के निर्णय गर्‍यो मन्त्रिपरिषद्‌को पहिलो बैठकले?

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नवनियुक्त मन्त्रीहरु सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को पहिलो बैठकमा सहभागी हुनुहुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौँ – नवगठित  मन्त्रिपरिषद्‌को पहिलो बैठक बसेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार बेलुका मन्त्रिपरिषद्‌को पहिलो बैठक बसेको हो।

बैठकले अर्थतन्त्रमा सुधार, जनताका समस्या प्रभावकारी रुपमा सम्बोधन गर्नेलगायतका निर्णय गरेको बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी दिए।

मन्त्रिपरिषद्को पहिलो बैठकका निर्णयबारे जानकारी दिँदै उनले भने, ‘नेपालको अर्थतन्त्रको स्थिति जसरी जटिल र चुनौतीपूर्ण दिशातिर छ, त्यसलाई सुधार्ने। प्रभावकारी उपायमा केन्द्रीय भएर अगाडि बढ्ने कुरा, सुशासनतिर गम्भीर ढंगले बढ्ने कुरा र जनताले ठाउँठाउँमा पाइराखेका सास्ती र दुःखलाई कम गराउनेबारे, जस्तोः राहदानीसम्बन्धी वा लाइसेन्ससम्बन्धी विषयमा लामा–लामा लाइन र पीडा जुन देखिएको छ, त्यो विषयमा केन्द्रित भएर हामीले समयभित्रै यसलाई प्रभावकारी ढंगले जनतालाई सेवा दिने किसिममा हामी केन्द्रीत भएका छौँ।’

नयाँ सरकार बनेपछि जनतामा आशा बढेको उनको भनाइ थियो। ‘नयाँ मन्त्रिपरिषद् गठन भएपछि जनतामा र आम रुपमा एउटा आशा र भरोसा बढेको देखिएको छ। मैले महशुस गरेको कुरा त्यो हो। त्यसका अगाडि थुप्रै जटिलता र चुनौतीहरु छन्। मन्त्रिपरिषद्‌ले एउटा आशा जगाएको छ,’ उनले भने।

साथै मन्त्रिपरिषद् बैठक बलाउनेबारे पनि निर्णय भएको उनले बताए। उनले भने, ‘साथै हामी प्रतिनिधिसभाको बैठक बोलाउनेबारेमा पनि निर्णय गरेका छौँ। हामीले अब गभ्मीर रुपमा देशका अगाडि रहेका जनताका समस्याहरु सम्बोधन गर्न केन्द्रित अहुने संकल्प गरेका छौँ।’

गठबन्धन भए पनि आफूलाई काम गर्न असहज नहुने उनको भनाइ थियो। उनले भने, ‘सबै केही गरी छाड्ने भन्नेहरुको केन्दीकरण भएको छ। त्यसैले सहज छ।’

पुस ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्