पश्चिमी प्यासिफिक क्षेत्रमा अझै छ कोरोनाको लहर

विश्वभरि नै कोरोना संक्रमण र यसको प्रभाव निकै न्यून हुँदै गएको छ। पश्चिमी प्यासिफिक क्षेत्र जहाँ जापान, कोरिया, चीन, अस्ट्रेलिया आदि देश पर्छन्, तीबाहेक विश्वका अधिकांश ठाउँ कोरोनामुक्त झैँ भैसकेका छन्। पछिल्लो समय अमेरिका पनि दैनिक कोरोना संक्रमणको हिसाबले निकै शान्त देखिन्छ।

यसै सेरोफेरोमा नेपाल र विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकका आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ।

यस लेखमा उधृत गरिएका तथ्यांक विभिन्न श्रोतबाट लिइएका हुन्। जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, वर्लडोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC)आदि। यस लेखको उद्ध्यश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रुपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठकसमक्ष पुर्‍याउनु हो।

विश्वमा कोरोना प्यान्डेमिक तल–माथि हुने क्रममा दक्षिण एसियामा पछिल्लो अवस्थामा कोरोना संक्रमण कम हुँदै जाने क्रम जारी छ।हाल दक्षिण एसियामा दैनिक कोरोना संक्रमण अझै घट्दो छ। दक्षिण एसियाको पछिल्लो करिबएक महिना,सन्२०२२ नोभेम्बर १५देखि डिसेम्बर १४ (३० दिन)कोकोरोना प्यान्डेमिकसम्बन्धि तथ्यांकको विश्लेषण चित्र न. १मा देखाइएको छ। पछिल्लो अवास्थामा दक्षिण एसियामा समग्रकोरोना संक्रमण निकै न्यून छ र औसतमा दैनिक करिब ३५० भन्दा कम संक्रमण देखिने गरेको छ।

त्यस्तै दक्षिण एसियामा पछिल्लो समय दैनिक मृत्यु पनि क्रमशः घट्दै गएको छ। पछिल्लो समय दक्षिण एसियामा समग्रमा औसत दैनिक करिब ४ भन्दा कम मृत्यु देखिने गरेको छ।

नेपालको दैनिक नयाँ संक्रमण

सन् २०२२ डिसेम्बर ११ देखि १७ (बि.सं २०७९ मंशिर २५ देखि पौष २) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रबृत्ति चित्र न.२ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ।

हाल देशमा कोरोना संक्रमण कम भएर होला नेपाल सरकारले सार्वजनिक गर्ने गरेको कोरोना संक्रमणसम्बन्धी दैनिक तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना ड्याशबोर्डमा  नियमित अपडेट भएको देखिँदैन। जसले गर्दा तथ्यांक संकलन कठिन हुन थालेको छ।

स्वास्थ्य मन्त्रालयको फेसबुकमा पनि यस तथ्यांक हेर्न सकिए पनि गत पुस १ गते शुक्रबारको दिनको तथ्यांक कतै भेटिन सकिएन जसले गर्दा यस अंकको विश्लेषणमा शुक्रबारको तथ्यांक शून्य राखिएको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन,पौष २ गते शनिबारसम्म, देशभरि जम्मा १४ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या १०००९४६ पुगेको छ। दुई र तीन हप्ताअघि साप्ताहिक कुल संक्रमण संख्या क्रमशः २१ र २८ थियो।

त्यस्तै चित्र न.२ ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दरको प्रबृत्ति पनि देखाएको छ। गत हप्ता दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी दर न्यूनतम ०.१९% देखि अधिकतम १.३७% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ०.६६% रह्यो जुन दुई र तीन हप्ताअघि क्रमशः ०.८४%र०.८८% थियो।

गत हप्ता पनि नेपालमा कोरोना मृत्यु शून्य रह्यो र हालसम्मको देशको जम्मा कोरोना मृत्यु १२०१९ पुगेको छ। गत हप्ता देशभरि जम्मा १७३८ पीसीआर परीक्षण गरियो जुन संख्या दुई हप्ताअघि २४८८ थियो।

संक्षेपमा, पछिल्लो समय विश्वमा कोरोना संक्रमण निकै कम भए पनि पश्चिमी प्यासिफिक क्षेत्रका देशमा हाल पनि कोरोना संक्रमण निकै धेरै देखिँदै आएको छ।

अर्कोतिर दक्षिण एसियाको समग्र  दैनिक कोरोना संक्रमणमा भने कमी आउने क्रम जारी छ । दैनिक कोरोना मृत्युको प्रबृत्ति पनि पछिल्लो समय निकै घट्दै गएको देखिन्छ।

नेपालमा गत हप्ता, बि.सं २०७९ मंसिर १८ देखि २४, साप्ताहिक नयाँ कोरोना संक्रमण  केही साताको जस्तै निकै कम देखिन्छ। गत हप्ता औसत साप्ताहिक संक्रमण दर पनि न्यून देखिन्छ र मृत्यु पनि शून्य रह्यो।

त्यसैले होला नेपाल सरकारले दैनिक कोरोनासम्बन्धी तथ्यांक पनि नियमित अपडेट गरेको देखिँदैन।

स्मरण रहोस्, पछिल्लो समय कोरोना संक्रमणमा विश्वब्यापी र देशब्यापी निकै कमी आइसके पनि उन्मूलन भने भइसकेको छैन।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ र कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती साबित हुन सक्छ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनाबश्यक भीडभाड नगर्ने आदि साबधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रबृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिन्न।

यस लेख नेपालमा साप्ताहिक रुपमा प्यान्डेमिक हेर्ने ऐनाको  रुपमा प्रस्तुत  गरिएको छ। यसमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिक विरुद्धको हाम्रो लडाइँ जारी छ, होशियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

पुस ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्