ओलीले पोखराको जेलबाट रचेको त्यो कविता

पोखरा – राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न दिएको समय सकिन दुई दिन बाँकी छ। पुस ३ गते एक साताको समय दिएर भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी थिइन्। दलहरू सरकार गठनका लागि दौडधुपमा छन्। सत्तारुढ दललाई बढी चटारो छ।

दोस्रो शक्ति एमाले पनि गठबन्धन भत्काएर नयाँ सरकार बनाउने मुडमा नभएको होइन। पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली भने सरकार बनाउने रस्साकस्सी छाडेर पोखरा आएका छन्।

ओली राजनीतिक कार्यक्रममा सहभागी हुन पोखरा आएका होइनन्। बुकवर्म फाउण्डेसनले आयोजना गरेको १० औं संस्करणको नेपाल लिटरेचर फेस्टिबलमा सहभागी हुन उनी पोखरा आएका हुन्।

ओली ‘राजनीतिबाहिरको जीवन’ बारे पत्रकार अखण्ड भण्डारीसँग गफिए। फेवाताल किनार बाराहीघाटमा ओलीको गैरराजनीतिक जीवन खोतल्ने प्रयास भयो।

‘म यही खर्पनमा हालेर हरदिन बेलुका
बितेका थोत्रा मैलो दिनलाई बिदा गर्छु
म यही खर्पनमा थापेर हरदिन बिहानै
आउने नयाँ सुकोमल दिनलाई स्वागत गर्छु..।’

साहित्यिक माहौलमा भण्डारीले ओलीको कविता ‘खर्पन’ को केही हरफ सुनाएर प्रश्न गरे, ‘यो कुन सन्दर्भमा लेख्नुभएको थियो ?’ जवाफमा ओलीले भने, ‘म पोखरा जेलमा थिएँ। पोखरामा त्यति खर्पन बोक्ने चलन थियो जस्तो मलाई लागेको थिएन। त्यसबेला एक जना व्यक्ति सागसब्जी खर्पनमा बोकेर जेलको गेट अगाडि आए। मैले उनलाई देखँे। अनि मैले उनी भएर यो कविता लेखँे।’

ओलीले यो कविता ०४१ सालमा लेखेका हुन्। आफूलाई खर्पन बोक्नेमा परिणत गरेर कविता रचेको उनले बताए।

कविता लेख्नुअगावै खर्पन बोकेको मान्छेको स्केच बनाएको ओलीले स्मरण गरे। उनले आफू जहाँ पुग्यो त्यहाँ केही न केही लेखेर छाड्ने गरेको बताए। आफूले जेल जीवनमा गरेका सिर्जना लुटिएकोसमेत उनी बताउँछन्।

पोखरा जेलमा उनले कपडा बुन्नसमेत सिकेको बताउँछन्। ‘मलाई बत्ती कात्न टपरी गाँस्न र गुन्द्री बुन्न आउँछ। म जे काम पनि सिक्ने मान्छे। पोखरा जेलमा बस्दा कपडा बुन्न सिकेको थिएँ। लुगा बनाएर बाहिर रहेका दिदीबहिनीलाई पनि पठाउँथेँ। फुर्सद र समय भयो भने जहाँ जे मन लाग्छ त्यो काम गर्छु।’

ओलीले लेखेको शिशिर योगीले संगीत भरेर गाएको ‘म त भाग्यमानी गीत’ को चर्चा केही बेर भयो। उनले भान्छामा सघाउने, खेल खेल्नसँगै केही रमाइलो किस्सा सुनाए।

पुस ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्