भानुभक्तका कृतिहरूको चर्चा

भानुभक्तको वधूशिक्षा र गृहविज्ञान

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य वि.सं.१८७१—१९२५)का विषयमा छविलाल नेपाल पाल्पाली १९०५—१९७९), मोतीराम भट्ट १९२३—१९५३) इत्यादिदेखि आजसम्मका धेरै लेखक–समीक्षकहरूले कलम चलाएका छन्। नेपाली साहित्यमा भानुभक्तको जीवनचरित्रको सोधखोज गर्न र उनका कृतिहरूको समीक्षा गर्न रचिएका ग्रन्थहरू धेरै भैसकेका छन्।

तथापि भानुभक्तका र उनका कृतिका विषयमा अध्ययन–अनुसन्धान गर्ने क्रम अझै पनि चलिरहेकै छ। साथै उनका कृतिहरूको सुसम्पादित संस्करण प्रकाशित गर्ने क्रम पनि चलिरहेकै छ। भानुभक्तका कृतिहरूको नेपाली जनजीवनमा वा हिन्दुसमाजमा धार्मिक, सांस्कृतिक, आध्यात्मिक, भाषिक, साहित्यिक र सामाजिक महत्त्व रहेको देखिन्छ।

अहिलेसम्म धेरैजसोले भानुका कृतिका गुण र वैशिष्ट्य देखाएर लेख्ने गरेको भए पनि केही कवि–लेखकले भने उनका कृतिमा दोष देखाएर आलोचना गरेर लेखेको पनि देखिन्छ। त्यसमध्ये कतिपयले अत्यन्त अनुचित ढङ्गले अयथार्थ आलोचना गरेको पनि पाइन्छ।

तिनको त्यस्तो आलोचनाको प्रत्यालोचना केही मात्रामा पण्डित कविराज नरनाथ शर्मा आचार्य १९६२—२०४५) बाट रचित “आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र” प्र.सं. २०१७, द्वि.सं. २०३६) भन्ने ग्रन्थमा पृ.१५२—२११) गरिएको पनि छ। त्यहाँ बालकृष्ण सम, ब्रह्मसम्सेर, बाबुराम आचार्य, रामकृष्ण शर्मा इत्यादिबाट भानुभक्तप्रति लगाइएका आक्षेपहरूको र दोषहरूको समीक्षा गर्दै प्रत्यालोचना गरिएको छ।

उक्त समीक्षा र प्रत्यालोचना शास्त्रीय र व्यावहारिक दुवै दृष्टिले हेर्दा पनि तर्कपूर्ण र समुचित देखिन्छन्। तसर्थ भानुभक्तका कृतिका विषयमा कलम चलाउने आधुनिक समालोचकहरूका निम्ति उक्त ग्रन्थ अवलोकनीय र मननीय छ।

आजभोलि पनि त्यसरी भानुभक्तको आलोचना गर्न प्रवृत्त हुने केही व्यक्ति पाइन्छन्। उनीहरूले आफूलाई विवेकी वा बुजु्रक व्यक्तिका रूपमा उभ्याएर भानुभक्तलाई अविवेकी व्यक्तिका रूपमा साबित गर्न खोजेको पनि कतै–कतै देखिन्छ। अर्काको दोष देखाउन खोज्नेले पहिला पर्याप्त अध्ययन–अनुसन्धान गरी आफूले सम्बद्ध विषय राम्ररी बुझेर मात्र कलम चलाउन पर्नेमा कसै–कसैले अर्काको गल्ती देखाउन खोज्दा आफैँ गलत साबित हुने गरी कलम चलाएको पनि देखिन्छ। यस लेखमा त्यस्ता आलोचनाको प्रत्याख्यान गर्दै भानुभक्तका वधूशिक्षाले देखाएका गृहस्थधर्मका व्यावहारिक पक्षहरूको चर्चा गरिएको छ।

वधूशिक्षाको पृष्ठभूमि र औचित्य

वैदिक सनातन वर्णाश्रम हिन्दु) धर्ममा महिला सुरक्षालाई र सतीत्व रक्षालाई धेरै महत्त्व दिइएको छ। उनीहरू कुनै पनि अवस्थामा व्यभिचारिणी नहुन् र बलात्कृत पनि नहोऊन् भनेर सावधानी अपनाउनलाई विशेष व्यवस्था गरिएको छ। पुरुषका कर्तव्यका विषयमा पनि शास्त्रमा पर्याप्त निर्देशन दिइएको छ।

हिन्दुधर्मको कौटुम्बिक संरचनाको वैशिष्ट्य पनि पति र पत्नी मिलेर चल्ने गार्हस्थ्य धर्ममै अडिएको छ। जसरी पुरुष सुसंस्कृत भएर वैदिक धर्मका नित्य र नैमित्तिक कर्म शास्त्रविहित प्रकारले गर्नुपर्दछ, त्यसरी नै गृहिणीहरूले पनि आफ्ना पतिका ती कर्ममा सघाउने तथा घरगृहस्थीका व्यवहारलाई ठीक प्रकारले चलाउने गर्नुपर्दछ भन्ने नै शास्त्रको सार हो। अतः पत्नीले पतिले अँगालेको शास्त्रीय धर्मको अनुगमन गर्नु र त्यस कार्यमा पतिलाई साथ दिनु नै पतिव्रता धर्म हो भन्ने बुझ्नुपर्दछ।

विशेष गरी उच्चकुलीन ब्राह्मणहरूको यही शास्त्रीय मर्यादालाई विचार गरेर शास्त्रको आधार लिएर भानुभक्तले वधूशिक्षा रचेका हुन् भन्ने कुरा वधूशिक्षाको रचनाको सन्दर्भबाट पनि बुझिन्छ। कुलवधू र स्वैरिणीमा केही पनि भेद नमान्ने–नदेख्ने समाजका लागि वा मनलाग्दी लोग्नेस्वास्नी फेर्दै हिँड्ने र कुनै पनि मर्यादामा बस्न नचाहने समाजका लागि भानुभक्तले वधूशिक्षा लेखेका हैनन्।

आजभन्दा डेढ–दुई सय वर्षअघिको धार्मिक तथा मर्यादापूर्ण समाजका निम्ति वधूशिक्षा लेखेका हुन्। यस्ता विषयको विस्तृत विवेचना यसै पङ्क्तिकारका “वैदिक धर्मशास्त्र र सम्पत्तिमा महिलाको अधिकार” भन्ने ग्रन्थमा साझा–प्रकाशन, २०६३, पृ. १२०–१२८) तथा मनुस्मृति र महिलासुरक्षा देशसञ्चार, अनलाइन पत्रिका, २०७७।१२।१), वैदिक धर्ममा पति र पत्नीको सम्बन्ध देशसञ्चार, अनलाइन पत्रिका, २०७८।२।२८) इत्यादि लेखहरूमा गरिएको छ।

वैदिक धर्मको आदर्शलाई पच्छ्याएर सदाचारी ब्राह्मणकुलका वधूहरूलाई भानुभक्तले तिनको कर्तव्य वधूशिक्षामा केही मात्रामा सम्झाएका हुन्। ब्राह्मणकै आदर्शलाई कल्याणकारी मानेर त्यसको अनुसरण गर्ने अन्य जातिका महिलाहरूले पनि वधूशिक्षाको उपदेशअनुसार आआफ्ना घरपरिवारलाई सुखी र व्यवस्थित बनाउन पनि सक्छन्। तसर्थ पाश्चात्त्य शिक्षा र संस्कृतिमा भिजेका तथा तिनैलाई आदर्श मान्ने व्यक्तिहरूले मात्र वधूशिक्षाको आलोचना गरेका हुन् भन्ने कुरा स्पष्ट हुन्छ। त्यसैले तिनको त्यस्तो आलोचनाको आदर्श हिन्दु समाजमा कुनै औचित्य र स्थान देखिँदैन।

अचेल अधिकारवादी भनिने व्यक्ति, विभिन्न सङ्घ–संस्था, सञ्चार–माध्यम र आधुनिक शिक्षाले समेत महिला अधिकार भन्दै हाम्रा दिदीबहिनी र छोरीचेलीहरूमा अमर्यादित छाडा व्यवहारको र कुसंस्कारको प्रचार गरेर घरघरमा कलह तथा पारिवारिक विखण्डन ल्याइदिने र पतिपत्नी–सम्बन्धलाई पाश्चात्त्य समाजको जस्तो सङ्कटपूर्ण अवस्थामा पुर्‍याइदिने काम गर्दै छन्। त्यसैको परिणामस्वरूप आज विवाहविच्छेद, व्यभिचार,पारिवारिक कलह, हिंसा र मुद्दामामिला बढेर गएका छन्। तिनले पतिपत्नीमा परस्पर कटुता वा शत्रुभाव उत्पन्न गराइदिएर तिनलाई सकेसम्म छुट्ट्याइदिने र आनन्दपूर्वक बाँच्न नदिने निन्दनीय कामसमेत गरेको देखिन्छ। त्यसैले त्यस्ता व्यक्तिको भनाइ र आलोचना पनि वधूशिक्षाका सन्दर्भमा विचारणीय होइनन्।

वि.सं. १९१९ मा मित्र तारापति उपाध्याय पौडेलकहाँ एक रात वास बस्दातारापतिकी बुहारी र सासूको झगडा सुनेपछि भानुभक्तले एकै रातमा वधूशिक्षाका उपदेशात्मक ३३ श्लोक कविता लेखेका रहेछन्। प्रस्ताविकाका ३ श्लोकसमेत थप गरेर उनले ती श्लोक भोलिपल्ट बिदा हुने वेलामा मित्रलाई दिएका रहेछन्।

वधूशिक्षाका व्यावहारिक उपदेश

भानुभक्तका वधूशिक्षामा आचार–विचारका र पतिव्रता धर्मका विषय मात्र होइनन् गृहविज्ञानका विषयसमेत धेरै समावेश गरिएका छन्। ब्राह्मणकुलका वधूहरूले र तिनलाई आदर्श मान्ने अन्य जातिका गृहिणीहरूले पनि कसरी गृहव्यवस्थापन गर्नुपर्छ भन्ने शिक्षा यस ग्रन्थबाट लिन सक्छन्। प्रातःकालमा उठेर नित्यकर्म गर्ने निर्देश सुरुमा दिइएको छ। घरको सरसफाइ गर्ने काम, पति र सासू–ससुराको आज्ञापालन गर्ने काम, नोकरचाकरलाई अदपमा राख्ने काम इत्यादि त्यहाँ निर्दिष्ट छन्।

जस्तै—
मान्ना छन् घरमा सबै जति जनातिन्लाइ ढोग्भेट् गरी
चाकर्लाइ अह्राउनू खुशि हुँदैमीठा वचन्ले गरी। श्लोक३)

घर् सब् झारिबढारि नित्त्य तसलेलिप्तै र पोत्तै रहोस्
चाकर् सब् थलिया गया कहिँ भन्याआफैँ तयारी रहोस्। श्लो.५)

उक्त श्लोकहरूले नोकर–चाकर भएका समृद्ध घरका समेत बुहारीहरूले के–कसरी घरव्यवहार गर्नुुपर्छ भन्ने शिक्षा दिन खोजेको देखिन्छ। केकस्ता काम बुहारी आफैँले गर्ने र केकस्ता काम नोकर–चाकरलाई लगाउने भन्ने निर्देशन पनि यहाँ दिइएको छ—

तस्मात् नित्त्य टिका लगाइ पहिले धन्धा पछाडी गरून्
पूजाको सरजाम् तयार् गरिसकी भान्साबिषे मन् धरून्।
भान्साको सरजाम चाकर गरून् भाँडा सफाई गरी
खान्या चीज भँडारमा पसि झिकुन् आफैँ अगाडी सरी।। श्लो.७)

विवाहिता स्त्रीले स्नान गरेपछि टीका लगाउनुपर्ने, खालि निधार राख्न नहुने कुरा पनि विशेष रूपमा अघिल्लै श्लोकमा बताइएको छ—

स्त्रीको खालि निधार् कदापि नरहोस् खाली निधार्मै जती
गर्छन् कर्म फलै हुँदैन तिनको टीको लगायाजती।। श्लो.६)

अधिकारअनुसार स्नान–सन्ध्या, ब्रह्मयज्ञ, तर्पण इत्यादि वैदिक कर्म अथवा पुराणअनुसारका पूजाआजा गर्ने मुख्य कर्तव्य पतिको हो। यस कार्यमा पतिलाई सघाउनुचाहिँ पत्नीको मुख्य कर्तव्य हो। यो कुरा ऐलेका धेरैजसो व्यक्तिले बुझ्नै पाएका छैनन्। भानुभक्तले यस विषयलाई राम्ररी स्पष्ट पारेका छन्। साथै घरआँगनमा आएका जोगीलाई मुठीभर चामल दिनु पनि प्रत्येक गृहिणीको कर्तव्य हो भनेर समेत सम्झाएका छन्—

पूजाको सरजाम् गरून् पति पुजा गर्छन् प्रभूको भनी
पूजामा खतडा कदापि नपरोस् कौनै कुराले पनी।
कस्तै अल्मलमा रहोस् घरमहाँ आया जगाया अलक्।
जोगी–जङ्गमले भन्या मुठि दिनू ढीलो नगर्नू पलक्।। श्लो.४)

सासू भएका घरमा सासू नै घरमूली हुने भएकाले बुहारीले उनको निर्देशनमा घरव्यवहारको काम सिक्नुपर्ने भन्ने भानुभक्तको दिएको उपदेश स्वाभाविक र आवश्यक पनि देखिन्छ। यसरी नै हजारौँ वर्षदेखि पुराना पुस्ताका अनुभव र ज्ञान अर्को पुस्तामा सर्दै निरन्तर आइरहेका हुन्। त्यसैले भानुभक्तले बुहारीलाई प्रातःस्नान गरेपछिसासूसित सोधेर उनका निर्देशनमा घरको काम गर्न भनेका हुन्—

झट्पट् स्नान गरेर शुद्ध जलले सब् देह निर्मल् गरी
जस्तो पुग्दछ सोहिमाफिक असल् धोती कटीमा धरी।
सासूका चरणारविन्दयुगमा पूगेर पाऊ परून्
मैले काम् गरु क्या अह्राउनुहवस् यो ताँहिँ बिन्ती गरून्।। श्लो.२)

घरमा आवश्यक पर्ने सामग्रीहरूलाई यथास्थान राख्ने र आवश्यक पर्दा झिकेर तिनको उपयोग गर्ने महत्त्वपूर्ण निर्देश पनि वधूशिक्षामा दिइएको छ—“जुन् स्थान् हो चिजको उहीँ लगि उ चिज् राख्न्या स्वभाव् यो धरून्” ६)। आवश्यक परेका वेलामा खोजेको सामग्री घरमै भए पनि फेला नपर्ने समस्याजहिले पनि हुन सक्ने हुँदा यो विषय आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ। घरमै भएको वस्तु आवश्यक पर्दा खोज्दा नपाइनु सारै ठूलो कमजोरी हो भन्ने कुरालाई भानुभक्तले यसरी व्यक्त गरेका छन्—

जो चिज् छन् घरमा हिरा तल पिह्रा सब् चीज् मनैमा रहुन्
जो खोज्छन् पतिले उ चीज् उहि बखत् ल्याएर चाँडो दिउन्।
खोज्दामा छनता थियो तर कता राख्याँ हरायो भनी
भन्नू यो पतिथ्यैँ प¥यो पनि भन्या मानोस् मर्‍या झैँ पनी।। श्लो.२३)

घरमा रोगी, बालक र वृद्ध व्यक्ति पनि हुन्छन्। तिनको स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ र तिनलाई हितकर खानपिन गराउनुपर्छ भन्ने कुरा भानुभक्तले “रोगी बालक वृद्ध कोही घरमा हुन्छन् त तिन्का पनी, घत् जानीकन तम्तयार् चिज गरून् खान्या छ यस्तो भनी” ८)  यस श्लोकले स्पष्ट पारेका छन्। स्वास्थ्य सारै महत्त्वपूर्ण विषय भएकाले त्यसअनुसार नै खानपिनमा ध्यान दिनुपर्र्छ भन्ने यो निर्देशन सबैले पालन गर्नुपर्ने देखिन्छ।

वर्षभरि आउने विभिन्न चाडपर्वका निम्ति आवश्यक सामग्रीहरूको यथासमय सङ्ग्रह गरिराख्नुपर्छ भन्ने व्यावहारिक शिक्षा पनि वधूहरूलाई भानुभक्तले दिएका छन्—

पर्छन् श्राद्ध दसैँ तिहार अरु चाड् चाहिन्छ तिन्मा जती,
त्यो चीज् सम्झि अगाडि सङ्ग्रहगरोस् यस्मा नचूकोस् रती।। श्लो.१४)

घरमा खाद्यवस्तुको कसरी संरक्षण गर्ने, थन्क्याएर सुरक्षित राखेका खाद्यवस्तुकुहिएर वा बिग्रिएर खेरा नजाँदै तिनको सदुपयोग कसरी गर्ने भन्ने विषयमा पनि भानुभक्तले गृहिणीहरूको ध्यानाकर्षण गरेका छन्। खाद्यवस्तु कि आफूले उपभोग गर्नुपर्‍यो कि अरूलाई उपभोग गर्न दिनुपर्‍यो, त्यसै खेरा जान दिन भएन भन्ने उनको उक्ति सारै घतिलो देखिन्छ—

खान्या चीज् जति छन् सबै नजरले हेरेर ढाक्छोप् गरून्
जो चीज् हुन्छ सुकाउन्या तिनकनै लीएर घाम्मा धरून्।
खान्या चीज कुहेर फाल्न नपरोस् दीनू कि खानू बरू
एती जान्नु अवश्य धेर् अब बखान् कुन्कुन् कुराको गरु।। श्लो.१४)

उपसंहार

यसरी वधूशिक्षाका धेरैजसो श्लोकमा गृहव्यवस्थापनका निम्ति उपयोगी उपदेश दिइएका छन्, त्यसैले यो गृहविज्ञानको ग्रन्थ पनि हो। सदाचारपूर्ण जीवनयापन गर्न चाहने र पारिवारिक सम्बन्धलाई सुदृढ बनाउन चाहने सबै हिन्दु गृहिणीहरूका निम्ति अहिले पनि भानुभक्तले वधूशिक्षामा दिएका अधिकांश उपदेशहरू कल्याणकारी, व्यावहारिक र अनुसरणीय नै देखिन्छन्। तसर्थ अहिलेका परिस्थितिमा समेत उपयोगी हुन सक्ने उपदेश त्यति वेला दिने भानुभक्तको आलोचना गर्नुको कुनै औचित्य देखिँदैन। परिवारलाई व्यवस्थित र सुखी राख्न गृहिणीहरूको सर्वाधिक भूमिका रहने कुरा शास्त्रबाट र व्यवहारबाट बुझ्न सकिन्छ।

पुस ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्