कुन प्रदेशमा कसले खुवाउँदै छन् नयाँ सांसदलाई शपथ?

काठमाडौँ – मंसिर ४ मा भएको निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्यहरुलाई पनि प्रतिनिधिसभामा जस्तै ज्येष्ठ सदस्यले शपथ खुवाउने छन्। ज्येष्ठ सदस्यहरुमध्ये प्रदेश नम्बर एकका गयानन्द मण्डल गनगाईंको उमेर सबैभन्दा बढी छ भने गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालको उमेर सबैभन्दा कम छ। गनगाईं ७९ वर्षका छन् भने बस्यालको उमेर ६५ वर्ष छ।

एक नम्बर प्रदेशसभाका सदस्यहरुलाई गनगाईंले शपथ खुवाउने छन्। ७९ वर्षका गनगाईं प्रदेश नम्बर एकका ज्येष्ठ सदस्य हुन्। उनी वि.सं. २००० साल असोज २० गते जन्मिएका हुन्। उनी मोरङ क्षेत्र नम्बर ५ को (क) बाट निर्वाचित भएका हुन्।

यस्तै, मधेश प्रदेशमा ७१ वर्षीय गोविन्द बहादुर न्यौपानले शपथ खुवाउने छन्। मधेश प्रदेशका ज्येष्ठ सदस्य न्यौपाने २००८ साल ज्येठ २ गते जन्मिएका हुन्। शारदा शंकर प्रसाद कलवार न्यौपाने भन्दा ७ महिनाले कान्छा छन्, उनी २००८ पुष १३ गते जन्मिएका हुन्। न्यौपाने र सारदा शंकरपछि प्रदेशकी ज्येष्ठ सदस्य समानुपातिकबाट चयन भएकी पलटीदेवी महरा हुन्। उनी २०१० साल ज्येठ १५ गते जन्मिएकी हुन्।

यता बागमती प्रदेश सभाका सबैभन्दा ज्येष्ठ सदस्य राम प्रसाद ढुंगाना हुन्। उनी २००६ साल फागुन २ गते जन्मिएका हुन्। समानुपातिकबाट प्रदेश सांसद चुनिएका शिवराज अधिकारी ढुंगानाभन्दा तीन महिनाले कान्छा छन्। अधिकारी २००७ साल जेष्ठ २२ गते जन्मिएका हुन्। प्रदेशसभामा त्यसपछिका ज्येष्ठ सदस्यमा ठाकुर प्रसाद ढकाल हुन्। ठाकुर २०११ साल मंसिर ६ गते जन्मिएका हुन्।

गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्याल हुन्। २०१४ साल भदौ ५ गते जन्मिएका उनी ६५ वर्षका छन्। अर्का सदस्य विन्दु कुमार थापा बस्याल भन्दा दुई दिनले मात्रै कान्छा छन्। समानुपातिक कोटा प्रणालीबाट सांसद बनेकी विमला गौचन ६१ वर्षकी छन्।

यस्तै, लुम्बिनी प्रदेशका ज्येष्ठ सदस्य डिल्लीराज भुषाल हुन्। २०१० साल जेष्ठ ७ गते जन्मिएका उनी ६९ वर्षका छन्। अर्का सदस्य देवकरण प्रसाद कलवार भुषालभन्दा ४ महिनाले कान्छा छन्। नागरिकताअनुसार कलवारको जन्ममिति २०१० साल असोज २१ गते हो। समानुपातिक कोटाबाट प्रदेश सांसद बनेकी ईन्द्रकुमारी गहतराज यी दुई सदस्यभन्दा एक वर्षले कान्छी छन्। २०११ साल ज्येष्ठ ३० गते जन्मिएकी गहतराज ६८ वर्षकी भइन्।

कर्णाली प्रदेशसभामा ६६ वर्षका विनोद कुमार शाह ज्येष्ठ सदस्य हुन्। उनी २०१३ साल वैशाख ४ गते जन्मिएका हुन्। प्रदेशसभाका अर्का ज्येष्ठ सदस्य हिक्मत बहादुर बिष्ट शाहभन्दा तीन वर्ष कान्छा छन्। उनी २०१५ साल चैत ८ गते जन्मिएका हुन्।

बिष्टभन्दा दुई वर्ष कान्छा सांसद कल बहादुर हमाल छन्। २०१७ साल चैत १२ गते जन्मिएका हमाल समानुपातिक कोटा प्रणालीबाट प्रदेश सांसद बनेका हुन्।

सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मान बहादुर रावल हुन्। २०११ साल असार २० गते जन्मिएका उनी ६८ वर्षका भए। सुदूरपश्चिम प्रदेश सभामा उनीपछिका ज्येष्ठ सदस्यमा ६५ वर्षका शिवराज भट्ट छन्।

निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणमसहितको प्रतिवेदन प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम एकैसाथ सात वटै प्रदेशका प्रमुखसमक्ष प्रस्तुत गरेको छ।

आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशका राजधानीस्थित प्रदेश प्रमुखको कार्यालयमा अलगअलगरूपमा प्रतिवेदन बुझाएको हो।

प्रतिवेदन बुझाउन प्रदेश नम्बर १ मा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, गण्डकी प्रदेशमा आयुक्त ईश्वरीप्रसाद पौड्याल, लुम्बिनी प्रदेशमा आयुक्त रामप्रसाद भण्डारी, सुदूरपश्चिम प्रदेशमा आयुक्त जानकी कुमारी तुलाधर, मधेश प्रदेशमा आयुक्त सुगन शमशेर जबरा, बागमती प्रदेशमा सचिव गोकर्णमणि दुवाडी र कर्णाली प्रदेशमा सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा आयोगको टोली पुगेको थियो। ती टोलीबाट प्रदेशगत निर्वाचनको विवरण सार्वजनिक गरिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा आयोगले प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनु पर्ने व्यवस्था रहेको छ।

पुस २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्