नेकपा मालेका महासचिव सिपी मैनालीसँग अन्तर्वार्ता

आफ्नै कारणले राजनीतिक हैसियत गुमाएँः सिपी मैनाली (भिडियो)

काठमाडौँ – २०३५ सालमा नख्खु जेल तोडेर भागेपछि नेकपा माले गठन गरेर त्यसको संस्थापक महासचिव बनेका सिपी मैनाली अहिले राजनीतिमा गुमनामजस्तै छन्। वि.सं. २०४६ सालअघिसम्म राजनीतिक उचाईमा रहेका उनी अहिलेको पुस्तामाझ अपरिचित नै छन् भन्दा पनि फरक पर्दैन।

मैनाली नेतृत्वको नेकपा मालेले २०६४ को संविधानसभा निर्वाचनमा प्रत्यक्षमा एक सिट नजिते पनि समानुपातिकमा ९ सिट जितेको थियो। दोस्रो संविधानसभा निर्वाचन २०७० मा पनि प्रत्यक्षमा जितेन भने समानुपातिकमा पनि ५ सिटमा झर्‍यो।

पार्टीको हैसियत र जनमत झन् पछि झन् खुम्चिँदै गएर यो निर्वाचनमा नेकपा मालेको सामान्य उपस्थिति मात्रै रह्यो। जित कतै पनि हुन सकेन। धेरैलाई त सिपी मैनाली नेतृत्वको पार्टी यो निर्वाचनमा सहभागी भएको थियो वा थिएन भन्नेसम्म पनि थाहा भएन। स्थानीय तह निर्वाचन र आम निर्वाचनमा धेरै स्थानमा उम्मेदवार उठेका थिए तर कुनै उम्मेदवारले पनि जित्न सकेनन्।

कम्युनिष्ट नेताका गुरुका रुपमा हेरिने उनलाई धेरै समकक्षी तथा अनुज नेताहरुले राजनीतिमा उछिनेका छन्। राजनीतिक उचाई, पछिल्लो समय गुमनाम बन्नुको कारण, कम्युनिष्ट राजनीतिको वर्तमान र भविष्य, नयाँ राजनीतिक शक्तिको उदयप्रति उनको दृष्टिकोणलगायत समसामयिक विषयमा केन्द्रित भएर नेकपा मालेका महासचिवसँग देश सञ्चारको लागि ईश्वरी बरालले गरेको कुराकानीको सम्पादित अंशः

तपाईं आफूलाई अहिले कुन राजनीतिक हैसियतमा छु जस्तो लाग्छ?

म एउटा राजनीतिककर्मी हुँ, अलिकति खुलाएर भन्ने हो भने राजनीतिज्ञ हुँ। त्यस हिसाबले नै मैले नेकपा माले सञ्चालनको जिम्मेवारी पाएको छु।

आठौँ केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक बसेर चुनावको समीक्षा गर्‍यौँ। यसबाट शिक्षा लिएर अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको छ। देशभक्त नागरिकहरु एकै ठाउँमा जुटाउने अभियान पनि गर्दैछौँ। यसअर्थमा पनि मलाई एउटा राजनीतिकर्मीको रुपमा बुझे हुन्छ।

स्थानीय तह र आम निर्वाचनमा नेकपा माले पनि सहभागी भएको थियो, जुन कुरा जनतालाई थाहा नै भएन, तपाईं यस्तो गुमनाम किन हुनुभयो?

सञ्चार माध्यमले हामीजस्तो साना राजनीतिक दललाई कम प्राथमिकतामा राखेका कारण गुमनामजस्तो हुनुपरेको हो। सञ्चार जगत केही ठूला दलहरुमा मात्रै केन्द्रित छ।

निर्वाचनमा नेकपा मालेले प्राप्त गरेको मतलाई कसरी मूल्यांकन गर्नुहुन्छ?

हामीले जनताको बीचमा आफ्नो राजनीतिक एजेन्डा लैजान कमजोरी गर्‍यौँ। संगठन निर्माण गरेर हाम्रा क्रियाकलापमा जनतालाई सहभागी पनि गराउन सकेनौँ, जुन हाम्रो कमजोरी हो।

जनतासँग घुलमिल भएर सुख दुःख बाँड्छु भनेर उनीहरुको पक्षमा हामीले काम गर्न सकेनौँ र नतिजा पनि सुखद् आउन सकेन। यो विषयमा हामी आफूलाई नै दोष दिन्छौँ। अरु गौण कारणहरु धेरै छन् तर मुख्य कारण भनेको हामी आफै हो।

अन्य कारणहरुबारे पनि छलफल गर्न भने जरुरी छ। जनमूखी, राष्ट्रमूखी र परिवर्तनमूखी नारा जनतामाझ लैजान सकिएन। परिणाम पनि सोचेजस्तो आएन। हामी असफल हुनुमा प्रमुख दलहरु पनि दोषी छन्। तर यो सहायक कारण हो।

नेकपा मालेको चुनाव चिह्नसँग माओवादीको चुनाव चिह्न मिल्दो जुल्दो भएका कारण जनताले माओवादीलाई हाल्न खोजेको समानुपातिक भोट झुक्किएर नेकपा मालेलाई हालेको भन्छन्, तपाईंको पार्टीले झुक्किएर मत पाएको हो त?

यो झुठो कुरा हो। चुनावमा कसरी भोट हाल्ने भन्ने सन्दर्भमा निर्वाचन आयोगले ठूलो रकम छुट्याउँछ तर काम चाहिँ गर्दैन। मतदाता प्रशिक्षित हुँदैनन्। राजनीतिक दलहरु पनि आ–आफ्ना दलहरुलाई नै भोट हाल्न सिकाउँछन्, निर्वाचन प्रक्रियाको विषयमा सिकाउँदैनन्। यसले गर्दा मतदाताले गलत ठाउँमा भोट हाल्छन्। यो नहुने होइन, अर्काको भोट आउने जाने हुन्छ, तर मेरो राजनीतिक दललाई माओवादी केन्द्रको भोट आएको भन्नु सरासर गलत हो।

माओवादीको हँसिया हथौडा र हाम्रो हँसिया तारा चुनाव चिह्न छ। हामीलाई हाल्न खोजेको भोट पनि झुक्किएर माओवादीलाई गएको हुन सक्छन् नि! यसैलाई विषयवस्तु बनाउनुको कुनै औचित्य छैन।

चुनावमा अन्य दलसँग सहकार्य किन गर्नुभएन? यति लामो समय राजनीति गर्दा समेत पार्टी झन् पछि झन् खुम्च्याउनुभएको छ, राजनीतिमा तपाईंको विकर्षण बढेको हो?

यसअघिका निर्वाचनहरुमा अन्य दलहरुसँग तालमेल गर्दा पटक–पटक धोका खाएको नमिठो अनुभव छ। तर पनि केही दलसँग तालमेल गर्न खोज्दा हाम्रो आग्रह कसैले सुनेनन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि गठबन्धन नै नगरे पनि केही ठाउँमा तालमेल गर्न खोजेको थिएँ तर ओलीको व्यस्तताको कारण पुरै वार्ताहरु हुन पाएनन्।

राजनीतिमा आफ्नै समकक्षी र अनुजहरुले तपाईंको कुरा सुन्न छाडे। तपाईं कुन राजनीतिक मोडदेखि कमजोर बन्न थाल्नुभएको हो?

नेकपा एमालेको जग भनेको नेकपा माले हो, जुन २०३५ सालमा गठन भएको हो। जग निर्माण गर्दा जुन खालका व्यक्तिहरु भेला पारियो सबै उपयुक्त पात्र रहेनछन्। मैले स्थापनाकालदेखि नै नेकपा मालेको नेतृत्व गर्दै आएको हो। यो बीचमा धेरै उतार चढाव पनि आए। नेकपा एमालेले मालेलाई कमजोर बनाउनुलाई म ‘वन साङ्लोले घर साङलोलाई खायो’ भन्ने बुझ्छु र त्यही रुपमा बुझाउँछु।

पुँजीवादी र भ्रष्ट चरित्र भएकाहरुले एमालेको नेतृत्व गरेका छन्। मार्क्सवादलाई विदेशमुखी बनाए। मैले माक्सवादलाई राष्ट्रवादमा ढाल्न खोजेको थिएँ। नैतिकवान र चरित्रवान भएर काम गर्नुपर्छ भन्दा मेरो पक्षमा कम मत देखियो। मसँग फरक मत राख्ने एमाले, माले, माओवादी केन्द्र वा नेकपा एकीकृत समाजवादी धारका साथीहरु नै किन नहुन्, उनीहरुले बाटो बदलेर मलाई दुस्मन देखे।

सबै बेइमान हुने भ्रष्ट हुने र सत्तालाई व्यक्तिवादी काममा प्रयोग गर्ने आचरण खराब भएका साथीहरुले मलाई ठाडै पुरानो र फरक मत राख्ने नेताको रुपमा ठान्छन्। मैले अख्तियार गरेको मार्क्सवाद जो नेपालमूखी छ, देशभक्तमूखी चरित्रको उनीहरु घनघोर विरोधी हुन्, उनीहरुले मलाई दाह्रा किटेर किनारा लगाउन खोज्छन्। बाटो, चरित्र, गन्तव्य र उद्देश्य बदलिइसकेपछि हिजो हामी एक ठाउँमा थियौँ भनेर कथा भनिरहनुको कुनै अर्थ छैन।

तपाईं सानो घेरा र सीमित व्यक्तिहरुमा रमाउन थालेपछि उनीहरुले बाटो र उद्देश्य बदल्न बाध्य भएका होलान् नि त?

सिद्धान्त नमिलेर बाटो फरक भएको हो। अहिलेको एमाले अध्यक्ष ओली, एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधव नेपाललगायत मिलेर महाकाली सन्धी पारित गर्दा हामीले विरोध गर्‍यौँ। यही विवादमा २०५४ सालमा पार्टी फुट्यो। धेरै नेताहरु दलगत हिसाबले यता उता बने। म नेकपा मालेभन्दा अन्यन्त्र जान सकिनँ। किनकि उनीहरुसँग मेरो विचार र सिद्धान्त मिल्दैन थियो।

उनीहरुले गरेको घात र गुटबन्दी पनि सच्याउन तयार भएनन्। पर्टीभित्र उनीहरुले लिएको भिन्न विचार र नीति सच्याउन सकेनन्। म पनि मिल्न जान सकिनँ। अकस्मात रुपमा उनीहरुले उग्र वामपन्थी बाटो लिए। जुनबेलामा बन्दुक उठाएर जनगणतन्त्र ल्याउन भनेर हिँडियो त्यो उपयुक्त समय पनि थिएन।

तपाईंले कम्युनिष्ट दलहरुको भविष्य कस्तो देख्नुभएको छ?

कम्युनिष्टको मात्रै नभइ सबै राजनीतिक दलको सिद्धान्त विदेशमूखी बनाइदिएका छन्। कम्युनिष्टको सिद्धान्त न्यूनतम मार्क्सवाद भने पुग्छ। ज्ञान विज्ञानहरु अन्तबाट आएको भए पनि त्यसलाई आफू अनुकूल बनाउनुपर्छ अथवा मेरो मुलुकमा कसरी लागु गर्ने हो भन्ने त्यसको आफ्नोपन हुनुपर्छ।

मार्क्सवाद होस् वा डेमोक्रेटिक सोसोलिजम नै किन नहोस् यसलाई हाम्रो मुलुक सुहाउँदो व्यवहार र कार्यान्वयन गर्न सक्नुपर्छ, किनकि हरेक मुलुकमा सिद्धान्तहरुको अनुवाद र कार्यन्वयन फरक ढंगले नै हुने गर्छ। त्यसो गर्न सकिएन भने कम्युनिष्ट मात्र नभइ कुनै पनि राजनीतिक दलको भविष्य राम्रो देख्दिनँ म।

हरेक मुलुकको आफ्नो इतिहास, परम्परा,संस्कृति चिन्तन शैली र विकाशको आर्थिक दृष्टिकोण हुन्छ। विकाश र चेतनाको स्तर हुन्छ। हरेक मुलुकमा विश्वव्यापी सिद्धान्तहरु हुन्छन्। आन्तरिक लोकतन्त्र बलियो बनाउने गरी, समाजमा परिर्वतन ल्याउने गरी जनताले सम्वृद्ध जीवन पाउने गरी सिद्धान्तलाई प्रयोग गर्ने अलग अलग मुलुकको नीति हुन्छ। हामीले पनि आफ्नो मुलुकमा कस्तो नीति अवलम्बन गर्ने हो स्पष्ट हुनु पर्छ। अनि मात्रै दलहरुको भविष्य हुनेछ।

यो निर्वाचनमार्फत उदय भएका नयाँ तथा स्वतन्त्र व्यक्तिलाई कसरी हेर्नुभएको छ? के कारणले नयाँ तथा स्वतन्त्रको उभार आएको ठान्नुहुन्छ?

अवश्य पनि पुराना दलसँगको आक्रोशले नयाँको जन्म भएको हो। यिनीहरु कुनै शक्ति केन्द्रको आडमा देखिएका छन्। पुराना दलहरु सच्चिनुपर्छ। नयाँ आउनु पनि सकरात्मक विषय नै ठान्दछु।

पार्टीमा ९ स्थायी समिति सदस्य, २४ पोलिटब्यूरो सदस्य, ९४ केन्द्रीय सदस्य छन् भन्नुहुन्छ तर तपाईं बाहेक कोही दोस्रो व्यक्ति देखिँदैन। राजनीतिमा अझै मोर्चा बनाएर अघि बढ्छु भन्दै हुनुहुन्छ अब विश्राम लिने समय भएन र तपाईंको?

राजनीतिमा राम्रो पोजिसन कायम गरिरहन नसक्नु मुख्य गल्ती हाम्रै हो। जनताको मन जित्ने कुरामा हामी पछि परेको हो। तर, अझै पनि विदेशी शक्ति र उनीहरुका दलालले प्रजातन्त्रलाई धनतन्त्रमा परिर्वतन गर्न खोजेका छन्। त्यसविरुद्ध खबरदारी भने गर्नुपर्ने हुन्छ।

पुस ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्