मेसी र एम्बाप्पे एकै ‘म्यान’ मा दुई तरवार, सँगै रहलान्?

विश्वकपको उपाधिमा फाइनल होडमा एकअर्का विरुद्ध भिडेका लियोनेल मेसी र केलिएन एम्बाप्पे व्यावसायिक रूपमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)मा आवद्ध छन्। शनिबारमात्र मेसीले पिएसजीमा सम्झौता रहँदा नै थप लम्ब्याउने बताइसकेका छन्। एम्बाप्पेले पनि यसअघि नै पिएसजीमा सम्झौता लम्ब्याइसकेका छन्।

तर पछिल्लो समय यी दुई खेलाडीबीचको सम्बन्धलाई लिएर एकै टिममा रहन नसक्ने अनुमानहरू गरिँदैछ। तर एम्बाप्पेले विश्वकपको उपाधि भिड्न्तपछि १० दिनको छुट्टीमा रहे पनि उनी विश्वकपको फाइनलको ६४ घण्टापछि नै पिएसजीको ट्रेनिङमा पुगिसकेका थिए।

उनले आफू क्लबप्रति प्रतिवद्ध रहेको सन्देश दिए पनि पछिल्लो समय उनी अब मेसी र नेमारसँग पिएसजीमा रहने सम्भावना कमजोर रहेको मानिन्छ। धेरैले मेसी र एम्बाप्पेलाई एकै ‘म्यान’ मा दुई तरवार नअटाउने बताउँदै आएका छन्। कतिपयले भने अब तीनै खेलाडीको एकै लक्ष्य च्याम्पियन्स लिग भएकाले थप राम्रो ‘समन्वय’ हुने दावी गरेका छन्।

२०२१ मा बार्सिलोनाबाट पिएसजीमा फ्री एजेन्टमा आएका मेसीको २०२३ को जुनसम्म सम्झौता रहेको थियो। तर उनलाई क्लब अध्यक्ष नासर अल-खेलाइफीले सम्झौता लम्ब्याउन आग्रह गरेका थिए। जसमा मेसी सकरात्मक रहे। उनले थप एक वर्षे सम्झौता लम्ब्याउने अनुमान गरिएको छ।

फ्रेन्च च्याम्पियन पिएसजी च्याम्पियन्स लिग जित्न चाहन्छ। त्यसका लागि उसले स्टार खेलाडीलाई क्लबमा नै राखिरहेको छ। अहिले नेमार, एम्बाप्पे र मेसीको समन्वय मिलाएर उपाधि दाबेदार टिम बन्न चाहन्छ। त्यसो त यी तीन खेलाडीमा नेमार र मेसीको सम्बन्धमा कुनै समस्या छैन। तर एम्बाप्पेको भने दुवै खेलाडीसँगको सम्बन्ध राम्रो नरहेको मानिन्छ।

विश्वकपले ‘झन् टाढा’?

विश्वकप फुटबलमा फ्रान्स र अर्जेन्टिनाले फाइनल खेले। इतिहासकै रोमाञ्चक मानिएको फाइनलमा फ्रान्सका स्टार केलिएन एम्बाप्पे र अर्जेन्टिनी स्टार लियोनेल मेसी दुवै चम्किए। एम्बाप्पेले ह्याट्रिक गरे। मेसीले दुई गोल गरे।

प्रतिस्पर्धात्मक खेलमा निर्धारित र अतिरिक्त समय ३-३ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो। जहाँ अर्जेन्टिनाले बाजी मार्‍याे। दुई प्रतिस्पर्धी बीच पुरस्कार वितरणमा पनि सहजता देखिएको थिएन।

तर पछिल्लो समय एम्बाप्पे अर्जेन्टिनाले आफूविरुद्ध गरेको सेलिब्रेसनबाट रुष्ट छन्। त्यसलाई मेसीले रोक्न नचाहेको उनको बुझाइ छ। अर्जेन्टिनाले विश्वकप जित्दाको खुसी र्‍यालीमा गोलरक्षक इमिलियानो मार्टिनेजले फ्रेन्च तथा पिएसजी स्टार एम्बाप्पेको कार्टुन बनाएर बोकेका थिए।

मार्टिनेजकाे छेउमै रहे पनि मेसीले कुनै प्रतिवाद नगरेको भन्दै फ्रेन्च मिडियामा मेसीको समेत आलोचना भइरहेको छ। जसले गर्दा एम्बाप्पे मेसीसँग थप रुष्ट बनेको जनाइएको छ। यसलाई पनि एम्बाप्पे मेसीसँगै बस्न नसक्ने कारणका रूपमा हेरिएको छ।

एम्बाप्पे र मेसीका केही रेकर्ड

मेसीले विश्वकपसँगै ४२ उपाधि जितेका छन्। यसक्रममा उनले ७९३ गोल गरिसकेका छन्। साथै ३५४ एसिस्टसमेत गरेका छन्। मेसीले ७ बालोन डि’ओर, ६ गोल्डेन बुट २ फिफा विश्वकप गोल्डेन बललगायत विभिन्न उपाधि हासिल गरेका छन्।

यी दुईबीच विश्वकपको सर्वाधिक गोलकर्ता बन्ने प्रतिस्पर्धा रहेको थियो। जहाँ विश्वकप टप स्कोरर एम्बाप्पे बन्दा विश्वकप टप एसिस्ट प्रोभाइडर मेसी बने। त्यस्तै, च्याम्पियन्स लिग टप स्कोरर एमबाप्पे, च्याम्पियन्स लिग टप एसिस्ट मेसी, लिग वान टप स्कोरर एम्बाप्पे, लिग वान टप एसिस्ट प्रोभाइडर मेसी।

असमझदारीको फाइदा उठाउन चाहन्छ रियल

केलिएन एम्बाप्पे गत वर्ष फ्री एजेन्ट हुँदा नै रियलले उनलाई क्लबमा भित्राउन अनेकन प्रयास गरेको थियो। तर लिग वान क्लब पिएसजीले एम्बाप्पेलाई क्लबमा नै राख्न सफल रह्यो। तर अझै पनि एम्बाप्पेलाई क्लबमा भित्राउने चाहना रियलले त्यागेको छैन।

रियल मड्रिडले अझै पनि एम्बाप्पेका लागि मोटो रकम खर्च गर्न तयार रहेको जनाएको छ। केलिएन एम्बाप्पेले पनि पिएसजीमा रहँदा रियल म्याड्रिडमा जाने प्रयास गरेका थिए।

तर अन्तिम समयमा उनले पिएसजीमै रहने निर्णय गरेका थिए। तर पछिल्लो समय क्लबसँग असन्तुष्ट रहेका एमबाप्पेलाई पुन: क्लबमा ल्याउनका लागि रियलले प्रयास सुरु गरेको छ।

पुस ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्