शून्य समय

गगन थापाको पहिलो आवश्यकता: भ्रमबाट मुक्ति

राजनीतिक दलहरु या ‘नेतृत्व’ देश, समाज र जनताका लागि सतत् चिन्तित र सक्रिय समूह मानिन्छ। उनीहरुलाई आलोचना गर्ने क्रममा डाक्टर, इन्जिनियर या प्रशासनिक पदका लागि लोकसेवाबाट छानिन नसकेकाहरु अर्थात सबैतिरबाट अस्वीकृतहरु मात्र राजनीतिमा लागेको सन्देश विश्लेषकहरुले दिने गरे पनि तथ्यको त्यो सानो अंशमात्र हो।

नेपालका सन्दर्भमा चाहे प्रजा परिषद् होस् या नेपाली कांग्रेस या कम्युनिष्ट पार्टीको स्थापनामा र त्यसलाई अघि बढाउन लागिपरेका व्यक्तिहरुमा राष्ट्र, समाज र नेपाली जनताको स्वार्थ सर्वोपरि थियो। प्रजा परिषद् स्वतन्त्र नेपाल र राष्ट्रियताको सर्वोपरिताको चौघेराभित्र सम्मानित नेपाल चाहन्थ्यो, नेपाली कांग्रेस राष्ट्रिय र बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको दुईखम्बे ढाँचामा आधारित सम्पन्न राष्ट्र चाहन्थ्यो। र, एंगेल्स, मार्क्स र लेनिनवाट प्रभावित ‘अन्तर्राष्ट्रियवाद’ को प्रभावबाट स्थापित नेपाली कम्युनिस्टहरुले वर्गीयता तथा वर्गसंघर्षवाट राजनीति अगाडि बढाउने सोच राखे पनि मुलुकको स्वतन्त्र अस्तित्वको पक्षमा तथा बाह्य हस्तक्षेपविरुद्ध लागिरहे। असंलग्न परराष्ट्र नीति, सन्तुलित विदेश नीति र सुरक्षाको पक्षमा प्राय: सबै दलहरुले राज्य व्यवस्थाको केन्द्रमा रहेको राजसंस्था तथा राजाहरुसँग सहकार्य गरी नै राखे। चाहे चीनसँगको सम्बन्धलाई सीमा विवादको अन्त्य, सगरमाथा विवादको समाधान, इजरायलसँगको सम्बन्ध स्थापनाजस्ता फरक उदाहरणहरुमा एक व्यक्तिलाई ‘क्रेडिट’ दिने र अरुहरूलाई छायाँमा पार्ने राख्ने विश्लेषणले नेपालको विदेश नीति र व्यवहारलाई एकांगी र खण्डितरुपमा प्रस्तुत गर्ने चलन जारी छ।

यहुदीहरुप्रति बिपी कोइरालाको विशेष चासो, अध्ययन र सहानुभूति थियो, जर्मनीमा हिटलरबाट उनीहरुमा भएको आमसंहार र अत्याचारका कारण प्रजातान्त्रिक नेताहरुमा या चिन्तनहरुमा न्याय र समानताको मान्यताले गहिरो जरा गाडेको हुन्छ। उनीहरुका राष्ट्रिय नीति र आचरण तथा निर्णयलाई त्यसले निर्देशित गरेको हुन्छ। स्वयं प्रजातान्त्रिक मान्यतामा अडिग र एउटा बलियो संसद र सशक्त प्रतिपक्ष अनि देश बुझेको राजा महेन्द्रलाई छलेर या पूर्व परामर्शबिना नै इजरायलसँग उनले दौत्य सम्बन्ध स्थापित गरे भने अहिलेको व्याख्याले  खतरनाक परिणति जन्माएको छ, वैदेशिक नीतिको व्यवस्थामा।

नेपालका उच्च नेताहरुलाई एउटा या अर्को ठूलो बाह्य शक्तिको ‘मान्छे’ का रुपमा प्रस्तुत गर्ने या गरिने परम्परा यही विकृत, विश्लेषण र मान्यताको नतिजा हो। यद्यपि व्यक्तिगत स्वार्थका लागि राष्ट्रिय स्वार्थमा सम्झौता गर्ने प्राय: अपवादरहित हाम्रा यताका नेताहरुको आवरणले पनि उनीहरुलाई आम जनताको शंकाको घेरामा ल्याएको तथ्यलाई अस्वीकार गर्नु हुँदैन। दलहरुका नेताहरुको हिजो र आजको चरित्रमा देखा परेको आकाशजमिनको फरक, मुलुकलाई ‘मर्ज या सबमर्ज’ गर्ने उद्देश्यकासाथ बाह्य शक्तिद्वारा परिचालित नेतृत्व र मान्यता सत्तामा हाबी भएको छ। दलाल चरित्र दलहरुको मौलिक चरित्र बनेको छ। प्रशासक भ्रष्ट र जनविरोधी बन्दा राष्ट्रियताका सम्वेदनशील मुद्दा, स्वार्थहरु तथा प्राकृतिक साधन नेताहरुको जीवन छँदासम्म फाइदा उठाउने साधन बनेका छन्। त्यस अर्थमा हिजो दलहरु स्थापना गर्ने नेताहरुभन्दा फरक या ठीक विपरीत आचरणका नेताहरुले मुलुक हाँकिरहेका छन्। के नेताहरुले यो विषयलाई बुझेर आफूलाई सुधार्ने प्रयास गर्लान् र?

प्रधानमन्त्री पदका लागि विधिवत दाबेदारी गर्न आवश्यक नेपाली कांग्रेस संसदीय दलको नेतृत्व पदमा साँच्चैका युवा नेता गगन थापाले उम्मेद्वारी दिए, शेरबहादुर देउवाबिरुद्ध । प्रतिस्पर्धामा जाँदा उनले आफू कुन अर्थमा देउवाका विकल्प हुन त्यो स्पस्ट पारेनन्, तर पराजयपछि केही कुरा स्पष्ट पारे। वास्तवमा भोलिका दिनमा गगन या कांग्रेसभित्रको विकल्पलाई उनका त्यो अभिव्यक्तिका आधारमा हेरिने छ। उनको असफलताले पार्टीभित्र स्थापित पक्षको विकृति समाप्त गर्ने या उचित विकल्प खोज्ने प्रयासको उपहास त्यसरी नै हुने छ, जसरी माओवादीको जनयुद्ध सत्तायुद्ध र धनयुद्धमा परिणत भएको छ। जसरी बिपी, गणेशमान सिंह, सुवर्णशमशेर या कृष्णप्रसाद भट्टराईद्वारा स्थापित नेपाली कांग्रेस राष्ट्रियता र प्रजातन्त्रको मर्ममा सवभन्दा ठूलो खलनायक साबित भएको छ।

टंकप्रसाद आचार्य सम्भवत: केही व्यक्तिको स्मृतिमा या उनको नाममा रहेको एउटा प्रतिष्ठानको गतिविधिमा सीमित छन्। तर, उनले नेपालजस्तो मुलुकमा संविधान सभाको कुरा गर्नु राजसंस्था हटाई नेपाललाई प्रभावशाली छिमेकीमा गाभ्ने अभ्यास सुरु गर्नु हो भन्ने चेतावनी दिएको कतिजनालाई थाहा छ? १२ बुँदे लोकतन्त्रका हिमायतीहरुले भूभाग नबुझाए पनि सार्वभौम हैसियतमा रहने आन्तरिक राजनीति विदेशी शक्तिलाई बुझाएको हेक्का नागरिकलाई हुन थालेको छ।

यो प्रश्न अब गगन थापाप्रति तेर्सिने छ। संसदीय दलको नेतृत्वमा पराजित भएपछि उनले देउवालाई के चेतावनी दिए? अँध्यारो कोठामा लिइएका निर्णयसँगै राष्ट्रपति, सभामुख आदि पदको बाँडफाँटबारे अपारदर्शी निर्णय आफूलाई मान्य नहुने घोषणा उनले गरेका छन्। अधिनायकवादी अर्थात नेतृत्वको सर्वोच्चताको सिद्धान्तमा दल र मुलुकको शासन तथा झनै अपारदर्शी शैलीमा मुलुकको कूटनीति चलिरहेको छ। अब आउने दिनमा प्रधानमन्त्री पदको निर्वाचन प्रक्रियामा देउवा, प्रचण्ड, ओली आदिको सहारा कुनचाहिँ कूटनीतिज्ञ होला?

गगन थापासँग हिजोको अपराधको पुनरावलोकन तथा समीक्षा र सुधार गर्ने समय र अवसर छ। तर त्यसका लागि चरित्र, साहस र अठोट जरुरी हुन्छ। यो तत्कालीन रणनीतिक चतुर्‍याइँको विषय हैन । चतुर्‍याइँमा द्वैध चरित्र हुन्छ। तर, राष्ट्रिय महत्व, सार्वभौमसत्ता, प्रजातन्त्र तथा राष्ट्रिय स्वाभिमानजस्ता विषयमा सर्वपक्षीय सहमति खोजिन्छ। त्यो खोजीको प्रयत्न गर्ने अवसर गगन थापाले पाएका छन्, तर अल्पकालीन स्वार्थको खोजीजस्तो सहज हुँदैन त्यो प्रयास।

वास्तवमा गगन थापाको अभिव्यक्तिले ०६३ को परिवर्तनका आधारभूत स्तम्भ र त्यसले ल्याएको परिवर्तन धराशायी भएको मानिँदैन र? सबै अँध्यारो कोठामा गिरिजाप्रसाद कोइराला, प्रचण्ड, यदाकदा माधव नेपाल, अनि कृष्णप्रसाद सिटौलाको अनुमोदनपछि ब्युँत्याइएको प्रतिनिधिसभा र पछि संविधानसभा मार्फत मुलुकमा लादिन्थ्यो। त्यसमा प्रक्रिया हुन्थेन। संस्थागत नभएर व्यक्तिगत स्वार्थ या बाह्य दासत्वबाट सञ्चालित हुन्थे ती। के गगनले सिटौलासँगको संगतमा यो कुरा सोध्ने हिम्मत राखे? खिलराज रेग्मीको द्वैध आसन या शासनको निर्णय चार दलले बाह्य आदेशमा नलिएको भए आज अदालतमा चोलेन्द्रशमशेर जन्मन्थे होला? अनि गगन थापाले स्वीकारेको संघीयताको जन्म शिवशंखर मुखर्जीको मध्यस्थतामा लैनचौरमा भएको हैन? गगन थापा यी विकृति र विचलन अनि त्यसले जन्माएको बेथितिका लागि त्यत्ति नै जिम्मेवार छन् जति आज देउवा छन् र नेपाली कांग्रेस छ।

तर पक्कै पनि गगन थापासँग हिजोको अपराधको पुनरावलोकन तथा समीक्षा र सुधार गर्ने समय र अवसर छ। तर त्यसका लागि चरित्र, साहस र अठोट जरुरी हुन्छ। यो तत्कालीन रणनीतिक चतुर्‍याइँको विषय हैन । चतुर्‍याइँमा द्वैध चरित्र हुन्छ। तर, राष्ट्रिय महत्व, सार्वभौमसत्ता, प्रजातन्त्र तथा राष्ट्रिय स्वाभिमानजस्ता विषयमा सर्वपक्षीय सहमति खोजिन्छ। त्यो खोजीको प्रयत्न गर्ने अवसर गगन थापाले पाएका छन्, तर अल्पकालीन स्वार्थको खोजीजस्तो सहज हुँदैन त्यो प्रयास।

वैदेशी हस्तक्षेप स्वीकारेर नै नेपाली कांग्रेस, माओवादी, एमाले अहिले जुनसुकै रुप र आकारमा भए पनि महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादव मुलुकलाई यो अवस्थामा ल्याईपुर्‍याउन सफल भएका हुन्। त्यस अर्थमा यी कुनै पनि दलका नेताहरु एकअर्का भन्दा बढी मुलुकलाई माया गर्दैनन्। न त वफादारीको मात्रा नै बढी छ। गगन थापाको चेतावनी देउवालाई हो, या अतीतका ती अपारदर्शी र देशबेचुवा प्रवृत्तिका सबै जिम्मेवारहरुलाई ? आफू अनुकूल हुने गरी केही भन्नु तर मुलुकविरुद्ध त्यस्तै जघन्य अपराध गर्नेहरुसँग साँठगाँठ गर्ने प्रवृत्ति अर्थहीन हुन जान्छ।

गगन थापामा साँच्चै क्षमता र सम्भावना छ। आफ्नो पराजयको सही कारण खोजेमा उनले बोकेका सम्भावना सही अर्थमा अवसर र भाग्य बन्न सक्छ। तर सत्यको खोजीलाई क्षणिक स्वार्थको मैलो च्यादरले ढाकेमा उनी यो मुलुकको कुनैपनि कुपात्रको वर्तमान रुपमात्र बन्ने छन्।

०६३ का गिरिजाप्रसाद कोइराला नेपालको आन्तरिक राजनीतिमा घुसेको भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको नजरमा ‘लिजेन्डरी स्टेटसम्यान अफ साउथ एसिया’ थिए। घृणा र निषेधको विष उकेल्ने सीके राउतलाई पनि आफू गान्धी, अम्बेडकर र मार्टिन लुथर किङको संयुक्त रुप भएको रणनीतिक भ्रम थियो। प्रचण्ड र बाबुराम भट्टराईलाई नेपालमा गणतन्त्र आफैँले ल्याएको भ्रम छ। बरु, यस मामिलामा केवल देउवा स्पष्ट छन्। गगन थापाको भ्रम बाबुराम भट्टराई र प्रचण्डको भन्दा फरक छैन। त्यसैले गगन थापाको पहिलो आवश्यकता हो, भ्रमबाट मुक्ति। त्योसँगै अनेकौं ढोका खुल्ने छन्। राष्ट्रिय मेलमिलाप, राष्ट्रिय स्वार्थ, सम्बृद्धि, प्रजातन्त्र र सर्वपक्षीय समावेशिताको मार्गबाट मुलुकमा शान्ति, स्थायित्व र स्थीरता अनि आम अपनत्व स्थापित हुने छ। विदेशीको आश्वासन र बुईँले त्यो साहस र सम्भावना दिँदैन। गगनले यसपल्ट त्यसकै साक्षात अनुभव हासिल गरेनन् भन्न सकिन्न।

पुस ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्