विश्वकप फाइनल: पहिलो हाफमा अर्जेन्टिनालाई ‘कम्फर्टेवल’ अग्रता, मेसीको दुर्लभ कीर्तिमान

विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनाले पहिलो हाफमानै साविक च्याम्पियन फ्रान्स विरुद्ध सहज अग्रता बनाएको छ।

पहिलो हाफमानै २-० को अग्रता बनाउने क्रममा अर्जेन्टिनाका लागि कप्तान लियोनेल मेसी र फर्वाड एञ्जल डि मारियाले गोल गरेका थिए। खेलमा  फ्रान्स विरुद्व अग्रता बनाउने क्रममा लियोनेल मेसीले पेनाल्टी मार्फत गोल गरेका थिए।

पहिलो हाफमा अर्जेन्टिना फ्रान्स विरुद्व पुर्ण रुपमा हावि भएको थियो। फ्रान्सले एउटापनि सट प्रहार गर्न असफल हुँदा अर्जेन्टिनाले ६ सट र ३ सट टार्गेटमा राखेका थिए।

उस्मान डेम्बेलेले डिमारियालाई लडाएपछि पाएको पेनाल्टीलाई लियोनेल मेसीले सहज रुपमा गोलमा परिणत गर्दै २३ औं मिनेटमा अग्रता दिलाएका थिए। अर्जेन्टिनाको अग्रता दोब्बर बनाउने क्रममा एञ्जल डि मारियाले ३६ औ मिनेटमा म्याक एलेस्टरको क्रसलाई सदुपयोग गरेका थिए।

गोल्डेन बुटमा मेसीको अग्रता

विश्वकप फुटबलको फाइनलमा गोल गरेसँगै लियोनेल मेसीले गोल्डेन बुटको दाबेदारीमा समेत अग्रता बनाएका छन्। उनले अहिले सम्म जारी विश्वकपमा पाँच गोल पुरा गर्दै फ्रान्स युवा स्टार केलियन एम्बाप्पेलाई पछि पार्दै गोल्डेनबुटमा समेत लियोनेले मेसीले अग्रता बनाएका हुन्।

मेसीको कीर्तिमान

जारी विश्वकपमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फ्रान्स विरुद्ध  गोल गरेसँगै विश्वकपमा दुर्लभ कीर्तिमान बनाएका छन्। उनले विश्वकपमा सबै  चरणमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए। उनले समूहचरण, राउण्ड अफ १६ , क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा समेत गोल गर्दै दुर्लभ कीर्तिमान बनाएका हुन्।

साथै मेसी मैदान प्रवेश गरेसँगै नयाँ कीर्तिमान समेत बनाए।  उनले जर्मनीका पूर्व मिडफिल्डर लोथर माथाउसको नाममा रहेको २५ खेलको कीर्तिमान तोड्दै २६ औ खेल खेले।

 

पुस ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्