।

नगद बाँड्दा दुरूपयोग

खाजा कार्यक्रमको बजेट विद्यालयले नगदै बाँड्दा त्यसको दुुरूपयोग भएको पनि पाइएको छ। कतिपय विद्यालयले नगद रकम बाँड्दा विद्यार्थीको हातमा नभई अभिभावकलाई बुुझाउने गरेका छन्। हुम्लाका मानवअधिकारकर्मी नन्दकुमार सिंहले अभिभावकको हातमा नगद दिँदा उनले रक्सी खाने र जुवा खेल्ने गरेको पाइएको बताए। सिंह दिवा खाजा कार्यक्रमबाट विद्यार्थीलाई खाजा नै खुवाउनुुपर्ने बताउँछन्। हुम्ला माविको कक्षा पाँचमा अध्ययनरत छात्र वीरेन्द्र बुढाले आफ्नो खाजाको रकम दाइले बुुझेर अन्यत्रै खर्च गरेको जानकारी दिए।

खाजा खुवाउने विद्यालय पनि समस्यामा

जिल्लामा यो कार्यक्रमबाट विद्यार्थीलाई खाजा खवाउने विद्यालय पनि केही संख्यामा छन्। तर, उनीहरूले जसोतसो खाजा खवाउने गरिएको जनाएका छन्। बालविकास आवि हिल्दुुमका प्रअ जयदेवी शाहीले विद्यार्थी पनि थोरै भएको कारण खाजा खुवाउने कार्य सम्भव भएको बताइन्। तर, यसको उपयोगिता र लक्ष्यअनुुसार भने खाजा खुवाउन नसकिएको उनको भनाइ छ। न्यून बजेट तर महँगीले गर्दा भएकै बजेटबाट खाजाको व्यवस्था उक्त विद्यालयले गर्नुपरेको छ।

त्यस्तैगरी, नाम्खा गाउँपालिका– ६ हिमालपारिको गाउँ लिमीका सुनखानी आविले पनि खाजा खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ। सो विद्यालयमा बजेट अपुुग हुने भएपछि अभिभावकबाट आवश्यक थप रकम उठाउने र खाजा पकाउने कार्य पनि अभिभावकले पालो हालेर गर्दै आएका छन्। विद्यालयले खाजाको बजेटले ४० प्रतिशत मात्र खर्च धान्ने गरेको जनाएको छ। बाँकी अरु खाजा खुवाउने विद्यालयको अवस्था पनि योभन्दा फरक छैन।

चाउचाउ बिस्कुटको प्रयोग

सहयोगी पुस्तिकामा स्पष्ट रूपमा खाजा खुवाउने अन्नपातको नामनै किटान गरेको छ। तर दिवा खाजा खुवाउने विद्यालयमध्ये धेरैले खाजाको रूपमा चाउचाउ, बिस्कुटजस्ता जंक फुट खुवाउने गरेको पाइएको छ। अदानचुली गाउँपालिका– २ का स्थानीय परबहादुुर बुढाले खाजा खुवाउने विद्यालयले चाउचाउ र बिस्कुुट खुवाउने गरेको बताए। यसमा अभिभावक पनि खाजा खुवाएकोमा मख्ख हुने गरेको भन्दै उनले तर के के खुवाउने भन्ने जानकारीसमेत उनीहरूमा नरहेको बताए।

भाँडाकुँडा र जनशक्ति अभाव

खाजा कार्यक्रमलाई निर्देशिकाअनुुसार गर्न नसक्नुुमा बजेटको अभाव भन्ने शिक्षकहरू पनि छन्। अर्को कुरा बढी विद्यार्थी भएको विद्यालयमा खाजा खुवाउने कार्य सहज पनि छैन भन्ने पनि छन्। सिमकोट गाउँपालिकाको बालमन्दिर माविका शिक्षक मधुु बस्नेतले विद्यालयमा अन्य बजेट नहुुने भएकाले पहिलो कुरा भाँडाको व्यवस्था गर्न पनि समस्या भएको बताइन्।

उनले सोलो टोलो सरकारले कार्यक्रम ल्याएर बजेटको व्यवस्था गर्नु सकारात्मक भए पनि खाजा कार्यक्रमका लागि विद्यालयलाई आवश्यक पर्ने भाँडा, दाउरा र पकाउने जनशक्तिको व्यवस्था नहुँदासम्म यो कार्यक्रम प्रभावकारी हुन नसक्ने बताइन्। भाँडाको व्यवस्था गर्नु मात्र समस्या नभएर दाउराको बन्दोबस्ती गर्नु पनि विद्यालयलाई समस्या पर्ने गरेको छ। हुम्लामा दाउरासमेत महँगो पर्छ। उनको विद्यालयमा खाजा कार्यक्रमबाट लाभान्वित हुने विद्यार्थीको संख्या दुुई सयभन्दा बढी छ। त्यस्तै, खाजा पकाउने जनशक्तिको समस्या पनि छ। विद्यालयमा एक जना कार्यालय सहयोगी भए पनि उसको न्यून पारिश्रमिकको कारण उसले खाजा पकाउन मान्ने कुरा पनि देखिँदैन। किनकि सहयोगीले विद्यालयको अन्य काम गर्दै ठिक्क हुने उनले बताइन्।

बजेट न्यून

अन्य समस्याका बाबजुुद पनि खाजाका लागि विनियोजित बजेट भने निकै न्यून भएको सरोकारवाला पक्षको भनाइ छ। सर्केगार्ड गाउँपालिका शिक्षा शाखामा प्रमुख बिरजंग शाहीले बीस रुपैयाँमा खाजा खुवाउने कार्य संभव नहुने बताउँछन्। महँगी उकालो लागेको बेला बीस रुपैयाँमा कुनै पनि सामान खरिद गर्न सम्भव नभएको उनले बताए।

चंखेली गाउँपालिकाको शिक्षा शाखाका प्रमुख पराम पाण्डेले खाजाका लागि विनियोजित बजेट झारा टार्ने किसिमको भएको बताए। उनले सहयोगी पुस्तिकाअनुसार विद्यालयमा खाजा खुवाउनका लागि कम्तीमा पनि ५० रुपैयाँ प्रतिविद्यार्थी आवश्यक पर्ने जनाए। यो कार्याक्रम कार्यान्वयनको अवस्था हेर्दा प्रभावकारी नभएको भन्दै उनले यसलाई प्रभावकारी बनाउन आवश्यकताका आधारमा बजेट व्यवस्था हुनुपर्नेमा जोड दिए।

शिक्षा विकास तथा समन्वय एकाई प्रमुुख टिकल भट्टराईका अनुुसार दिवा खाजा कार्यक्रम आफैँमा राम्रो भए पनि जिल्लामा यसको प्रभाकारी कार्यान्वय हुन सकेको छैन। यसका लागि अनुुगमन गर्ने संयन्त्र पनि अभाव भएको उनको तर्क छ।

जिल्लाको भूगोल ठूलो भएको र एकाइसँग जनशक्ति न्यून भएको कारण यसको प्रभावकारिताका सम्बन्धमा अनुुगमन गर्न नसकिएको उनको भनाइ छ। अदानचुली गाउँपालिकाका अध्यक्षले विद्यालयले खाजा खुवाउने गरे पनि मापदण्डअनुुसार खाजा खुवाउन नसकिएको स्विकारे।

पुस २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्