‘शिक्षाप्रणालीमा सुधार हुन नसक्दा शिक्षण पेसाप्रतिको आकर्षण घट्याे’

काठमाडौँ – शिक्षाविद्हरूले नेपालको शिक्षाप्रणालीमा सुधार हुन नसक्दा शिक्षण पेसामा आकर्षण घट्दै गएको बताएका छन्।
काठमाडौँमा बिहीवार आयाेजित एक कार्यक्रममा शिक्षाविद्हरूले पछिल्लो समय नेपालमा विषयगत शिक्षकको कमी भइरहेको र शिक्षकमा पनि उपयुक्त योग्यता भएको नपाइएको बताए।
विज्ञहरूले आवश्यक शिक्षक मागसमेत पूर्ति हुन नसकेको बताए। कार्यक्रममा शिक्षा सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले मधेस प्रदेशका जिल्लामा शिक्षक मागेजति पनि उम्मेदवार नपाएको बताए। उनले खोजेजति योग्य शिक्षक पाउन नसकेको भन्दै सरकारले यसप्रति गम्भीर बन्नुपर्ने बताए। उनले सामान्य परीक्षाबाट उत्तिर्ण भएका शिक्षक पनि विषयगत परीक्षामा फेल भएकाले नेपालको शिक्षा प्रणालीलाई वैज्ञानिक र नयाँ किसिमबाट विकसित गर्न आवश्यक रहेको बताए।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर शिवलाल भुसालले विद्यालय स्तरको शिक्षाले तत्काललाई मात्रै नभइ एउटा युगको भविष्य बोक्ने भएकाले विद्यालय स्तरमा शिक्षा प्रणालीको सुधार अति आवश्यक भइसकेको बताए। उनले विद्यालयस्तरको शिक्षालाई आवश्यक सुधार र पमिार्जन गरी योग्यता पुगेका शिक्षकबाट गुणस्तरीय शिक्षा दिन आवश्यक रहेको बताए।
विद्यालय स्तरमा गुणस्तरयुक्त शिक्षा दिन नसके एउटा युग नै नष्ट हुने बताए। रेक्टर भुसालले शिक्षण व्यवसायमा आकर्षण घट्दै गइरहेको भन्दै सबैभन्दा पहिला शिक्षाको गुणस्तर बढाउन सक्नुपर्ने र देशका हरेक क्षेत्रमा शिक्षाको गुणस्तरलाई गम्भीर रूपमा लिन आवश्यक रहेको बताए।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका डिन बालचन्द्र लुइँटेलले नेपालमा शिक्षाको गुणस्तरलाई बढाउन शिक्षकलाई प्रशिक्षण दिन आवश्यक भएको बताए। उनले विकासशील देशमा शिक्षकलाई योग्य बनाउन सरकारले विभिन्न शैक्षिक तालिम दिने गरेको तर नेपालमा भने आवश्यक तालिम हुन नसकेको गुनासो गर्नुभयो। उनले तालिम दिँदा पनि विषयगत वा सामान्य तालिमका बारेमा सरकारले चासो राख्न आवश्यक रहेको बताए।
उनले वर्तमान अवस्थामा शिक्षकलाई विषयवस्तु, विज्ञानसम्मत कुराहरूको बारेमा अपडेट गराउन आवश्यक भइसकेको बताए। उनले नेपालको शिक्षामा पढाइलेखाइमा पनि समस्या रहेको बताए। उनले शिक्षाका विषयवस्तु र पाठ्यक्रमसँगै पढाइलेखाइको तौरतरिकाहरूमा पनि सुधार गर्न जरुरी रहेको बताए।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका डिन चित्रबहादुर बुढाथोकीले शिक्षामा सुधार गर्नका लागि सरकारले तालिम दिने संस्था छुट्टै बनाउन नसकेको गुनासो गर्नुभयो। उनले सरकारले कस्तो शिक्षक तयार पार्ने भन्ने नीति नहुँदा र मापदण्ड नबनाउँदा शिक्षकमा गुणस्तर हुन नसकेको बताए। उनले अन्य मुलुकमा विश्वविद्यालयलाई कस्तो शिक्षक बनाउने र कस्तो तालिम दिने ? तालिम दिँदा कस्तो शिक्षकलाई दिने भन्ने बारेमा सोच्नुपर्ने बताए। उनले सरकार शिक्षक बनाउने कुरामा स्पष्ट नीतिका साथ अघि बढ्न नसकेको पनि बताए। उनले नेपालमा अगाडि गएर बोर्डमा अक्षर लेख्ने मान्छेलाई शिक्षक भनेर बुझ्नु नै गलत रहेको बताए।
कार्यक्रममा शिक्षाविद् मनप्रसाद वाग्लेले विश्वविद्यालयहरूले गर्ने काममा समेत सरकारलाई दोष दिएर उम्किने प्रवृत्ति त्याग्नुपर्ने बताए। उनले विश्वविद्यालयका पदाधिकारीहरूले नै गर्नसक्ने कामलाई नगरेर अरुको टाउकोमा दोष थुपार्ने काम भएसम्म शिक्षाको विकास हुन नसक्ने बताए।
उनले शिक्षा सेवा आयोगले नै लाइसेन्स दिएका शिक्षक विषयगत परीक्षामा अनुत्तीर्ण भएका कारण अहिलेको समस्या आएको भन्दै आयोगले लाइसेन्स दिने बेलामा ध्यान किन नदिएको भन्दै प्रश्न गर्नुभयो। उनले नीति अनुसन्धान प्रतिष्ठान अपडेट हुन नसकेको गुनासो गरे। उनले विश्वमा शिक्षकको अभाव भइरहेको भन्दै बाहिरी मुुलुकमा शिक्षक आह्वान भइरहेकाले आकर्षण दिएर नेपालले पनि बाहिरी मुलुकका शिक्षक नेपालमा भित्र्याउनुपर्ने बताए।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका रजिष्टार माधव अधिकारीले शिक्षकमा आवश्यक तलवमान नहुनु, शिक्षण पेसालाई गाउँ र समाजले हेर्ने दृष्टिकोणमा सकारात्मक नदेखिनुले शिक्षण पेसामा आकर्षण घटेको बताए।
उनले युवा पुस्तामा शिक्षण पेसामा आकर्षण नहुनु, शिक्षामा राजनीति हुनु, नेपालमा शिक्षाको सही पहिचान हनु नसक्दा पनि शिक्षा क्षेत्रमा समस्या बढ्दै गइरहेको बताए। उनले संस्कृत गुरुकुलको नतिजा समयमा हुन नसक्नु र पाठ्यपुस्तकहरू नपाइनुले संस्कृत शिक्षामा कमी भइरहेको बताए।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले नेपालमा शिक्षक नभएको, भएका शिक्षकमा गुणस्तर नभएको र गुणस्तर शिक्षकलाई आवश्यक पहिचान र संवद्र्धन हुन नसक्ने समस्या प्रचुर रहेको बताए।
उनले शिक्षा क्षेत्रलाई गुणस्तरयुक्त बनाएर लैजानका लागि शिक्षा नीतिको सुधार आवश्यक भएपनि शिक्षा नीति सुधारका लागि मन्त्रालय तयार रहेको बताए। सरकारले शिक्षा नीति ल्याएको र अब सरकारको शिक्षा नीतिको कार्यान्वयन गरेर अघि बढ्न आवश्यक भएको बताए।
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव शंकरप्रसाद भण्डारीले सरकारले बनाएका नीति कार्यान्वयनको चुनौति रहेकाले सबैले कार्यान्वयनको पक्षमा अघि बढ्न आवश्यक रहेको बताए। उनले उच्च शिक्षालाई कसरी गुणस्तर बनाउने भन्ने सन्दर्भमा देशको करिकुलम लगायतका विषयवस्तुमा ध्यान दिनुपर्ने बताए।
उनले सम्बन्धित निकायहरू शिक्षा क्षेत्रमा परिमार्जन र विषयवस्तुहरूलाई नयाँ तरिकामा अघि बढाउन नसक्ने कमजोरी रहेको बताए। उनले नेपालमा शिक्षकले शिक्षण पेसालाई ज्ञान दिने कुरा भन्दा पनि जागिर खाने कुरामा जोड दिएकाले शैक्षिक गुणस्तरमा कमी आएको बताए।
उनले शिक्षकले पनि आफू शिक्षक भइसकेपछि समाजलाई परिवर्तन गर्नसक्ने भुमिका निर्वाह गर्नुपर्छ भन्ने कुरालाई आफ्नो दायित्व सम्झेर अघि बढ्न सक्नुपर्ने बताए। उनले शिक्षकले समाजप्रतिको उत्तरदायित्व वहन नगरेसम्म शिक्षामा सुधार हुन नसक्ने बताए।
कार्यक्रममा सहभागी अन्य शिक्षाविद्हरूले शिक्षक बन्नको लागि न्युनतम शैक्षिक ज्ञान हुन आवश्यक रहेको बताए। उनीहरूले शिक्षक छनोट गर्ने प्रक्रिया प्राकृतिक नभएको गुनासो गरे। उनीहरूले अभिभावक र विद्यालयबीचको सम्बन्ध सत्तापक्ष र प्रतिपक्षको जस्तो देखिएकाले अभिभावक संघले यसमा आफ्नो भुमिकाप्रति उत्तरदायी बन्न आग्रह गरे।