नाटक समिक्षा

हाम्रा विद्यालय ‘ज्ञानकाे चिहान’

‍काठमाडाैँ- आयामले पढाउँदै गरेको विद्यालयबाट राजीनामा दियो। विद्यालय व्वस्थापन समितिको बैठकमा अध्यक्ष र अन्य शिक्षकसँग वादविवाद हुँदा अध्यक्षले आयामलाई करारमा रहेको याद दिलाउछँन्।

बुढापाका शिक्षक जसको तन र मनमा शिक्षाको पुरानो तरिका छ। उनीहरूका लागि अंग्रेजी राम्रो हुनु र राम्रो नम्बर ल्याउनु मात्र उत्कृष्टताको मानक हो। युवा आयाम व्यावहारिक शिक्षामा जोड दिन्छ। आयामको उमेर समूहलाई नै पढाएका शिक्षक विद्यार्थीलाई कडाइका साथ सजाए दिएर पढाउनु पर्नेमा जोड दिन्छन्। आयाम व्यावहारिक र रचनात्मक तरिकाले पढाउनु पर्नेमा अड्डी कस्छन्। यही विषयमा वादविवाद हुन्छ अनि आयामले राजीनामा दिन्छन्।

आयाम, युग र उनका साथीहरूलाई विद्यार्थी राजनीति मन पर्दैन। उनीहरू विश्वविद्यालयको एक कुनामा बसेर गफ गरिरहेका छन्। आयाम क्रान्तिकारी त छ तर विद्यालयमा हुने राजनीति मन पर्दैन। युग जो पढाइसकेर विदेश उड्ने चक्करमा छ।

विश्वविद्यालयको राजनीतिमा लागेकी ज्वाला आयाम, युग र उनीहरूका साथीलाई राजनीतिमा लाग्न हौसाउँछिन्। उनीहरू भन्छन्- यो फोहोरी राजनीतिमा लाग्नु छैन।

ज्वाला भन्छिन् , ‘सुगुरको खोर सफा गर्न भित्र पस्नै पर्छ नत्र कसरी सफा हुन्छ?

तर सफा गर्न गएकाहरू नै सुगुर भएर निस्किए भने? जवाफ कसले दिने?

नाटक ‘ज्ञानको चिहानले’ शिक्षाका नाममा हुने व्यापार, राजनीति, अव्यावहारिक शिक्षा र राजनीतिका लागि प्रयोग हुने विद्यालयबारे गज्जबको चित्रण गरेको छ।

स्थान उही, समस्या उही, पात्र फरक तर रुवाइ उही। समस्या कहाँ छ? थाहा छ। तर समाधान छैन। गर्नुपर्ने यो हो भन्ने धेरै भेटिन्छन् तर गर्ने भेटिँदैनन्। यो हाम्रो समाजको चित्र हो, शिक्षाको चित्र हो।

एक आमा जो आफ्नो बच्चाको ज्ञान विद्यालयले दिने प्रमाणपत्रमा खोज्छिन्। त्यही विद्यालय जो अभिभावकको यही कमजाेरीलाई फाइदामा बदल्न खोज्छ। पढाउने पूरानो तरिकालाई भुल्न नसकेका शिक्षक र राजनीतिले गाँजेको स्थानीय विद्यालय। विश्वविद्यालयमा हुने विद्यार्थी राजनीति र त्यसको अराजक पाटो। अनि विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिमाथि नाटकले खरो व्यङ्ग्य गरेको छ।

विश्वविद्यालयमा बढेकाे विद्यार्थीकाे संख्या र बनाइएका भवन र संरचनालाई मात्र आफ्नाे सफलता मान्ने भिसी (उपकुलपति) र त्यसलाई मात्र सफलता मान्न नहुने भन्दै तर्क दिँदा कालाे माेसाे दलिएका प्राेफेसर शंकरकाे पात्रले विश्वविद्यालयकाे अँध्याराे पाटाे देखाउँछ।

बच्चाले परीक्षामा राम्रो अंक ल्याउन नसकेकोमा एक आमाले गरेको चिन्ताबाट सुरु भएको नाटक विश्वविद्यालका उपकुलपति विरुद्ध विद्यार्थीले गरेको आन्दोलनमा आएर सकिन्छ। यस बीचमा पात्रकाे संवाद र दृष्यमार्फत् शिक्षामा भइरहेकाे अराजकता देख्न सकिन्छ।

‘सास फेर्न गाह्रो भयो आज यहाँ केही छैन
निभिसक्यो बत्ती यहाँ बालिदिने कोही छैन’

ज्ञानकाे चिहान एउटा शिक्षाका नाममा हुने अराजकतामाथिको नाटक हो, व्यापारको नाटक हो। शिक्षामा हुनुपर्ने परिवर्तनको आवश्यकताको नाटक हो।

सोझी आमा ‘ए प्लस’ ग्रेड आउने छोराको ‘ए’ आउँदा पढाइ राम्राे हुने आसमा विद्यालयको ललाइफकाइमा पर्छिन् र महंगो तिरेर होस्टलमा राख्न राजी हुन्छिन्। युवा शिक्षक जो विद्यालयमा हुने पढाइमा परिवर्त हुनपर्ने विचार राख्छन् र निकालिन बाध्य हुन्छन्। एक प्रोफेसर जो विश्वविद्यालयमा उपकुलपतिसँग वादविवाद गर्दा अपमानित हुनुपर्छ।

विद्यार्थी राजनीतिको नाममा हुने गुण्डागर्दी र त्यसप्रति विद्यार्थीहरूको वितृष्णा नाटकले दरिलो रूपमा उठाएको छ। संयोग मान्नुपर्छ नाटक मञ्चन सुरु भएको दिन नै बुधबार राजधानीको एक क्याम्पसमा विद्यार्थी समूहबीच खुकुरी हानाहान भएको थियो।

नाटकको परिकल्पनाकार पञ्चा सिंह हुन् जो अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष हुन्। नाटक निर्माणमा कलासी प्रोडक्सनसँग सहकार्य पनि यही विद्यार्थी संगठनले गरेको छ। काठमाडाैँ बत्तिसपुतलीको शिल्पी थिएटरमा बुधबारदेखि नाटक मञ्चन सुरु भएको हाे। लेखकहरू पूर्णबहादुर गन्धर्व, नरेश रेग्मी र आशिष घिमिरे विद्यार्थी संगठनमा आवद्द छन्।

‘आफ्नै माटो, आफ्नै बाटो, आफ्नै मर्म बोक
आफ्नै धर्ती, आफनै मुर्ती, आफ्नै कर्म होस्’

नाटक अलि बढी क्रान्तिकारी लाग्छ। गीत होस् वा पात्रले बोल्ने संवाद शब्द भारी मात्रामा छन्। मार्क्सवाद, विश्व अर्थतन्त्रदेखि विश्व आतंकवादसम्मका संवाद पात्रले बोल्छन्। जुन संवादले माथिका कुनै समस्यासँग सम्बन्ध राख्दैन।

निर्देशक संगीत सापकोटा नामको जस्तै नाटकमा संगीत मिसाउन माहिर छन्। उनका नाटकमा गीत र संगीतको सही सदुपयोग भएको पाइन्छ। यसअघिका नाटक ‘अंधेरी नगरी चौपट राजा’ होस वा ‘म्यारिज प्रपोजल’ जसमा उनले आफूलाई अब्बल प्रमाणित गरिसकेका छन्।

यो नाटकमा उनी कही कतै चुकेको अनुभूति हुन्छ। यो एक प्रायोजित नाटक भएकाले होला संगीत निर्देशक नखुलेकाे भान हुन्छ।  यसअघिका उनका नाटक हेरेकालाई संगीत कम प्रयोग भएको अनुभुति हुन्छ। एकपछि अर्को विषयवस्तुमा प्रवेश अस्वाभाविक लाग्छ। यस्ताे बेलामा निर्देशक सापकोटाले गीत-संगीतको मजासँग प्रयोग गर्ने गरेका थिए योभन्दा अघिका नाटकमा। तर गीत गाउँदा, पात्रले बुट बजार्दा हाेस् वा ताली पिट्दा शान्त हल गुञ्जायमान हुन्छ। गीतका शब्दले आङमा काँडा उम्रिन्छन्।

स्कुलमा राम्रो अंक नल्याएपछि आमाले शिक्षकसँग गरेको सुरुको संवादको दृष्यले समावेशीता र स्कुलमा पढाइका नाममा हुने व्यापार मात्र प्रतिबिम्वित गर्छ। ज्वाला र युगबीचको प्रेम सम्बन्ध स्पष्ट छैन।

भिसी, युगले आ-आफ्नाे पात्रबाट विषयकाे उठान गरेका छन्। आयाम बनेका सुन्दर धिताल, ज्वाला बनेकी प्रितिशा अधिकारी, शंकर बनेका माैसम खड्का, भिसी बनेका श्रवणसिंह राना मगरले पात्रलाई न्याय गरेका छन्।

नेपालमा विद्यार्थी राजनीतिको इतिहास ५० वर्षभन्दा केही लामो छ। तर खुलेर राजनीति गर्न सुरु गरेको २०४७ पछि अझ भनौँ ६३ पछि हो। विश्वविद्यालयमा राजनीति गर्ने नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ आफूलाई सबैभन्दा पूरानो भएको दावी गर्दै आइरहेकाे छ। अहिले राजनीतिमा केन्द्रमा आएका थुप्रै नेता विद्यार्थी राजनीतिका उत्पादन हुन्। विद्यार्थी हक हितका लागि भनेर खुलेका यस्ता संगठनले गरेका काम हेर्ने हो भने राम्रा काम औँलामा गन्न सकिन्छ।

अन्यथा ‘क्रान्तिको विकल्प क्रान्ति नै हो’ भन्ने ज्वाला जस्ता पात्रले यसको सही अर्थ बुझाउनु सक्नुपर्छ र यसको नतिजा पनि राम्रो देखाउन सक्नुपर्छ।

पुस १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्