देशभरको भ्रमण सकेर काठमाडौँ आइपुग्यो नेपथ्य, शनिबार भृकुटीमण्डवमा भव्य सांगीतिक प्रस्तुति

काठमाडौँ– मुलुकको पूर्वी कुनादेखि पश्चिम कुनासम्म सातैवटा प्रदेशमा भव्य प्रस्तुतिपछि यस श्रृंखलाकै अन्तिम कन्सर्ट प्रस्तुत गर्न नेपथ्य टोली राजधानी आइपुगेको छ। के पहाड के तराई सबैतिर ब्याण्डले चौरभरि अटाएका हजारौं हजार दर्शक उपस्थिति पाएको थियो। यसरी नौ स्थानमा सांगीतिक देशदौडाहा सम्पन्न गरेपछि नेपथ्यले दशौं प्रस्तुतिका रुपमा भोलि पुस १६ गते शनिबार काठमाडौं उपत्यकाका दर्शकसँग भृकुटीमण्डपमा साक्षात्कार गर्ने भएको छ। शनिबार भृकुटीमण्डपमा बेलुका चार बजेदेखि सुरु हुनेछ।

राजधानीको प्रदर्शनका लागि ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङको प्रस्तुति रहनेछ। अन्य कलाकारसँगै प्राविधिक र ब्यवस्थापन गरेर ७० जनाको टिमसहित नेपथ्यको प्रस्तुति रहनेछ। ‘नेपथ्य समूहले संगीतबाट मनोरञ्जन मात्र नभइ लोक कल्याणका हिसाबले आफूलाई प्रस्तुत गरेर एउटा उदाहरण बन्नपुगेको छ,’ आयोजक मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले भने, ‘कार्यक्रमलाई भब्य रुपमा प्रस्तुत गर्न आयोजकका हिसाबले सम्पूर्ण तयारी पुरा गरिसकेका छौं ।’

शुक्रबार मानवसेवा आश्रमले राजधानीको रानीबारीस्थित भवनमा नेपथ्य टोलीसँग भेटघाट तथा परिचय आदानप्रदान कार्यक्रम पनि राखेको थियो । त्यस बखत टोलीलाई मानवसेवा आश्रमको रानीबन शाखामा स्वागत तथा सम्मान गरिएको थियो। त्यस अवसरमा मानवसेवा आश्रमका प्रमुख रामजी अधिकारीलगायत पदाधिकारीहरुको उपस्थिति थियो। अध्यक्ष अधिकारीका अनुसार काठमाडौं कन्सर्टका टिकटहरु भृकुटीमण्डपबाटै धमाधम बिक्री भइरहेका छन्।

समयमै टिकट लिएर सिट सुरक्षित गर्न चाहने दर्शकहरुले अनलाइन मार्फत् पनि टिकट काट्न सक्ने उनले बताए । त्यसको निम्ति मानवसेवा आश्रमको आधिकारिक वेबसाइट एमएसए डट ओआरजी msa.org.np मार्फत सोझै काट्न सकिन्छ । त्यसैगरी नेपथ्य ब्याण्डको वेबसाइट nepathya.com.np बाट पनि कन्सर्टहरुको टिकट उपलब्ध गराइएको छ।

टेलिफोनमार्फत् सिट सुरक्षित गर्न चाहने दर्शकहरुका निम्ति ९८५५०७६००५, ९८४३३४७६०५ र ९८४३३४७६११ नम्बर उपलब्ध छन् । यस कन्सर्टको लाभांशले मानवता प्रवर्द्धनका साथै राजधानी काठमाडौंमा आश्रमको आफ्नै शाखा भवन बनाउने सोच लिइएको छ। त्यसैगरि यसबाट बेसहाराहरुको खाना, नाना र छानाका निम्ति अक्षयकोषको पनि स्थापना गरिनेछ यसपटकको दौडाहा अन्तर्गत नेपथ्यले बिराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगंज, धनगढी,सुर्खेत, बुटवल र पोखरामा आफूलाई प्रस्तुत गरेको थियो।

नेपथ्यले मुलुकभर सबैभन्दा बढी प्रस्तुति काठमाडौं उपत्यकामै दिएको छ । त्यसमध्ये ‘शान्तिको लागि शिक्षा’ अभियानअन्तर्गत मात्रै ६ पटक प्रस्तुत भइसकेको छ। भोकमुक्त अभियानअन्तर्गत एकपटक र असहायका निम्ति उनीहरुको आश्रय थलो एवं पुनस्र्थापना केन्द्रहरुमै गएर छ पटक कन्सर्ट गरेको थियो। अघिल्लोपटक राजधानीमा नेपथ्यले भुकम्पमा भत्किएको दोलखाको एउटा सरकारी भवन निर्माणार्थ आफूलाई तीन वर्षअघि भृकुटीमण्डपमै उभ्याएको थियो ।

यसपटक नयाँ अभियान ‘मानवताको लागि संगीत’ अन्तर्गत यो अन्तिम कन्सर्ट पनि भृकुटीमण्डपकै फरक मैदानमा हुनलागेको हो । संगीतका साथसाथै मानवताको उद्देश्यसहित मानवसेवा आश्रमको आयोजनामा यसपटक नेपथ्यले मुलुकभरको यात्रा गरेको हो   बिराटनगरबाट सुरुभएको यो यात्रा एक महिना लामो रह्यो। शनिबारको प्रस्तुतीका लागि भृकुटीमण्डप मैदानमा मञ्च बनाउने काम धमाधम सुरु भइसकेको छ । कार्यक्रम आयोजना स्थलमा शुक्रबार बेलुकी आवाज तथा प्रकाशको परिक्षण गरिदैछ।

पुस १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्