लुम्बिनी प्रदेश सभाः पुस १८ मा पहिलो अधिवेशन आह्वान

दाङ – लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशन पुस १८ गतेका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते सोमवार दिउँसो एक बजे अधिवेशन आह्वान गरेका हुन्।

पहिलो अधिवेशन स्थायी राजधानी राप्ती उपत्यकामा आह्वान गरिएको हो । प्रदेश सभाको नवनिर्मित भवनमा अधिवेशन बस्नेछ। यस्तै प्रदेश सभा सदस्यको शपथग्रहण पुस १७ गते गरिने भएको छ।

 प्रदेश सभा सचिवालयका अनुसार पुस १७ गते दिउँसो १ बजे राप्ती उपत्यका देउखुरीमा निर्मित प्रदेश सभाको नयाँ भवनमा नवनिर्वाचित प्रदेश सभा सदस्यहरुको शपथग्रहण राखिएको हो । अधिवेशन बस्नुअघि नै शपथग्रहण गर्नुपर्ने प्रदेश सभा नियमावलीमा उल्लेख छ।

सोही आधारमा अधिवेशनको अघिल्लो दिन पुस १७ गते शपथग्रहण तोकिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए। १६ गते शपथग्रहण राख्ने तयारी गरिए पनि शनिवार परेकाले एक दिन पछि सारिएको हो।

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको पहिलो अधिवेशन पुस १८ गते आह्वान गर्ने निर्णय गरेको थियो । लुम्बिनी प्रदेश सभा नियमावली २०७९ का आधारमा प्रदेश सभाले काम गर्ने छ । नेपालको संविधानको धारा १८३ को उपधारा एक बमोजिम प्रदेश सभाको पहिलो अधिवेशन आह्वानपश्चात प्रदेश सभाको बैठक बस्नुअघि प्रदेश सभामा निर्वाचित भई आउने सदस्यले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनियताको शपथ लिनुपर्ने उल्लेख छ।

सोही आधारमा प्रमुख शेरचनले शपथग्रहण गराउनेछन् । ८७ जना प्रदेश सभा सदस्य निर्वाचित भएका छन्। ५२ जना प्रत्यक्ष र ३५ जना समानुपातिकबाट निर्वाचित भएका हुन्।

पुस १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्