संसद अधिवेशनका लागि तयार छ संघीय संसद सचिवालय

फाइल तस्बिर।

काठमाडाैँ- संघीय संसद सचिवालयले संसदको अधिवेशनका लागि तयार रहेको बताएको छ।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले सबै दलको संसदीय दलको कार्यालय व्यवस्थापन भइसकेको र सबै तयारी समेत पूरा भइसकेको बताएका हुन्।

सहायक प्रवक्ता धमलाले सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, प्रशासनिक कुराहरू सकिएको जानकारी दिए।

सरकारले पुस २५ गते दिउँसो १ बजे संसद अधिवेशन आह्वान गरेको छ।

उनले संसदका पदाधिकारीहरूलाई दिइने सवारी साधनको भने अभाव रहेको बताए।

उनले भने, ‘अधिवेशन आह्वान हुन्छ भन्नेमा तयारी अवस्थामा छौँ। संसदीय दलका कार्यालयको व्यवस्थापन भइसकेको छ। सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, प्रशासनिक दृष्टिकोणले हेर्ने सम्पूर्ण कुराहरू सकिएको छ। गर्नुपर्ने तयारी प्रायः सकिसकेका छौँ।’

सहायक प्रवक्ता धमलाले संघीय संसद सचिवालयमा स्रोतको अभाव हुँदापनि सरकार र अर्थ मन्त्रालय नजरअन्दाज गरेर बसेको आरोपसमेत लगाए।

पुस १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्